आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

गाउँपालिकालाई आत्मनिर्भर बनाउन आँबुखैरेनीमा ४० हजार सयपत्रीका बिरुवा रोपियो

मंगलबार, भदौ १८ २०८१
गाउँपालिकालाई आत्मनिर्भर बनाउन आँबुखैरेनीमा ४० हजार सयपत्रीका बिरुवा रोपियो

गतवर्ष तिहारमा यहाँबाट प्रतिकिलो पाँचसय रूपैयाँसम्ममा सयपत्री फूल बिक्री भएको बताइएको छ।

दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिका-१ स्थित याञ्चोकमा ४० हजार सयपत्रीका बिरुवा रोपिएको छ। 

गाउँपालिकालाई सयपत्री फूलमा आत्मनिर्भर बनाउने उद्देश्यसहित यान्चोक लघुउद्यम महिला संघले ३५ रोपनी क्षेत्रफलमा ४० हजार सयपत्रीका बिरुवा रोपेको हो।

गत साउन २५ गतेदेखि भदौ पहिलो सातासम्म सयपत्रीका बिरुवा रोपिएको गाउँपालिकाका कृषि शाखा प्रमुख सन्तोष केसीले जानकारी दिए। उनले भने, 'गतवर्ष पहिलो पटक यसै ठाउँमा सयपत्री फूल रोपिएको थियो, उत्पादन राम्रो भयो, यहाँको सयपत्री कतारसम्म पुगेको थियो।'

सयपत्री फूलखेतीबाट महिला किसान उत्साहित भएको भन्दै यसवर्ष पनि सयपत्री फूलखेतीलाई निरन्तरता दिइएको केसीले बताए। उनका अनुसार गाउँपालिकाले ८५ प्रतिशत अनुदानमा सयपत्री फूलका बिरुवा उपलब्ध गराएको थियो। 

गाउँपालिकाका कृषि शाखा प्रमुख केसीका अनुसार रोपेको तीन महिनामा फूल तयार हुन्छ। गतवर्ष तिहारमा प्रतिकिलो पाँचसय रूपैयाँसम्म फूल बिक्री भएको थियो। यान्चोक लघुउद्यम महिला संघमा आबद्ध ७० महिलाले सयपत्रीका बिरुवा रोपेको संघकी अध्यक्ष सुन्तली गुरुङले जानकारी दिए।

महिला फूलखेतीमा आकर्षित रहेको बताउँदै उनले भने, 'चाडपर्वलगायत अन्य कार्यक्रमका लागि सयपत्री बाहिरबाट ल्याउन नपरोस् भनेर पालिकाले थालेको अभियानमा हामीले साथ दिएका छौँ, पालिकाबाट पनि हामीलाई सहयोग भएको छ।' घरायसी काममा मात्रै व्यस्त महिलालाई स्वरोजगार बनाउने उद्देश्यसहित फूलखेती थालिएको उनको भनाइ छ। 

गाउँपालिकाले आयातित तथा प्लाष्टिकजन्य फूलमाला निरुत्साहित गर्ने प्रयासस्वरुप गतवर्षदेखि सयपत्री फूलखेतीलाई प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। स्थानीय पुष्प व्यवसायीलाई प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाले गत वर्षदेखि अनुदानको कार्यक्रम अगाडि बढाएको थियो।

चुमानले भने, 'धेरै मात्रामा प्लाष्टिकजन्य फूल तथा माला प्रयोग भएको छ, यसले मानवीय स्वास्थ्य र वातावरणलाई समेत असर पुर्‍याइरहेको छ, स्थानीयस्तरमै फूल उत्पादन गरी बाहिरबाट ल्याउन नपर्ने अवस्था सिर्जना गर्ने हाम्रो उद्देश्य हो।'

चुमानले तिहारमा विदेशी प्लाष्टिकका फूल तथा झिलिमिलीको सट्टा स्थानीयस्तरमा उत्पादित फूल प्रयोगमा जोड दिएको बताए।गाउँपालिकाले स्थानीयस्तरमा हुने कार्यक्रममा पनि सयपत्री फूलको माला प्रयोगमा जोड दिएको उनको भनाइ छ। उनले भने, 'पालिकाभित्र हुने हरेक कार्यक्रममा कृत्रिम फूललाई विस्थापित गर्छौँ, यहीँ उत्पादित फूललाई प्रयोगमा ल्याउँछौँ।' रासस


प्रकाशित : मंगलबार, भदौ १८ २०८११३:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend