आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

हुप्सेकोटमा कृषि प्रणालीलाई विषादीरहित बनाउने अभियान

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २० २०८१
हुप्सेकोटमा कृषि प्रणालीलाई विषादीरहित बनाउने अभियान

विषादीको प्रयोगले हुने असरलगायत विषयमा जनचेतना अभिवृद्धि गर्दै रोकथामको अभियान सञ्चालन गरिने पालिकाको योजना छ।

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा कृषि प्रणालीलाई विषादी रहित बनाउने अभियान सञ्चालन गरिने भएको छ। 

चालु आर्थिक वर्षदेखि विषादीको प्रयोगलाई शून्यमा झार्ने नीति लागु गरिएको हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन्। 'कृषि उत्पादनमा जैविक तथा वनस्पतिजन्य मल तथा औषधिको प्रयोगलाई बढावा दिँदै अर्गानिक खेती प्रणालीलाई प्रोत्साहन गर्दै आगामी तीन वर्षभित्र विषादीको प्रयोग पूर्ण रूपमा अन्त्य गर्ने अभियान यस वर्षदेखि सुरु गर्न लागेका छौँ',उनले भनिन्।  

गाउँपालिकाभित्र व्यावसायिक कृषि गर्नेको सङ्ख्या बढ्दै गएकाले कृषि उत्पादनलाई विषादीरहित बनाउने अभियान सञ्चालन गर्न अध्यक्ष पाण्डेले बताइन्। कृषकलाई जैविक तथा वनस्पतिजन्य मल तथा औषधिको प्रयोगमा प्रोत्साहन गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ।

विषादीको प्रयोगले हुने असरलगायत विषयमा जनचेतना अभिवृद्धि गर्दै रोकथामको अभियान सञ्चालन गरिने पालिकाको योजना छ। 'पालिकालाई तरकारीको पकेट क्षेत्रका रूपमा चिन्ने गरिन्छ, यहाँको तरकारी देशका प्रमुख सहरमा निर्यात हुन्छ', उनले भनिन्, 'त्यसैले यहाँको कृषि उत्पादनलाई पूर्ण रूपमा विषादीरहित रहेको प्रमाणित गरी देशभर चिनाउने लक्ष्य राखेका छौँ।'

पालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले विषादीरहित उत्पादनका लागि सबै कृषकलाई तालिम सञ्चालन गरिने बताए। किसानलाई विभिन्न तालिम, अनुदान र लागत सहभागिताका आधारमा कार्यक्रम सञ्चालन गर्ने गरी कृषिमा बजेट व्यवस्था गरिएको उनले जानकारी दिए।

'मानव स्वास्थ्यमा असर हुने गरी विषादीको प्रयोग भइरहेको छ, अब त्यसलाई पूर्ण रूपमा सुधार गर्नुपर्छ भनेर विषादीरहित अभियान सञ्चालन गर्न लागेका हौँ', उनले भने, 'विषादीको असरबारे किसान पनि सचेत हुनुभएको छ, यसमा पालिकाले थप प्रोत्साहन गर्छ।'

यसैगरी गाउँपालिकाले ‘फर्क युवा गाउँमा, उद्यम गरौँ यही ठाउँमा’ भन्ने नारासहित युवालाई स्वरोजगारमूलक कृषि व्यवसायमा लाग्न प्रोत्साहन गर्ने गरी कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष पाण्डेले भनिन्, 'युवालाई दिगोरूपमा कृषिमा आबद्ध गराउन कृषिमा यान्त्रीकरण, आधुनिकीकरण, विविधीकरण तथा बजारीकरण गरी कृषि पेसालाई सम्मानजनक र मर्यादित पेसा बनाउने नीति लिएका छौँ।'

कृषि क्षेत्रको प्रवर्द्धनका लागि मागमा आधारित फलफूल खेतीमा अनुदान, टनेल तरकारी र नर्सरी स्थापनाका लागि अनुदान र तालिमसमेत गर्ने गाउँपालिकाको योजना रहेको छ। गाउँपालिकाले यसै वर्षदेखि ‘हुप्सेकोट किसान कल सेन्टर’ स्थापना गरी सहज सेवा प्रदान गर्ने तयारीसमेत गरेको छ।

'किसान कल सेन्टरमार्फत कृषकलाई सम्पूर्ण परामर्शका साथै बजारीकरणमा सहयोग गरिने उद्देश्य लिएको छ। कार्यविधि बनाएर किसानलाई निःशुल्क सेवा दिने गरी अगाडि बढ्ने छौँ', अध्यक्ष पाण्डेले भनिन्। 

गाउँपालिका उपाध्यक्ष पूर्णसिंह रानाले यसै वर्षदेखि गाउँपालिकाभित्र उत्पादन हुने रैथाने बालीको संरक्षण तथा प्रवर्द्धन गर्ने तयारी गरिएको जानकारी दिए। यहाँ उत्पादन हुने गहत, सिल्टुङ्ग, सामा काउनो, जुनेलो, थारु आलु, अनदि (जर्नेली), झिनुवा धानका रैथाने बालीको संरक्षण तथा प्रवर्दन गरिने उनले बताए।

'आधुनिक कृषि प्रविधि अवलम्बन गरी उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्नुका साथै कृषिमा आधारित उद्योग सञ्चालन गर्ने वातावरण सिर्जनाका लागि हामीले आवश्यक सहयोग तथा सहजीकरण गर्छौं',उपाध्यक्ष रानाले भने। 

स्थानीय (लोकल) कुखुराको व्यावसायिक उत्पादन वृद्धि गर्नका लागि ‘एक वडा एक फर्म कार्यक्रम’ सञ्चालन गर्ने तयारीअनुसार पालिकाभित्रका सबै वडामा काम सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत पराजुलीले बताए।

‘स्वस्थ पशुः स्वच्छ उत्पादन’को नारासहित घरदैलो उपचार सेवामार्फत पशुमा निःशुल्क कृत्रिम गर्भाधान सेवा र उन्नत नस्ल सुधारको कार्यक्रम सञ्चालन गर्न लागेको पनि उनले जानकारी दिए। रासस 


प्रकाशित : बिहीबार , भदौ २० २०८११०:२२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend