आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

भारतबाट ल्याइएका मुर्रा राँगाबाट वीर्य संकलन गरी वितरण थालियो

शनिबार, भदौ ८ २०८१
भारतबाट ल्याइएका मुर्रा राँगाबाट वीर्य संकलन गरी वितरण थालियो

कृषि तथा पशुपक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरुप नेपालको अनुरोधमा भारतले मुर्रा राँगा उपलब्ध गराएको थियो।

कास्की- भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट ल्याइएका मुर्रा राँगाबाट वीर्य संकलन गरी वितरण सुरु भएको छ। पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)को भारत भ्रमणका क्रममा भारतले नेपाललाई उपहारस्वरुप प्रदान गरेको राँगामध्ये सात पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा ल्याइएको थियो।

यहाँ रहेकामध्ये एक वटाबाट वीर्य संकलन गरेर कृत्रिम गर्भाधानका लागि वितरण गरिएको कार्यालयका प्रमुख पशु विकास अधिकृत डा जगदिश पाण्डेले जानकारी दिए। बाँकी राँगाबाट वीर्य संकलनका लागि सिकाइएको चरणमा रहेको अबको दुइदेखि तीन महिनामा सबैबाट संकलन हुने उनले बताए।

प्रमुख पशु विकास अधिकृत पाण्डेले भने, 'क्वारेन्टिन, उमेर, सिकाइलगायत सबै प्रक्रिया पूरा गरेर मात्र सिमेन संकलन र गुणस्तर परीक्षणपछि मात्र वितरणको काम हुन्छ। अहिले एउटाबाट संकलन भएको तीनदेखि पाँच हजार डोज वितरण गरेका छौँ। बाँकी राँगा ट्रेनिङमा नै छन्।'

कार्यालयका अनुसार वर्षमा एउटा राँगाबाट २० हजारदेखि ३० हजार डोज सिमेन उत्पादन हुनेछ। हप्तामा सोमबार र बिहीबार वीर्य संकलन हुँदै आएको छ। एक हप्तामा एउटाबाट चार सय डोज जति संकलन हुने कार्यालयका सूचना अधिकारी एवं वरिष्ठ पशु विकास अधिकृत भरतराज गौतमले बताए।

'हामीले यहाँ ल्याएर सुरुमा २१ दिन क्वारेन्टिमा राख्यौँ। कतिपयको उमेर पुग्न बाँकी थियो। उमेर पुगेपछि बल्ल संकलन गर्छौँ', डा गौतमले भने, 'संकलन गर्ने वित्तिकै वितरण गर्न हुँदैन, गुणस्तर परीक्षण गरेर ठीक छ भनेपछि मात्र कृत्रिम गर्भाधानकर्तामार्फत भैँसीको नश्ल सुधार गरिन्छ।' कार्यालयले संकलित वीर्य आफ्नो वितरण रुटमार्फत जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, स्थानीय पालिका र कृत्रिम गर्भाधानकर्तामार्फत कृषकलाई उपलब्ध गराउँदै आएको छ।

राष्ट्रिय पशु प्रजनन् कार्यालय पोखराको कार्यक्षेत्र रहेका बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ३१ जिल्लामा कृत्रिम गर्भाधानका लागि कृषकलाई वितरण गरिने वरिष्ठ पशु विकास अधिकृत डा गौतमले बताए।

कृषि तथा पशुपक्षीको क्षेत्रमा दुई देशबीचको सहकार्यअनुरुप नेपालको अनुरोधमा भारतले राँगा उपलब्ध गराएको थियो। भैँसीमा पहिलोपटक उन्नत जातको नश्ल सुधारका लागि भारतबाट १५ राँगा ल्याइएको थियो।

पशु चिकित्सकका अनुसार उच्च नश्लका मुर्रा भैँसीहरूले रैथाने भैँसीभन्दा दोबर परिमाणमा दूध दिन्छन्। सरकारले यहाँका रैथाने भैँसीमा नश्ल सुधार गर्न भारतबाट राँगा ल्याएको हो।

नेपाल ल्याइएका मुर्रामध्ये सात वटा पोखरा, पाँच वटा लहान र तीन  नेपालगञ्जमा राखिएको छ। रासस


प्रकाशित : शनिबार, भदौ ८ २०८११४:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend