आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

च्याउमा आत्मनिर्भर बनाउन व्यावसायिक उत्पादन सुरु

शनिबार, भदौ २२ २०८१
च्याउमा आत्मनिर्भर बनाउन व्यावसायिक उत्पादन सुरु
फाइल तस्बिर

नगरपालिकाले कृषक र कृषि क्षेत्रको प्रवर्द्धन गर्न विभिन्न अनुदान, प्राविधिक, कृषि उपकरणलगायत सहयोग गरिरहेको उनले जानकारी दिए।

चितवन- जिल्लाको कालिका नगरपालिका-२ पदमपुरमा च्याउ खेतीमा आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक उत्पादन सुरु गरिएको छ। यहाँ १२ वटा वातावरण अनुकूलित टनेलमार्फत डल्ले च्याउको व्यावसायिक उत्पादन सुरु गरिएको हो।

कालिका नगरपालिकाका प्रमुख विनोद रेग्मीले शुक्रबार व्यावसायिक डल्ले च्याउको उत्पादन शुभारम्भ गर्दै पालिकासँगै मुलुकलाई च्याउमा आत्मनिर्भर बनाउने उद्देश्यले वातावरण अनुकूल टनेल निर्माण गरी उत्पादन सुरु गरिएको बताए। नगरपालिकाले कृषक र कृषि क्षेत्रको प्रवर्द्धन गर्न विभिन्न अनुदान, प्राविधिक, कृषि उपकरणलगायत सहयोग गरिरहेको उनले जानकारी दिए।

नगरप्रमुख रेग्मीले यहाँको उत्पादन मुलुकका प्रमुख सहरमा पुग्ने भएकाले यसलाई थप व्यावसायिक हुँदै उत्पादनमा केन्द्रित योजनाअनुरूप वातावरण अनुकूल टनेल निर्माण गरिएको बताए। उनका अनुसार रेन्स्की एग्रो फार्मले डल्ले च्याउ उत्पादन थालेको हो। यसअघि यहाँ पाते च्याउ उत्पादन हुँदै आएको थियो।

फार्मका सञ्चालक कमल शर्मा सुवेदीले एउटा टनेल १० टन कम्पोस्टको क्षमताको भएको बताउँदै यसबाट १८ देखि २० प्रतिशत च्याउ उत्पादन हुने जानकारी दिए। 'निर्मित १२ वटा टनेलमा ६५ दिनमा करिब २४ हजार किलो च्याउ उत्पादन हुने अनुमा गरेका छौँ। एक वर्षमा छ पटकसम्म उत्पादन गर्न सकिने भएकाले गर्मी मौसमका लागि यो प्रभावकारी मानिएको छ', उनले भने।

प्रतिकिलो चारसय रूपैयाँमा डल्ले च्याउ बिक्री हुन्छ। यहाँ उत्पादित ७० प्रतिशत च्याउ चितवनको बजारका साथै काठमाडौं र मकवानपुरमा बिक्री हुने गर्दछ।

गर्मी मौसम भएकाले वातावरण अनुकूलित टनेलमा च्याउ उत्पादन गरिएको हो। सुवेदीको भनाइ अनुसार तापक्रम मिलाउन ‘एयर हेण्डलिङ युनिट’ जडान गरिएको छ। 'एउटा टनेल निर्माण गर्न १९ लाख रूपैयाँको हाराहारी खर्च भएको छ भने प्रतिकिलो ३२ रूपैयाँको कम्पोष्ट मल प्रयोग गरिँदै आइएको छ', उनले भने।

फार्मले विसं २०७९ पुसदेखि च्याउ उत्पादन थालेको हो। सुरुमा पाते च्याउ उत्पादन गरिकामा अहिले डल्ले च्याउको उत्पादन थालिएको सञ्चालक सुवेदीले बताए। यसअघि एकसय पाँच टनेलमार्फत पातेच्याउ उत्पादन हुँदै आएको थियो। यो च्याउ चितवन, काठमाडौं हुँदै मुस्ताङसम्म पुग्दछ।

मुलुकमा पहिले डल्ले च्याउ बाहिरबाट आउने गरेकामा अहिले यहाँको उत्पादनले धानेको सुवेदीले जानकारी दिए। नेपालमा यो बाहेक १० वटा फार्मबाट डल्ले च्याउ उत्पादन हुँदै आएको छ। रासस


प्रकाशित : शनिबार, भदौ २२ २०८११२:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend