आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

बाँकेमा धानजोनद्वारा दुई हजार तीनसय हेक्टरमा खेती

शनिबार, भदौ २९ २०८१
बाँकेमा धानजोनद्वारा दुई हजार तीनसय हेक्टरमा खेती

चालु आवमा एक करोड २९ लाख धानखेती र ५० लाख तरकारीखेती प्रवर्द्धनका लागि बजेट रहेको परियोजनाले जनाएको छ।

जानकी- बाँकेमा विगत तीन वर्षदेखि ‘धानजोन परियोजना’लागु भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाइ बर्दियाले ‘धानजोन परियोजना’बाँकेका तीन गाउँपालिकामा लागु गरेको हो।

बाँकेको जानकी, खजुरा र बैजानाथ गाउँपालिकाको ११ वटा वडाका दुई हजार तीनसय हेक्टर जमिनमा धानखेती गरिएको परियोजनाका कृषि अधिकृत गणेश यादवले बताए।

'हामीले धानको मूल बीउ उत्पादनका लागि बाँकेका तीनवटा गाउँपालिकामा यो परियोजना लागु गरेका हौँ,' उनले भने, 'यो परियोजनाले धानखेतीका लागि सिँचाइ, कृषियान्त्रिकीकरण, बीउबिजन र प्राविधिक सहयोग गर्दै आएको छ।'

यादवका अुनसार जानकी गाउँपालिका-२ वनकटवाको ग्रिन नेपाल कृषि फर्म र सोही पालिकाकै वडा नं ३ रामवापुरको बैष्णो कृषि फर्ममार्फत १० हेक्टर क्षेत्रफलमा धानको मूल बीउ उत्पादनका लागि खेती गरिएको छ। धानको अवस्था बुझ्न कृषि प्राविधिकहरूले १० हेक्टर क्षेत्रफलमा लगाइएको धानको अनुगमन गरेका छन्।

यस क्षेत्रका किसानलाई सहज रुपमा बीउ उपलब्ध गराउन राधाचार र रामधानको मूल बीउ उत्पादन गरिँदैछ। जसअन्तर्गत चार सय क्विन्टल मूल बीउ उत्पादन हुने परियोजनाका कृषि अधिकृत गणेश यादवले बताए।

उनले परियोजनाले बिज वृद्धि कार्यक्रमका लागि एक लाख ५० हजार बजेट विनियोजन गरेको जानकारी दिए। उक्त रकम बीउ बिषादी, जिङ्क र साइन बोर्डमा अनुदान दिइएको परियोजनाले जनाएको छ।

परियोजनाले आधुनिक तरिकाले खेती गर्न तीन ठाउँमा ‘कष्टमहायरिङ्ग सेन्टर’ स्थापना गरेको यादवले बताए। 'धानखेतीका लागि आवश्यक सबै यन्त्र अनुदानमा उपलब्ध गराइएको छ,' उनले भने, 'जहाँबाट सहज रुपमा किसानहरु धानखेतीका लागि ती यन्त्रहरु प्रयोग गरिरहेका छन्।'

जनहित कृषक समूह बैजानाथ-८ झिगौराका अध्यक्ष जगनरायाण थारुले कष्ट महायरिङ्ग सेन्टर स्थापनापछि किसानलाई फाइदा भएको बताए। 'यो परियोजनाले हामी किसानलाई काम गर्न सजिलो बनाएको छ। सबै कृषियन्त्र एकै ठाउँमा उपलब्ध हुँदा खेती गर्न सहजभएको छ,' उनले भने।

परियोजनाले सहकारी र समूहका किसानहरुलाई ‘कष्टमहायरिङ्ग सेन्टर’मार्फत ट्याक्टर, थ्रेसर, रोटाबेटर, लेबलर, पावर टिलरलगायत कृषि सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरेको परियोजनाका कृषि अधिकृत यादवले बताए। परियोजनाअन्तर्गत पाँच ठाउँमा ५० हेक्टरमा धानको चकलाबन्दी गरिरहेको छ। 

परियोजनाले समेटेको कार्यक्षेत्रअन्तर्गत आठ सय १४ जना कृषक तथा समूह र सहकारी जोडिएका छन्। ती किसानहरुका लागि यो चालु आर्थिक बर्षमा साना सिँचाइ, धानको चकलाबन्दी, कष्टमहायरिङ्ग सेन्टर स्थापना, धानको बिज वृद्धि, कृषि यान्त्रिकीकरणमा सहयोग, पोष्टहार्वेष्ट, सामग्री वितरण, औद्योगिक संरचना निर्माण तथा मेसिनरी सहयोग, व्यावसायिक प्याज प्रवर्द्धन कार्यक्रम, तरकारी क्षेत्र विस्तार कार्यक्रम रहेको परियोजनाका सूचना अधिकारी ध्रुवराज जोशीले जानकारी दिए।

उनका अनुसार यसै परियोजनाअन्तर्गत बाँकेमा चालु आर्थिक वर्ष २०८१/८२ बाट तरकारी जोनको कार्यक्रम सञ्चालन गरिँदै छ। जसअन्तर्गत पाँच सय हेक्टर तरकारी खेतीमा सहयोग गर्ने परियोजनाका सूचना अधिकारी जोशीले बताए।

चालु आवमा एक करोड २९ लाख धानखेती र ५० लाख तरकारीखेती प्रवर्द्धनका लागि बजेट रहेको परियोजनाले जनाएको छ। परियोजनाअन्तर्गत यसै वर्ष बाँकेको जानकी गाउँपालिका-१, २, ३, ४ त्यसैगरी, खजुरा गाउँपालिका-२ र ४ र बैजानाथ गाउँपालिका-२, ३ र ४ गरी ११ वटा वडामा कार्यक्रम लागु गरिएको छ।

जसअन्तर्गत दुई हजार तीन सय ४१ हेक्टर क्षेत्रफलमा धानखेतीमा प्रवर्द्धन  कार्यक्रम लागु गरिएको छ। रासस


प्रकाशित : शनिबार, भदौ २९ २०८१११:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend