आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुनको मूल्यमा लगातार रेकर्ड, तोलाकै एक लाख ६० हजार चारसय पुग्यो

बुधबार, असोज ९ २०८१
सुनको मूल्यमा लगातार रेकर्ड, तोलाकै एक लाख ६० हजार चारसय पुग्यो

सुनको मूल्यले बुधबार पनि रेकर्ड बनाउँदा चाँदी प्रतितोला ४० रूपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ५५ रूपैयाँ पुगेको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलाकै एक लाख ६० हजार चारसय रूपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारसँगै नेपाली बजारमा पनि आकाशिँदै गएको सुनको मूल्य यो साताको चौथो कारोबारमा पनि प्रतितोला सातसय रूपैयाँले वृद्धि हुँदै कीर्तिमानी बिन्दुमा पुगेको हो।

यो साता आइतबार, सोमबार र मंगलबार तीनैदिन सुनको मूल्य उच्च बिन्दुमा पुगेको थियो। मंगलबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ५९ हजार सातसय रूपैयाँमा कारोबार भएको थियो। बुधबार पुन: वृद्धि हुँदै नयाँ रेकर्ड कायम गरेको हो।

सुनको मूल्यले बुधबार पनि रेकर्ड बनाउँदा चाँदी प्रतितोला ४० रूपैयाँले बढेर प्रतितोला एक हजार ९ सय ५५ रूपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो।

अहिले सुनको मूल्यमा उछाल आइरहनुको मुख्य कारण डलर इन्डेक्समा भइरहेको गिरावट नै मानिएको छ।

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

नेपालमा सुनको मूल्य निर्धारणको जिम्मा सुनचाँदी व्यावसायी महासंघलाई दिइएको छ। २०६६ सालअघि नेपालमा खुलारुपमा सुनको आयात गर्न पाइन्थ्यो। २०६६ पछि भने नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलबाट मात्रै सुनको आयात गर्न पाइने नियम बनायो। त्यतिबेला जुनसुकै वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्न सक्थे।

राष्ट्र बैंकले दैनिक सुन आयातको कोटालाई तल-माथि गर्दै आएको छ। आवश्यकताअनुसार राष्ट्र बैंकले सुनको कोटा निर्धारण गर्दै आएको छ। हाल दैनिक २० किलो सुन आयात गर्न पाइन्छ। 


प्रकाशित : बुधबार, असोज ९ २०८१११:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend