आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

प्रशोधन हुन नसक्दा ६० रोपनी क्षेत्रफलको व्यावसायिक चियाखेती अलपत्र

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज २ २०८१
प्रशोधन हुन नसक्दा ६० रोपनी क्षेत्रफलको व्यावसायिक चियाखेती अलपत्र

स्थानीय समुदायसमेत चिया खेतीतर्फ आकर्षित हुन थालेको भए पनि पर्याप्त बजेट र दक्षजनशक्ति नहुँदा समस्या भएको स्थानीय लक्ष्मण सुनारले बताए।

पर्वत- सरोकारवाला निकायको बेवास्ताका कारण जिल्लामा गरिएको ६० रोपनी क्षेत्रफलको व्यावसायिक चियाखेती अलपत्र बनेको छ।

पर्याप्त बजेट, दक्षजनशक्ति लगायतको व्यवस्थापन हुन नसक्दा महाशिला गाउँपालिका-६ फलामखानीमा लगाइएको चियाखेती उपभोगविहीन बनेको हो। डेढदशक अघि लगाइएको चियाखेती मौलाउँदै गएको भए पनि संरक्षण गर्ने, उत्पादन गर्ने र बिक्रीवितरण गरेर आम्दानी लिन स्थानीय गाउँपालिकाले चासो नदेखाउँदा अलपत्र बनेको हो। 

महाशिला गाउँपालिकाले हरेक वर्ष रु एक लाखका दरले विनियोजन गरी चियाखेती गरिएको ठाउँमा तारबार लगाउने र पशुपक्षी जानबाट रोकेपनि उत्पादित चिया टिप्ने, प्रशोधन गर्ने लगायतका काम गर्न नसकिएको गाउँपालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले बताए। उनले स्थानीयको सहभागितामा चिया विकास समिति गठन गरेर अघि बढ्ने योजना बनाएको दाबी गरे। 

बर्सेनि चिया टिप्ने र प्रशोधन गरेर बिक्री गर्न सकेमा गाउँपालिकालाई ठूलो रकम आम्दानी हुने भए पनि यसतर्फ जनप्रतिनिधिको प्राथमिकता नपरेको स्थानीय बलबहादुर क्षेत्रीले बताए। साविक धौलागिरि अञ्चलमा नै पहिलो पटक सुरु गरिएको व्यावसायिक चिया खेतीबाट वार्षिक रुपमा लाखौँको आम्दानी गर्न सकिने उनको भनाइ छ। 

झण्डै डेढदशक अघि लगाइएको चियाखेतीबाट पहिलो पटक दुई वर्षअघि १० किलो अर्गानिक हरियो चिया उत्पादन गरिएको भए पनि चियाको मुना टिप्ने र प्रशोधन गर्ने जनशक्ति नभएपछि पुनः अलपत्रजस्तै बनेको महाशिला गाउँपालिका-६ फलामखानीका वडाध्यक्ष गोविन्दबहादुर विकले जानकारी दिए। 

यहाँ ४० हजार भन्दाबढी चियाका बोट रहेका छन्। अधिकांश बोटबाट उत्पादन लिन सकिन्छ भने केही नयाँ बिरुवा रहेको विकले बताए।

विसं २०६७ मा तत्कालीन जिल्ला विकास समिति पर्वतको सहयोगमा सुरु गरिएको चियाखेती लामो समय संरक्षणको अभावमा गौचरणमा परिणत भएको थियो। उतिबेला बीस हजार बिरुवा लगाइएकोमा पछि गाउँपालिकाले केही बिरुवा थप गरेर ४० हजार पुर्‍याएको थियो। पाँच वर्षअघिदेखि गाउँपालिकाको पहलमा गोडमेल तथा संरक्षण गर्न थाले पनि उत्पादन गरेर आम्दानी गर्न भने नसकिएको विकले बताए।

साविक फलामखानी गाविस- ४, ५, ७, ८ र ९ का दलित समुदायको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले चियाखेती सुरु गरिएको थियो। इलामको जस्तै हावापानी भएकोले यहाँ चिया खेतीको सम्भावना उच्च रहेको छ। इलाम जिल्लाको जस्तै व्यावसायिक चियाखेती विस्तार गर्ने उद्देश्यले योजना सुरु गरे पनि स्थानीयले भने कुनै चासो नदेखाएपछि समस्या भएको थियो।

एक हजार आठ सय मिटरको उचाइमा रहेको साविक फलामखानी गाविसलाई चिया खेतीको पकेट क्षेत्र बनाउने गरी तत्कालीन समयमा २० हजार चियाका बिरुवा रोपिएको थियो। नगदेबालीको रुपमा चिया खेतीलाई प्रवर्द्धन गर्नकै लागि पहिलो चरणमा तत्कालीन जिविस पर्वतले झण्डै ६० रोपनी क्षेत्रफलमा चियाखेतीको सुरुवात गरेको थियो। साविकको गाविसको ४ र ५ वडामा लगाएका बिरुवा स्थानीयले संरक्षण नगर्दा नष्ट भए पनि वडा नं ७, ८ र ९ मा भने बिरुवा जिवित्तै रहेका थिए। 

अहिले स्थानीय समुदायसमेत चिया खेतीतर्फ आकर्षित हुन थालेको भए पनि पर्याप्त बजेट र दक्षजनशक्ति नहुँदा समस्या भएको स्थानीय लक्ष्मण सुनारले बताए। उनका अनुसार कुनै संस्था वा पालिकाले नै लगानी गरेर यसको उत्पादन र प्रशोधन गर्न सकेमा वार्षिक लाखौँ आम्दानी गर्न सकिने बताए। 

यहाँबाट टिपेर चिया विकास बोर्ड वा इलाम, झापासम्म पुर्‍याउन सक्ने हो भने आम्दानी र रोजगारी दुवै सिर्जना हुने उनको भनाइ छ।

दुई वर्षअघि गण्डकी प्रदेशवाट लक्षित कार्यक्रम अन्तर्गत विनियोजन भएको २० लाख रुपैयाँबाट चियाबगानको संरक्षणका लागि तारजाली लगाउने, गोडमेल गर्ने र नर्सरी स्थापना गर्ने काम भएको भए पनि स्थानीयलाई चिया टिप्ने, प्रशोधन गर्ने तालिम वा कतैबाट तालिम प्राप्त जनशक्ति नियुक्त गर्न नसक्दा लाखौँ मूल्य खेर फाल्नुपरेको स्थानीयको भनाइ छ। रासस


प्रकाशित : बुधबार, असोज २ २०८११४:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend