आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुनको मूल्य लगातार उचाइतर्फ, प्रतितोला ४ सय रुपैयाँले बढेर कीर्तिमानी बिन्दुमा

सोमबार, असोज ७ २०८१
सुनको मूल्य लगातार उचाइतर्फ, प्रतितोला ४ सय रुपैयाँले बढेर कीर्तिमानी बिन्दुमा

प्रतितोला चारसय रूपैयाँले बढ्दै सुनको मूल्यले सोमबार पनि नेपाली बजारमा कीर्तिमान बनाउँदा चाँदीको मूल्य भने स्थिर रहेको छ।

काठमाडौं- आइतबार हालसम्मकै उच्च कायम भएको सुनको मूल्य सोमबार पनि वृद्धि हुँदै कीर्तिमानी बिन्दुमा पुगेको छ।

यो साता आइतबार सुन प्रतितोला एक हजार सातसय रूपैयाँले उकालो लाग्दै प्रतितोला एक लाख ५८ हजार ८ सय रूपैयाँ पुगेको थियो। सोमबार पुन: प्रतितोला चारसय रूपैयाँले वृद्धि हुँदै सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो।

सोमबार सुनको मूल्य नेपाली बजारमा प्रतितोला एक लाख ५९ हजार दुईसय रूपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो।

आइतबार प्रतितोला पाँच रूपैयाँले बढेको चाँदीको मूल्य भने सोमबार स्थिर रहेको छ। आइतबार प्रतितोला एक हजार ९ सय २० रूपैयाँ मूल्य तोकिएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

लगातार बढिरहेको सुनको मूल्य भने विश्व बजारमा पनि ऐतिहासिक बिन्दुमा पुगिरहेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो।

अहिले सुनको मूल्यमा उछाल आइरहनुको मुख्य कारण डलर इन्डेक्समा भइरहेको गिरावट नै मानिएको छ।

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

नेपालमा सुनको मूल्य निर्धारणको जिम्मा सुनचाँदी व्यावसायी महासंघलाई दिइएको छ। २०६६ सालअघि नेपालमा खुलारुपमा सुनको आयात गर्न पाइन्थ्यो। २०६६ पछि भने नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलबाट मात्रै सुनको आयात गर्न पाइने नियम बनायो। त्यतिबेला जुनसुकै वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्न सक्थे।

राष्ट्र बैंकले दैनिक सुन आयातको कोटालाई तल-माथि गर्दै आएको छ। आवश्यकताअनुसार राष्ट्र बैंकले सुनको कोटा निर्धारण गर्दै आएको छ। हाल दैनिक २० किलो सुन आयात गर्न पाइन्छ। 


प्रकाशित : सोमबार, असोज ७ २०८११०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend