आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

खसीबोका बिक्री गरी योवर्षको दसैँतिहार मनाउने योजनामा छन् फत्तेपुरका किसान महिला

बुधबार, असोज ९ २०८१
खसीबोका बिक्री गरी योवर्षको दसैँतिहार मनाउने योजनामा छन् फत्तेपुरका किसान महिला

सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार किसान महिला सदस्य रहेका छन्। तीमध्ये हाल करिब ६ सय किसान महिलाले व्यावसायिक बाख्रापालन गर्दै आएका छन्।

राँझा- बाँकेको राप्ती सोनारी गाउँपालिका-६ फत्तेपुरका किसान महिलाले यस वर्षको दसैँलाई लक्षित गरेर २ सय ५० खसीबोका बिक्रीका लागि तयार गरेका छन्। 

गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत महिला खसीबोका बिक्री गरेर यो वर्षको दसैँ तिहार मनाउने योजनामा रहेका छन्। यहाँका किसान महिलाले प्रत्येक वर्ष दसैँ तिहारमा ठूलो मात्रामा खसी बोका बिक्री गर्ने गरेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङले बताइन्।

'महिला दिदीबहिनीले हुर्काएका खसी बोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका छौँ', व्यवस्थापक गुरुङले भने, 'यो वर्षको दसैँ तिहारमा २ सय ५० खसीबोका बिक्री गर्ने लक्ष्य रहेको छ।'

विगतमा बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायतका गाउँमा महिलाले उत्पादन गरेका खसी बोका सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेमार्फत काठमाडौं लगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आए पनि अहिले फत्तेपुरस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाका खसीबोका बिक्री हुँदै आएका छन्।

व्यावसायिकरुपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन्। महिलाले व्यावसायिकरुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसी, बोका उत्पादनमा वृद्धि भएको व्यवस्थापक गुरुङको भनाइ छ। महिलाले वर्षमा अहिले १० देखि १२ सम्म खसी बिक्री गर्न थालेको उनले जानकारी दिइन्।

पहिले फाट्टफुट्ट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन्। गाउँमा महिला समूहमा आबद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी सहकारीले गर्न थालेपछि बजार र ठगिने झन्झटबाट दिदीबहिनी मुक्त भएको गुरुङले बताइन्।  

प्रबन्धक गुरुङका अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा उक्त सहकारीमार्फत किसान महिलाका ३१ हजार ७ सय १० किलोग्राम तौल बराबरका एक हजार १७ खसीबोका बिक्री भएका थिए। अन्य समयमा भन्दा दसैँ तिहारको समयमा खसीबोकाको माग बढी हुने र यही समयमा नै बढी बिक्री हुने गरेको गुरुङले बताइन्।

हाल सहकारी आबद्ध किसानसँग ५ सय २५ रूपैयाँ प्रतिकिलोका दरले खसीबोका खरिद गर्ने र १० देखि १५ प्रतिकिलो बढाएर व्यापारीलाई बिक्री गर्ने गरेको उनको भनाइ छ।

सहकारीमार्फत गठन गरिएका ५९ समूहमा एक हजार किसान महिला सदस्य रहेका छन्। तीमध्ये हाल करिब ६ सय किसान महिलाले व्यावसायिक बाख्रापालन गर्दै आएका छन्।

सहकारीबाट खसीबोका तथा बाख्रापालनका लागि ऋणसमेत उपलब्ध गराउँदै आएको प्रबन्धक गुरुङले बताइन्। रासस


प्रकाशित : बुधबार, असोज ९ २०८११५:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend