आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

चितवनमा वार्षिक आठ सय मेट्रिक टन मह उत्पादन, तीन सय मेट्रिक टनमात्र बिक्री

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, भदौ ३१ २०८१
चितवनमा वार्षिक आठ सय मेट्रिक टन मह उत्पादन, तीन सय मेट्रिक टनमात्र बिक्री

'नेपालमा उत्पादित महले बजार धान्न नसके आयात गर्न सकिन्छ। बाहिरबाट आयातित महलाई ६० प्रतिशत भन्सार लगाउन जरुरी छ।'

चितवन- यहाँ उत्पादन गरिएको महलाई ‘ब्राण्डिङ’ गरेर बजारमा ल्याइएको छ। कालिका नगरपालिकाका मौरीपालक किसान शिवप्रसाद शर्मा पौडेलले उत्पादन गरेको महलाई ब्राण्डिङ गरेर बजारमा ल्याइएको हो।

पूर्वी चितवनको कालिका-६ खोलेसिमल बजारमा पौडेलले आफूले उत्पादन गरेको महलाई ब्रण्डिङ गरी महघरमार्फत बिक्री सुरु गरेका जानकारी दिए। उनले भने, 'महले बजार नपाएर घर थन्किने अवस्था भयो। यसलाई व्यावसायिक बनाएर अघि बढ्न लागेको हुँ।' 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइको सहयोगमा ब्राण्डिङको काम सुरु गरिएको उनले बताए। नेपाल मौरीपालक महासंघका निवर्तमान अध्यक्षसमेत रहेका पौडेलले जिल्लामा हाल ३० हजार बढी मौरीका घार रहेको जानकारी दिए। यसबाट वार्षिक आठ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ। उत्पादित महमध्ये अहिले पाँच सय मेट्रिक टन मह बिक्री हुन नसकेर किसानको घरमा थन्किएको उनले बताए।

उनले भने, 'फेरि मह निकाल्ने समय भयो। पुरानो मह बिक्री नहुँदा किसान चिन्तित छन्।' गत बैशाखदेखि राज्यले मह आयात रोक्दा केही सहज भएको भए पनि पुनः आयात खुलाउन व्यवसायी लाग्दा किसान समस्यामा पर्ने उनको भनाइ छ। उनले भने, 'नेपालमा उत्पादित महले बजार धान्न नसके आयात गर्न सकिन्छ। बाहिरबाट आयातित महलाई ६० प्रतिशत भन्सार लगाउन जरुरी छ।'

यहाँ हाल सेरेना र मेरिफेरा नामक मौरी पालिँदै आएको छ। यसबाट वार्षिक चार हजार नौ सय मेट्रिक टन मह उत्पादन हुँदै आएको निवर्तमान अध्यक्ष पौडेलले जानकारी दिए। उनका अनुसार सेरेनाबाट एक हजार दुई सय मेट्रिक टन र मेरिफेराबाट तीन हजार सात सय मेट्रिक टन मह उत्पादन हुँदै आएको छ।

उत्पादित महमध्ये तीन हजार एक सय ४५ मेट्रिक टन मह बिक्री नहुँदा किसानको घरमा राख्नुपर्ने बाध्यता रहेको उनले बताए। अहिले सरकारले आयात रोक्दा केही राहत महसुस भएको उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, भदौ ३१ २०८१०९:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend