आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

कृषि र पशुपालनबाट वार्षिक १५ लाख कमाउँदै ८० वर्षीय वृद्ध

आइतबार, भदौ ९ २०८१
कृषि र पशुपालनबाट वार्षिक १५ लाख कमाउँदै ८० वर्षीय वृद्ध

विगतमा राजनीतिमा समेत सक्रिय मुर्कुचीका जीतुहर्क तामाङ अहिले राजनीति छाडेर कृषिमा मात्र सक्रिय छन्।

उदयपुर- यहाँको रौतामाई गाउँपालिका-७ मुर्कुचीका जीतुहर्क तामाङ उमेरले ८० वर्ष पुगिसके। तर उनी अहिले पनि कृषि र पशुपालनमा सक्रिय छन्। यही पेसाबाट उनले वार्षिक १५ लाख रूपैयाँसम्म आम्दानी गर्दै आएका छन्।

उनले १३ रोपनी जग्गामा फलफूलखेती गरेका छन्। सबैभन्दा धेरै लिच्ची र कागती रोपेका छन्। कागती बिक्रीबाट वार्षिक पाँच लाख रूपैयाँ आम्दानी गर्ने गरेको उनले जानकारी दिए। विगत ३० वर्षदेखि उनले खसीबाख्रा पाल्दै आएका छन्। अहिले उनको गोठमा एक सयको सङ्ख्यामा खसीबाख्रा छन्। एक सयमध्ये ३८ वटा त खसीमात्र छन्।

उनले एक हजारको सङ्ख्यामा लोकल कुखुरा र एक हजार हाँस पालेका छन्। खसीबाट वार्षिक सात लाख रूपैयाँसम्म र हाँस कुखुरा बिक्री गरी चार लाख रूपैयाँसम्म आम्दानी गर्छन्। विगतमा राजनीतिमा समेत सक्रिय तामाङ अहिले राजनीति छाडेर कृषिमा मात्र सक्रिय छन्।

'मैले कृषि पेसा गर्दागर्दै पनि पञ्चायत व्यवस्थामा एकपटक प्रधानपञ्च भएँ। बहुदल आएपछि एकपटक गाविस अध्यक्ष पनि भएँ', उनले भने, 'राजनीति त सेवा हो, आर्थिक आम्दानी नगरी परिवार र जीवन नचल्ने हुनाले राजनीतिभन्दा कृषिलाई निरन्तरता दिएको हुँ।'

अहिले पनि तामाङ दैनिक बिहान उज्यालो भएदेखि बेलुका ६ बजेसम्म फलफूल बगानमै भेटिन्छन्। साँझ ७ बजेदेखि ९ बजेसम्म खसीबाख्रा, कुखुरा, हाँसको रेखदेखमा समय दिन्छन्। उनका चार छोरामध्ये उनी साहिला छोरासँग बस्छन्। हजुरबुबा र बुबाको पालादेखि कृषि तथा पशुपालन सिकेको बताउँछन् उनी।

उनलाई नजिकबाट जान्ने जनता मावि मुर्कुचीका प्राचार्य खड्ग थापामगर भन्छन्, 'उहाँ कर्मठ कृषक हुनुहुन्छ। यस्तो व्यक्ति देशमा बिरलै पाइन्छन्, तीमध्येका एक हुनुहुन्छ। उहाँ सफल कृषकमात्र नभइ समाजसेवी पनि हुनुहुन्छ।'

पञ्चायतकालमा प्रधानपञ्च हुँदा उनले रौता मुर्कुचीको जनता माध्यमिक विद्यालय स्थापना गर्नुभयो र नामेटार गाउँका दुईवटा विद्यालय स्थापना गर्न पहल गरेका प्राचार्य थापामगरले जानकारी दिए।

रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले भने, 'जीतुहर्क एक संघर्षशील र सफल कृषक हो। गाउँका जनप्रतिनिधि हुँदा जनताको सेवा गर्नुभयो र त्यसपछि कृषि पेसामै फर्कनुभयो।'

८० वर्षको उमेरमा अझै तन्नेरी जाँगर र जोशका साथ कृषि पेसामा सक्रिय तामाङ आफू यही पेसाले निरोगी भएको बताउँछन्। 'सात वर्षको उमेरदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ। जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन', उनी भन्छन्, 'यही काम गर्दागर्दै मर्न परोस् अरु मलाई केही चाहिएको छैन। म यसमै सन्तुष्ट छु।'

उनी दैनिक दूधभात, मासु र फलफूल खाने गर्छन्। आम्दानी राम्रो हुने गरेकाले गाउँघरका छिमेकीलाई आर्थिक संकट पर्दा उनले सरसापटी दिने गरेका छन्। ८० वर्षको उमेरमा पनि उनको जाँगर देख्ने जोकोहीले काम गर्न उमेरले नछेक्ने रहेछ भन्ने गरेको मुर्कुचीका स्थानीय देवप्रसाद खड्का बताउँछन्। रासस


प्रकाशित : आइतबार, भदौ ९ २०८११६:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend