आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्दो

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ १६ २०८१
चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्दो

मैयुङडाँडा, सिलिचुङ साउनेडाँडालगायत माथिल्लो भेगमा चौँरीको व्यावसायिक पालन हुने गरेको छ। चौँरीलाई किसानले बर्खाको समयमा माथिल्लो भेग र चिसो मौसम सुरु भएपछि  गाउँघरका खेतबारीमा झर्ने गरेका छन्।

भोजपुर- भोजपुरमा परम्परागत रूपमा गरिँदै आएको चौँरीपालन व्यवसायमा किसानको आकर्षण घट्न थालेको छ। चौँरीको दूधबाट उत्पादन हुने परिकारको बजारमा राम्रो माग भए पनि चौँरीपालन व्यवसायमा किसानको आकर्षण भने घट्दै गएको हो। 

चरन क्षेत्रको अभाव तथा नयाँ पुस्ताको रोजाइमा नपर्दा यो व्यवसाय संकटमा पर्दै गएको किसान बताउँछन्। दशकअघिसम्म मैयुङ क्षेत्रमा सयौँको सङ्ख्यामा हुने चौँरीगोठ अहिले आठ÷दश वटामा सीमित रहेको स्थानीय चौँरीपालक कृषक प्रविन राईले बताए। पछिल्लो समयमा चौँरीपालक कृषकको मुख्य समस्या चरन क्षेत्र बनेको उनको भनाइ छ।
 
आम्दानीको राम्रो स्रोतका रूपमा रहे पनि विभिन्न समस्याका कारण बर्सेनि किसानको चौँरीपालनतर्फ आकर्षण घट्दै गएको उनको भनाइ छ। सामुदायिक वन तथा अन्य निकायले चरनमा रोक लगाएपछि व्यवसायलाई प्रत्यक्ष असर परेको किसान राईले बताए। चौँरीलाई चरनका लागि प्रशस्त घाँसेमैदान चाहिने भए पनि अहिले चरन क्षेत्र अभाव हुँदै गएको उनको भनाइ छ। 

'चौँरीको दूधबाट बन्ने सामग्रीको बजारमा राम्रो माग छ', किसान राईले भने, 'तर चौँरीपालन गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएको अवस्था छ। किसानको मुख्य समस्या नै चरन क्षेत्र बनेको छ। चरन अभाव हुँदा व्यवसाय नै संकटमा पर्ने अवस्था छ।'

यो व्यवसायबाट वार्षिक चारदेखि पाँच लाखसम्म आम्दानी हुने उनको भनाइ छ। 'व्यावसायिक चौँरीपालनमा धेरै चुनौती छन्', राईले भने, 'लेकाली भेगमा पालन गर्नुपर्ने व्यवसाय भएकाले दुःखकष्ट धेरै सामना गर्नुपर्छ। आम्दानी राम्रो हुने भए पनि पछिल्लो समय धेरैले यो व्यवसाय छाडेको अवस्था छ।'

चौँरीको दूधबाट उत्पादित वस्तु स्थानीय बजारसँगै गोठबाट नै बिक्री हुने किसानको भनाइ छ। चौँरीको घ्यू तथा छुर्पीको माग धेरै रहेको किसान राईले बताए। नौनी घ्यू गोठबाट धार्नीको रु दुई हजार पाँच सयमा बिक्री हुँदै आएको गोठवालाहरूको भनाइ छ।

छुर्पी प्रतिकेजी आठ सयदेखि एक हजार रुपैयाँसम्म बिक्री हुने गरेको छ। यहाँको मैयुङडाँडा, सिलिचुङ साउनेडाँडालगायत माथिल्लो भेगमा चौँरीको व्यावसायिक पालन हुने गरेको छ। चौँरीलाई किसानले बर्खाको समयमा माथिल्लो भेग र चिसो मौसम सुरु भएपछि  गाउँघरका खेतबारीमा झर्ने गरेका छन्। 

चरन अभावमा बाउबाजेको पालाबाट गरी आएको चौँरीपालन व्यवसाय सङ्टकमा पर्दै गएको किसान विमल राईले बताए। चरनका लागि एक दिनमा चौँरीले सरदरमा १२ देखि १५ किलोमिटर घुम्ने उनको भनाइ छ।

सीमित ठाउँमा चराउँदा घाँस अभाव तथा सहज रूपमा घुम्न नपाउँदा चौँरी नफस्टाउने उनले बताए। चरन क्षेत्र अभावसँगै नयाँ पुस्ताको रोजाइमा नपर्दा धेरैले व्यवसाय छाड्दै गएको राई बताउँछन्। 

पछिल्लो समय चौँरीका लागि चाहिने पोषिलो घाँस मासिँदै गएको अवस्था छ। यसले पनि व्यवसायमा असर पुगेको छ। चौँरीको चरन क्षेत्रको व्यवस्थापनमा पहल हुनुपर्ने यहाँका किसानको माग छ।

चौँरीले बढी चिसो सहन सक्ने भएकाले दुई हजार मिटरदेखि उच्च हिमाली क्षेत्रको पाँच हजार मिटरसम्मको उचाइमा पाल्न सकिने पशु विज्ञहरूको भनाइ छ।

पहाडी गाई र हिमाली याक गोरुबीच गर्भधारण गराउँदा जन्मिएका बाछाबाछी चौँरी हुन्। चौँरी गाई तथा याकलाई रिसाहा जनावरका रूपमा पनि लिने गरिन्छ। रासस


प्रकाशित : आइतबार, भदौ १६ २०८११०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend