आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

जुम्लामा व्यावसायिक रुपमा पालिएका मौरी मर्नुको कारण - परिजीवी, विषादी र कुपोषण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २८ २०८१
जुम्लामा व्यावसायिक रुपमा पालिएका मौरी मर्नुको कारण - परिजीवी, विषादी र कुपोषण

'कतिपय स्थानमा सुलसुले रोगले गर्दा पनि मौरी मरेका देखिएको छ। यसबारे विस्तृत विवरण थप अध्ययन र परीक्षणबाट थाहा हुन्छ'

जुम्ला- व्यावसायिक रुपमा पालिएका मौरी मर्न थालेपछि ललितपुरस्थित मौरी विकास केन्द्रको टोली यहाँ आएर अनुसन्धान गरेको छ। 

किसानका घार, मौरी पालन गरिएको स्थानको वस्तुस्थिति र मर्नुको कारणबारे अनुसन्धान गरी मौरीपालन किसान, केन्द्रका विज्ञको समूह र जिल्लाका सरोकार भएका निकायबीच आज भएको अन्तरक्रिया कार्यक्रममा परिजीवी, विषादी, कुपोषणलगायत समस्या देखिएकाले मौरी मरेका केन्द्रका प्रमुख एवं मौरीविज्ञ तीर्थकुमार श्रेष्ठले बताए।

उनले जुम्लामा पालन गरिएका मौरी पोलाको माथिलो भागमा हुनुपर्ने जति मह नभएकाले मरेका जानकारी दिए।

मौरीपालक किसानका घार हेर्दा पोलाको माथिलो भागमा हुनुपर्ने जति मह नभएपछि मौरी मरेको हो। 'कुटमा पोषण हुन्छ, कुट नै नभएकाले मौरी मरेका हुन्', श्रेष्ठले भने। पोला कमजोर हुने बित्तिकै मौरी नासिने अवस्थामा पुग्ने भएकाले पोला बलियो बनाएर पोषणयुक्त बनाउन किसानले विशेष ध्यान दिनुपर्ने उनले उल्लेख गरे।

मौरी विज्ञ श्रेष्ठले मौरीमा देखिएको सङ्क्रमण, परिजीवी, विषादी र कुपोषणका कारणले यो समस्या देखिएको बताए।

'अध्ययनका क्रममा यहाँका मौरीपालनको व्यवस्थापकीय पक्ष राम्रो देखिएको छ। घार पनि व्यवस्थित रुपमा राखिएका छन्', उनले भने, 'कुपोषण, मौरी चरण क्षेत्रमा विषादीको प्रयोगलगायत करणले पोषणको कमी भई मौरी मरेका हुन्।'

मरेका मौरीको नमूनाको थप अध्ययन गर्न नेपाल कृषि अनुसन्धान केन्द्रको किट तथा नेपाल बाहिर पठाएर रोगको पहिचान गरिने मौरी विज्ञ श्रेष्ठले जानकारी दिए।

'कतिपय स्थानमा सुलसुले रोगले गर्दा पनि मौरी मरेका देखिएको छ। यसबारे विस्तृत विवरण थप अध्ययन र परीक्षणबाट थाहा हुन्छ', उनले भने।

तीन वर्षदेखि मौरीमा देखिएका विभिन्न रोगबारे अध्ययन गर्न मौरी विकास केन्द्रका विज्ञ श्रेष्ठको टोली विभिन्न स्थान पुगेर अनुसन्धान गरिरहेको छ। श्रेष्ठको टोलीसँग किट विकास महाशाखाका सुनिलकुमार जैसवाल र जिल्लास्थित कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले अध्ययनसम्बन्धी जानकारी, समस्या समाधानका उपायलगायत पक्षका बारेमा छलफल गरेका थिए।

जिल्लाका मौरीपालक किसानले सेराना जातको मौरी पाल्दै आएका छन्। पातारासी गाउँपालिका–१ पेरे, गुठिचौर गाउँपालिकाको गुठिगाउँ, तातोपानी र चन्दननाथ नगरपालिकामा रहेका घार, वरपरको वातावरण, रोग÷किरासम्बन्धी टोलीले अध्ययन गरेको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ। रासस


प्रकाशित : शुक्रबार, भदौ २८ २०८११४:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend