आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

स्याङ्जाको गोक्रुङमा आत्मनिर्भर बन्न सामूहिक बंगुरपालनमा स्थानीय

आइतबार, असोज ६ २०८१
स्याङ्जाको गोक्रुङमा आत्मनिर्भर बन्न सामूहिक बंगुरपालनमा स्थानीय

४० जना सेयर सदस्य रहेको फार्ममा हाल बीउ उत्पादन गर्न ४० वटा धराने बंगुरका पाठापाठी र माउ बंगुर रहेका छन्।

गल्याङ- स्याङ्जाको कालीगण्डकी गाउँपालिका-४ गोक्रुङका स्थानीयले सामूहिक बंगुरपालन गर्दै आएका छन्। विसं २०७७ मा २५ लाख रूपैयाँ लगानीमा गोक्रुङ सामूहिक कृषि फार्म खोलेर बंगुरपालन सुरु गरिएको थियो।

स्थानीय रुकमाया रानाले विगतमा अज्ञात रोगले फार्मका करिब ५० वटा बंगुर मरेपछि लगानी डुब्ने डरले बंगुर पाल्न डराए पनि हाल कालीगण्डकी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको सहयोगमा फेरि सामूहिक बंगुरपालन सुरु भएको बताइन्।

४० जना सेयर सदस्य रहेको फार्ममा हाल बीउ उत्पादन गर्न ४० वटा धराने बंगुरका पाठापाठी र माउ बंगुर रहेका छन्। 

स्थानीय युवालाई विदेश पलायन रोक्ने उद्देश्यसहित सामूहिक रूपमा बंगुरपालन गरिएको रानाले जानकारी दिइन्।

'विदेश जान लाग्नुभएका श्रीमानलाई गाउँमै रोकेकी छु। फार्मका बंगुर राम्रै भएका छन्', उनले भनिन्, 'बंगुर फार्म सामूहिक भए पनि फार्म प्रयोग गरेबापत हामीले वार्षिक चार हजार ५०० भाडा तिर्नुपर्छ। एक परिवारले पाँचवटासम्म माउ बंगुर राखेका छन्। पालिका र हेफरले उपचार, औषधि, तालिममा सहयोग गरेको छ।'

रानाले बंगुर पाल्न सके बजारको समस्या नहुने बताइन्। 'यहाँ धार्नीलाई नौ सय रूपैयाँ छ। गाउँमा बंगुर काट्दा मासु खोसाखोस हुन्छ। पाल्न सके बंगुरले नै आत्मनिर्भर बनाउने प्रशस्त आधार छन्', उनले भनिन्।

कृषि र पशुपालनमा साढे तीन करोड बजेट

कालीगण्डकी गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको कृषि तथा पशुपालनको माध्यमबाट गरिबी निवारण गर्ने र समृद्धि हासिल गर्ने लक्ष्य छ संस्थाका कालीगण्डकी प्रमुख दीपक विश्वकर्माले गाउँपालिकाको दुई करोड ४५ लाख र हेफरको एक करोड पाँच लाख रूपैयाँमा कृषि तथा पशुपालनका क्षेत्रमा काम भइरहेको बताए।

गाउँपालिका र हेफरको संयुक्त साझेदारीमा विसं २०७९ चैत १७ गते आयोजना सुरु भएको थियो। 'हालसम्म एकसय २४ वटा साना खोर तथा बंगुर र बाख्राका तीन-तीनवटा नमूना खोर निर्माण गरेका छौँ। दुईसय ३० वटा बीउ बाख्रा र बीउका लागि एक सय ७० वटा बंगुरका पाठापाठी वितरण गरेका छौँ', विश्वकर्माले भने।

यसैगरी १२ वटा भैँसी र तीनवटा गाई खरिदमा ४० हजार अनुदान, नश्ल सुधारका लागि २९ वटा समूहमा बोका वितरण, २७ वटा भकारो निर्माण, साझेदार फार्म तथा व्यक्तिका लागि १५ वटा चापकटर र १० किलो काँटा वितरण, मिर्मीमा डेरी स्थापनाका लागि रु सात लाख अनुदान, बेल्टारीमा घाँस स्रोत केन्द्र स्थापना गरिएको उनले जानकारी दिए। रासस


प्रकाशित : आइतबार, असोज ६ २०८१११:१०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend