आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सागसब्जीबाटै दैनिक १० हजार कमाउँछन् २३ वर्षीय मुकुन्द अवस्थी

मंगलबार, असोज ८ २०८१
सागसब्जीबाटै दैनिक १० हजार कमाउँछन् २३ वर्षीय मुकुन्द अवस्थी

मुकुन्दले थालेको कृषिबाट परिवार मात्रै आत्मनिर्भर भएको छैन। पाँचजनाले रोजगारीसमेत पाएका छन्। यो वर्ष टनेलको सङ्ख्या थप गरेर ५० ओटा पुर्‍याउने योजना उनको छ।

डोटी- रोजगारीको खोजीमा युवा बिदेसिनेक्रम बढ्दो छ। भारतसँगै तेस्रो मुलुकमा रोजगारीको खोजीमा दैनिक हजारौँको सङ्ख्यामा युवा बिदेसिने गरेका छन्।

हजारौँ युवाको भन्दा अलग सपना थिएन यहाँको आदर्श गाउँपालिका-१ का २३ वर्षीय मुकुन्द अवस्थीको पनि। तीन वर्षे कृषि विज्ञान (आईसीएजी) अध्ययन सकेर कृषिमा राम्रो कमाइ हुने देश जाने उनको चाहना थियो। विदेश जाने योजना स्थगित गरेर गाउँमै व्यावसायिक सागसब्जी खेती गरेका मुकुन्दले सन्तोषजनक कमाइ गरिरहेका छन्।

'अहिलेको ‘ट्रेन्ड’ भनौँ वा बाध्यता सबै बिदेसिने लहर छ, बाहिर जानुपर्छ राम्रो कमाउनुपर्छ भन्ने मेरो पनि सोच थियो। कोरिया वा इजरायल जानुपर्छ भन्ने योजना बनाइसकेको थिएँ तर लकडाउन भएपछि घर आएँ र बाँझो जमिनमा खेती गर्न थाले', मुकुन्दले सुरुवाती दिन स्मरण गरे।

हाल मुकुन्दले करिब १२ रोपनी जमिनमा सागसब्जी लगाइरहेका छन्। उनले दाजुभाइ बहुउद्देश्यीय कृषि तथा पशुपक्षी फार्म दर्ता गरेर २५ ‘प्लास्टिक टनेल’ बनाएर सागसब्जी लगाएका छन्। सबै टनेलमा अहिले गोलभेँडा फलिरहेका छन्।

सुरुवातमा गाउँपालिकाबाट प्राप्त एक लाख ५० हजार रूपैयाँ अनुदान र बाँकी आफ्नो लगानीमा दशवटा टनेलबाट सागसब्जी उत्पादन सुरु गरे। गतवर्ष दशवटा टनेलबाट करिब नौ लाख बराबरको सागसब्जी बिक्री गरेको उनले जानकारी दिए।

पहिलो वर्ष लगानी धेरै लागेकोले खर्च कटाएर करिब तीन लाख रूपैयाँजति आम्दानी भएको थियो। यो वर्ष २५ वटा टनेलमा सागसब्जी लगाएकोले कारोबार दोबरले बढ्ने उनको अनुमान छ।

मुकुन्दले हाल दैनिक आठदेखि १० ‘क्रेट’ गोलभेँडा बजार लैजाने गरेका छन्। प्रतिकिलो ५० रूपैयाँका दरले गोलभेँडा बजारमा बिक्री हुँदा उनको दैनिक आठदेखि १० हजार कमाइ हुन्छ।

गोलभेँडाले सजिलै बजार पाएको छ। मुकुन्दले भने, 'डोटी जिल्ला तरकारीमा परनिर्भर थियो सुरुमा उत्पादित सागसब्जी बिक्री गर्न धेरै मेहनत गर्नुपर्‍यो तर अहिले माग धान्न सकिरहेको छैन, दैनिक डेढदेखि दुई क्वीन्टल बजारमा जान्छ। मूल्य पनि राम्रो छ।'

उनले सागसब्जीमा ‘मल्चिङ’ र थोपा सिँचाइ प्रविधिको प्रयोग गरेका छन्। स्वच्छ तरकारी उत्पादन गर्न कम्पोस्ट मलको प्रयोग गरिएको छ। घरमा भएका भैँसी, बाख्रा, गाई, गोरुको मलमूत्रबाट बन्ने मल पर्याप्त छ। थप गँड्यौला मलको उत्पादन सुरु गर्ने तयारी गरिरहेको उनले बताए।

मुकुन्दले थालेको कृषिबाट परिवार मात्रै आत्मनिर्भर भएको छैन। पाँचजनाले रोजगारीसमेत पाएका छन्। यो वर्ष टनेलको सङ्ख्या थप गरेर ५० ओटा पुर्‍याउने योजना उनको छ।

तर उत्पादित सागसब्जी बजार पुर्‍याउन भने समस्या छ। दिपायल बजारसम्म पुग्ने बाटो कच्ची हुँदा बेलाबेला अवरुद्ध हुने गर्छ। त्यसो हुँदा पिठ्यूँमा बोकेर बजार पुर्‍याउनुपर्ने बाध्यता रहेको उनले सुनाए।

बृहत् तरकारी उत्पादन क्षेत्र कार्यक्रम अनुसार थोपा सिँचाइ, पानी ट्यांकी निर्माण, प्लास्टिक घर र गँड्यौला मलको उत्पादन सहयोग गरेको कृषि ज्ञान केन्द्र डोटीका निमित्त प्रमुख गंगा अवस्थीले बताइन्। छोटो समयमै सफल कृषक बनेका मुकुन्द युवाका लागि प्रेरणादायी व्यक्ति रहेको अवस्थीले बताइन्। रासस


प्रकाशित : मंगलबार, असोज ८ २०८११५:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend