आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बागलुङमा प्रभावकारी बन्यो बाख्रा र आलु जोन कार्यक्रम

सोमबार, असोज ७ २०८१
बागलुङमा प्रभावकारी बन्यो बाख्रा र आलु जोन कार्यक्रम

प्रधानमन्त्री कृषि परियोजनामार्फत आलु जोन कार्यक्रमले बागलुङका पाँच पालिकाका केही वडालाई समेटिएको छ भने बाख्रा जोन कार्यक्रमले तीन पालिकाका केही वडालाई समेटिएको छ।

गलकोट- बागलुङमा प्रधानमन्त्री कृषि परियोजनामार्फत सञ्चालन भएको आलु र बाख्रा जोन कार्यक्रमले उत्पादनमा वृद्धि गराएको छ। बागलुङमा आर्थिक वर्ष २०७५/७६ देखि आलु र आर्थिक वर्ष २०७८/७९ देखि बाख्रा जोन सञ्चालन हुँदै आएको छ।

बागलुङको उच्च पहाडी क्षेत्रमा आलु र बाख्राको सम्भावना र प्रशस्त चरन क्षेत्र भएको ठाउँमा बाख्रा जोन क्षेत्र बनाएर उत्पादनमा वृद्धि भइरहेको छ। प्रधानमन्त्री कृषि परियोजनामार्फत आलु जोन कार्यक्रमले बागलुङका पाँच पालिकाका केही वडालाई समेटिएको छ भने बाख्रा जोन कार्यक्रमले तीन पालिकाका केही वडालाई समेटिएको छ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण प्ररियोजनाका निमित्त वरिष्ठ कृषि अधिकृत नारायण पौडेलले आलु जोन कार्यक्रमले १२ प्रतिशत उत्पादनमा वृद्धि गराएको र बाख्रा जोन कार्यक्रमले ५५ प्रतिशत उत्पादनमा वृद्धि भएको बताए।

आलु र बाख्रा जोन कार्यक्रमले आलु तथा मासुको उत्पादनमा समेत वृद्धि गराउन सफल गराएको छ। बागलुङको उच्च पहाडी क्षेत्रमा पाइने आलु निकै स्वादिष्ट भएकाले यहाँको आलुको उत्पादन बढाउन आलु जोन सञ्चालन गरिएको हो।

बागलुङको ढोरपाटन नगरपालिका, बडिगाड गाउँपालिका, ताराखोला गाउँपालिका, गलकोट नगरपालिका, निसीखोला गाउँपालिकाका केही वडा समेटेर सञ्चालन गरिएको आलु जोनले आलुको उत्पादनमा १२ प्रतिशले उत्पादन बढाएको तथ्यांक रहेको छ। 

'बागलुङमा आलु र बाख्राको निकै सम्भावना छ, चालु आर्थिक वर्षदेखि अलैँचीको जोनसमेत निर्माण गर्न थालिएको छ, आलु र बाख्रा जोन कार्यक्रमबाट किसानले आलु र मासुको उत्पादनमा वृद्धि गरेको पाइएको छ, हामीले परियोजनामार्फत प्राविधिक सहयोग, सिँचाइ, बीउ, खोर सुधारलगायत कार्यक्रममा सहयोग गरेका छौँ', पौडेलले भने, 'बागलुङमा क्रमशः अलैँची जोन, गाई तथा भैँसी जोन र त्यसपछि धान जोनको कार्यक्रम ल्याउने लक्ष्य रहेको छ, चालु आर्थिक वर्षमा अलैँची जोन बनाउन बजेटसमेत विनियोजन गरेका छौँ, बागलुङको जैमिनी नगरपालिका, काठेखोला, ताराखोला र बरेङ गाउँपालिका तथा गलकोटसहित आठ स्थानीय तहलाई समेटेर अलैँची जोन बनाउने तयारी छ।'

यस्तै, बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाका केही वडालाई समेटिएर आर्थिक वर्ष २०७८/७९ देखि सुरु भएको बाख्रा जोन कार्यक्रमले मासुको उत्पादनमा ५५ प्रतिशतले वृद्धि गरेको निमित्त प्रमुख पौडेलले जानकारी दिए। बाख्रा जोन सुरु हुँदा २६ हजार ६७५ बाख्रा रहेकामा हाल बाख्राको सङ्ख्या बढेर ४१ हजार ५१३ पुगेको छ।

आलु जोन बागलुङका पाँच पालिकाको ६१० हेक्टर क्षेत्रफलमा फैलिएको छ। आलु जोन कार्यक्रम बागलुङसँगै छिमेकी जिल्लाको मालिका र मदाने गाउँपालिकाका केही वडासमेत समेटिएको छ।

यस्तै, बाख्रा जोन कार्यक्रमले तीन पालिकाको २९ बाख्रा फर्मलाई समेटिएको छ। जोनअन्तर्गत बीउपुँजी, यान्त्रिकीकरण, खोर सुधार तथा बजारीकरणका लागि परियोजनाले सघाउँदै आएको पौडेलको भनाइ छ।

आलु जोन कार्यक्रम बागलुङमा तीन समूहमार्फत सञ्चालन भइरहेको छ भने बाख्रा जोन कार्यक्रम २६ निजी उद्यमी, दुई सहकारी र एक समूहले सञ्चालन गर्दै आएको छ। आलु र बाख्रा जोन प्रभावकारी बन्दै गएपछि बागलुङ र पर्वतका केही पालिकालाई समेटेर अलैँची जोन बनाउन थालिएको छ।

अलैँची जोन बनाउनका लागि चालु आर्थिक वर्षमा एक करोड दुई लाख रूपैयाँ बजेट विनियोजन भएको छ।

अलैँची जोनका लागि घुम्ती तालिम, अलैँचीको समस्या निदान, क्षेत्रफल विस्तार, यन्त्र उपकरण वितरण, सिँचाइ पूर्वाधार निर्माण तथा सुधारिएको आधुनिक भट्टी निर्माणको काम यस वर्षदेखि थालिनेछ। रासस


प्रकाशित : सोमबार, असोज ७ २०८११३:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend