आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

‘खुर्सानीले पेट भरिन्न भन्नेहरू अहिले मेरो नै सिको गर्दैछन्’

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २० २०८१
‘खुर्सानीले पेट भरिन्न भन्नेहरू अहिले मेरो नै सिको गर्दैछन्’

कृषकले उत्पादन गरेको तरकारीको बजारीकरणमा सहयोग गरिदिने प्रतिबद्धतासहित कृषिले खुर्सानीको बीउ बाँडेर फर्किएपछि लालकुमारीको दैनिकी फेरिएको छ।

बागलुङ- बागलुङमा उत्पादित अकबरे खुर्सानी विदेश निर्यात हुन थालेको छ। यहाँस्थित काठेखोला गाउँपालिका-८ लेखानीका लालकुमारी पुनले एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी दुबई निर्यात गरेकी छिन्।

उनले भनिन्, 'गत बैशाखदेखि हालसम्म एक क्विन्टलभन्दा बढी अकबरे खुर्सानी विदेश निर्यात भएको छ। अकबरे खुर्सानीको व्यवसायिक खेती गर्दा  खुर्सानीले पेट भरिन्न भन्नेहरू अहिले मेरो नै सिको गर्दैछन्।' 

विसं २०७० मा तत्कालीन कृषि कार्यालय बागलुङले लालकुमारीको गाउँमै पुगेर कृषि व्यवसाय प्रवर्द्धन तालिमको आयोजना गरेको थियो। त्यही तालिम नै उनको जीवनमा कोसेढुङ्गा सावित भयो। गाउँगाउँमा महिलाले उत्पादन गरेको तरकारीले सहजै बजार नपाएको तालिममा सहभागी भएकाको गुनासो गरेका थिए। तालिममा सहभागी भएका ६९ जनालाई कृषि कार्यालय बागलुङका तत्कालीन प्रमुख विनोद हमालले एक/एक प्याकेट अकबरे खुर्सानीको बीउ दिए। 

कृषकले उत्पादन गरेको तरकारीको बजारीकरणमा सहयोग गरिदिने प्रतिबद्धतासहित कृषिले खुर्सानीको बीउ बाँडेर फर्किएपछि लालकुमारीको दैनिकी फेरिएको छ।

'गाउँकाले खुर्सानीको बिरुवाले पेट भरिँदैन, करेलो र घिरौँलो लगाउँ भने, मैले मानिन्, अकबरे खुर्सानीको भविष्य देखेको थिएँ, पछिल्लो समय अकबरे खुर्सानीको फाइदा देखियो', उनले भनिन्, 'अहिले अकबरे खुर्सानीको माग उच्च देखेर पाँच रोपनी जग्गामा खुर्सानीखेती गरेको छु।'

त्यही एक प्याकेट खुर्सानीको बीउबाट लालकुमारीले यतिबेला फैलाउँदै र बढाउँदै पाँच रोपनी जग्गामा व्यावसायिक खुर्सानीखेती गरेकी छिन्। अन्य पाँच रोपनीमा झिलिङ्गो (सिल्टुङ्ग), सिमी, काँक्रो, करेला, भेन्टा र सागसँगै तरकारीखेती पनि गरेकी छिन्। विसं २०७२ बाट व्यावसायिक खेती सुरु गरेकी लालकुमारी अहिले बर्सेनी २० क्विन्टलभन्दा बढी खुर्सानी उत्पादन हुन थालेको बताइन्। 

विसं २०७५ मा रोपेका खुर्सानीका बोटले अहिले पनि उत्पादन दिने गरेको उनले बताइन्। पहिले पहिले लालकुमारीको खुर्सानी बागलुङ बजारमा बिक्री हुन्थ्यो, विस्तारै जिल्ला बाहिर पनि जान थाल्यो। केही वर्षयता कोसेलीका रुपमा आफन्त, इष्टमित्रलाई जापान, कोरिया, पोर्चुगल र अमेरिका पठाउने बढ्न थाले। विसं २०७९ देखि भने लालकुमारीले व्यावसायिक रुपमै आफूले उत्पादन गरेको खुर्सानी दुबई पठाउन थालेकी छिन्। 

पहिले पहिले खुर्सानी फलाएर पाकेर रातो भएपछि बिक्री गर्ने गरेको भए पनि आजभोलि हरियो हुँदै बिक्री हुने गरेको उनको भनाइ छ। प्रतिकेजी तीन सय रुपैयाँ र प्रतिमाना एक सय रुपैयाँका दरले गाउँबाटै बिक्री हुने गरेको उनको भनाइ छ। खुर्सानीमात्र बेचेर वार्षिक तीन लाखभन्दा बढी आम्दानी गर्ने गरेको लालकुमारीले बताइन्। 

खुर्सानीबाहेक अन्य तरकारी बिक्री गरेको आम्दानी छुट्टै छ। कादेश कृषि तथा पशुपालन सहकारी संस्थाको अध्यक्षसमेत रहेकी लालकुमारीले सहकारीमा आबद्ध भएकालाई खुर्सानी उत्पादनमा जोडेर बिक्रीवितरणमा सहजीकरण गर्ने तयारी गरेको बताइन्। स्थानीय, प्रदेश र केन्द्र सरकारका कृषिसम्बन्धी कार्यक्रम र कार्यालयबाट आफूलाई धेरै सहयोग प्राप्त हुने गरेको उनले बताइन्। रासस 


प्रकाशित : बिहीबार , भदौ २० २०८११०:२६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend