आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

उपभोक्ताको रोजाइमा अर्गानिक स्याउ पर्दा खुसी छन् किसान, बजारीकरणमा भने समस्या भइरहेको गुनासो

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, असोज ११ २०८१
उपभोक्ताको रोजाइमा अर्गानिक स्याउ पर्दा खुसी छन् किसान, बजारीकरणमा भने समस्या भइरहेको गुनासो

बाजुराको हिमाली भेग पाण्डुसैन, बुढीनन्दा, स्वामीकात्तिक र जगन्नाथ गाउँपालिका अर्गानिक स्याउ उत्पादनका लागि प्रख्यात छन्।

सुदूरपश्चिम- आफ्नै जिल्लामा फलेको ‘अर्गानिक’ स्याउ उपभोक्ताको रोजाइमा पर्दा बाजुराका किसान धनबहादुर रावल दङ्ग छन्। नजिकिएको चाडपर्वका समयमा स्याउको माग बढेपछि उनी यतिबेला बिक्रीका लागि धनगढी पुगेका छन् । 

'बिक्रीका लागि बुधबार धनगढी ल्याइपुर्‍याएको चार सय १७ पेटी (छ हजार दुई सय ५५ किलो) स्याउ दुई दिनमै बिक्री भइसक्यो', उनले भने, 'स्याउखेतीमा लागेका किसानले उत्पादन क्षेत्रमा उचित मूल्य नपाउँदा भने केही खल्लो महसुस भएको छ।'

वर्षासँगै गएको पहिरोले बाजुरा-अछाम सडकखण्ड अवरुद्ध हुँदा उनले कालिकोट, दैलेख, सुर्खेत, बाँके, बर्दिया हुँदै कैलालीको धनगढीमा अर्गानिक स्याउ बिक्रीका लागि ल्याएका हुन्।

आफ्नै प्रदेशको बाटो अवरुद्ध हुँदा स्याउको बजार खोज्न कर्णाली र लुम्बिनी प्रदेशका जिल्ला हुँदै ट्रकमार्फत ढुवानी गरेर धनगढी पुर्‍याउनुपरेको किसानको गुनासो छ।

बाजुरा स्वामीकार्तिक गाउँपालिकाका किसान रावलको बारीमा रोपिएका एक हजार एक सय स्याउका बोटमध्ये यस वर्ष तीन सय बोटमा स्याउ फलेको थियो। फलेको स्याउ धनगढी बजारसम्म पुर्‍याउन एक ट्रकको ढुवानी भाडा ७० हजार रुपैयाँ परेको थियो। 

उत्पादन क्षेत्रमा सम्बन्धित किसानले भने प्रतिकिलो ४० रुपैयाँमात्रै पाउने गरेका छन्। यो स्याउ धनगढी बजारमा भने एक सय २० रुपैयाँमा बिक्री भएको छ।

बाजुराबाट यसपालि सुर्खेतमा तीन ट्रक, छिन्चुमा दुई र कैलालीको बौनिया र धनगढीका लागि एक-एक ट्रक स्याउ बजारीकरणका लागि ल्याइएको बिक्रेताको भनाइ छ।

किसान दानबहादुरले सडकको भरपर्दो सुविधा नहुँदा उत्पादित स्याउ बजारसम्म पुर्‍याउन मुस्किल भएको बताए। त्यहाँ उत्पादित स्याउ कतिपय समयमा बिक्री नहुँदा त्यसै सडेर खेर जाने र पशुचौपायालाई खुवाउनुपर्ने अवस्था रहेको उनको भनाइ छ। 

बाजुराको हिमाली भेग पाण्डुसैन, बुढीनन्दा, स्वामीकात्तिक र जगन्नाथ गाउँपालिका अर्गानिक स्याउ उत्पादनका लागि प्रख्यात छन्।

स्याउको बजारीकरणमा भइरहेको समस्यासँगै व्यापारीले यो स्याउ बजारसम्म पुर्‍याउन चर्को ढुवानी भाडा तिर्नुपरेको छ भने किसानले उचित मूल्य पाउन सकिरहेका छैनन्।

उत्पादनस्थलसम्म सडकको पहुँच नहुनु, भएका सडक पनि बर्खायाममा भत्किएर बन्द हुनु, भाण्डारणका लागि उचित व्यवस्था नहुनुजस्ता समस्याले उत्पादित स्याउ बजारसम्म पुर्‍याउन समस्या हुने गरेको उनीहरूको भनाइ छ। सरकारी निकायबाट किसानको अपेक्षाअनुसार सहयोग नपाउँदा स्याउको बजारीकरणमा समस्या भइरहेको गुनासो पनि किसानको छ।

बाजुराको अर्गानिक स्याउ धनगढी पुगेपछि स्थानीय उपभोक्ताले पनि यसको स्वाद पनि लिन पाएका छन्। धनगढीका फणिन्द्र जोशीले बाजुराको स्याउ रसिलो र स्वादिलो भएको अनुभव सुनाए। सुदूरपश्चिम प्रदेशको धनगढीलगायतका सहरी क्षेत्रका फलफूल बजारमा भारतबाट आयातित स्याउको कारोबार हुने गरेको छ। रासस


प्रकाशित : शुक्रबार, असोज ११ २०८१११:१९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend