आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

कृषिमा लगानी बढाउने उद्देश्यसहित कोशी प्रदेशमा ‘कृषि एक्स्पो’ सुरु

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २७ २०८१
कृषिमा लगानी बढाउने उद्देश्यसहित कोशी प्रदेशमा ‘कृषि एक्स्पो’ सुरु

जुम्लाको मार्सी चामलदेखि विभिन्न प्रकारको दाल र स्याउ, झापाको गाउँले अचार र नमुना अचार, पाँचथरको काँक्रा र किवीको जुस लगायतका कृषि सामग्री बिक्री भइरहेका छन्।

इटहरी- नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको आयोजनामा मोरङको कटहरिमा ‘कृषि एक्स्पो’ सुरु भएको छ। मोरङको कटहरि गाउँपालिकामा कृषि क्षेत्रमा लगानी बढाउने उद्देश्यसहित बिहीबारदेखि चार दिने एक्स्पो सुरु भएको हो। 

नेपाल सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी र कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयुक्त रूपमा उद्घाटन गरेको एक्स्पो आइतबार सम्म चल्ने भएको छ।

एक्स्पो उद्घाटन गर्दै मन्त्री अधिकारीले कृषिको व्यावसायिकीकरण लागि रणनीतिक महत्वका साथ अघि बढ्नु पर्ने बताए। सरकारले लगानी दशक र कृषि दशकलाई एकसाथ अघि बढाएको र निजीक्षेत्रलाई कृषि उद्यममा जोड्न काम गरिरहेको प्रस्ट पारे। कृषिमा निजी क्षेत्रको उचित लगानी हुन नसक्दा आधुनिक ढङ्गको कृषि प्रणालीको विकास हुन नसकेको धारणा राखे। 

मुख्यमन्त्री कार्कीले किसान र निजी क्षेत्रलाई एक ठाउँमा ल्याई कृषि उत्पादन बढाउन कृषिमा प्रविधिमैत्री बनाउनुपर्ने बताए। एक्स्पोले लगानीको सुनिश्चितता र कृषिको आधुनिकीकरणका लागि अवसर प्रदान गर्ने धारणा राखे। प्रदेश सरकारले कोशी प्रदेशलाई कृषि हबको रूपमा विकास गर्न बताउँदै उनले किसानका लागि बैङ्कको ब्याजमा अनुदानको कार्यक्रम ल्याइने योजना सुनाए। 

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले निर्वाहमुखी कृषिलाई आधुनिकीकरण गर्दै उत्पादकत्व बढाउन एक्स्पो आयोजना गरेको जानकारी दिए। किसान र उद्यमीलाई एउटै मञ्चमा ल्याउने उद्देश्यका साथ एक्सपो आयोजना गरिएको उनको भनाइ छ।

किसान, उद्यमी र लगानीकर्ता सहितको उपस्थिति रहेको एक्स्पो देशमै उदाहरणीय भएको उनको दाबी छ।

कार्यक्रममा विशिष्ट अतिथि नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हेमराज ढकालले कृषिमा निजी क्षेत्रको प्रवेश अनिवार्य रहेको उल्लेख गरे। लगानी सुनिश्चितताको काम हुन सके नेपालले चाँडै यस क्षेत्रमा फड्को मार्ने उनको बुझाइ छ।

हरेक वर्ष हुने कृषिजन्य र खाद्यान्न बस्तुको आयात बढिरहेकोमा चिन्ता व्यक्त गर्दै उनले उत्पादनमुखी उद्यमशीलतालाई प्रशय दिनुपर्ने बताए। 

एक्स्पोमा नेपाल र भारतका गरी एक सय ३० वटा स्टल छन्। जुम्लाको मार्सी चामलदेखि विभिन्न प्रकारको दाल र स्याउ, झापाको गाउँले अचार र नमुना अचार, पाँचथरको काँक्रा र किवीको जुस लगायतका कृषि सामग्री बिक्री भइरहेका छन्। नेपाल र भारतका १५ जना कृषि विज्ञहरू कृषि एक्स्पोमा सहभागी रहेको बताइएको छ।


प्रकाशित : बिहीबार , भदौ २७ २०८११८:२८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend