आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

सुनको मूल्यमा कीर्तिमान, तोलामा १ हजार ३ सय रुपैयाँले वृद्धि

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ २१ २०८१
सुनको मूल्यमा कीर्तिमान, तोलामा १ हजार ३ सय रुपैयाँले वृद्धि

काठमाडौं- स्थानीय बजारमा आज शुक्रबार सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला १ हजार ३ सय रुपैयाँले वृद्धि भएको छ। बिहीबार प्रतितोला १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज शुक्रबारका लागि १ लाख ५३ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ।

यसअघि गएको १३ गते बिहीबार पनि सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार २ सय रूपैयाँ पुगेको थियो। 

यस्तै चाँदीको मूल्य तोलामा ३० रुपैयाँले वृद्धि भएको छ। बिहीबार तोलामा १ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज शुक्रबारका लागि १ हजार ७ सय ९५ निर्धारण भएको छ। 

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

नेपालमा सुनको मूल्य निर्धारणको जिम्मा सुनचाँदी व्यावसायी महासंघलाई दिइएको छ। २०६६ सालअघि नेपालमा खुलारुपमा सुनको आयात गर्न पाइन्थ्यो। २०६६ पछि भने नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलबाट मात्रै सुनको आयात गर्न पाइने नियम बनायो। त्यतिबेला जुनसुकै वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्न सक्थे।

राष्ट्र बैंकले दैनिक सुन आयातको कोटालाई तलमाथि गर्दै आएको छ। आवश्यकताअनुसार राष्ट्र बैंकले सुनको कोटा निर्धारण गर्दै आएको छ। हाल दैनिक २० किलो सुन आयात गर्न पाइन्छ। 


प्रकाशित : शुक्रबार, भदौ २१ २०८११३:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend