आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

इलामको रोङमा बेसारको व्यावसायिक उत्पादन सुरु

शनिबार, भदौ ८ २०८१
इलामको रोङमा बेसारको व्यावसायिक उत्पादन सुरु
फाइल तस्बिर

चिया र अलैँची किसानसँगै बेसार उत्पादन गर्ने किसानसमेत सहकारीमा भएकाले बेसारको उत्पादन सुरु गरिएको बताइएको छ।

इलाम- इलामको रोङमा व्यावसायिक बेसार उत्पादन सुरु भएको छ। गाउँपालिकाको सहयोगमा इको चिया सहकारी संस्थाले बेसारको उत्पादन सुरु गरेको हो। स्थानीय उत्पादन वृद्धि गरेर किसानलाई आत्मनिर्भर गराउन बेसारको उत्पादनलाई जोड दिइएको बताइएको छ । 

गाउँपालिकामा रहेका तीन सहकारीलाई एउटै सहकारी बनाइएको थियो। गाभिएका इको चिया उत्पादक सहकारी संस्था, महिला लालीगुराँस सहकारी संस्था र हाँसपोखरी अलैँची उत्पादक सहकारी संस्था एक भएपछि बेसारको उत्पादन सुरु गरिएको व्यवस्थापक गणेश अर्यालले जानकारी दिए।

चिया र अलैँची किसानसँगै बेसार उत्पादन गर्ने किसानसमेत सहकारीमा भएकाले बेसारको उत्पादन सुरु गरिएको बताइएको छ। उत्पादित बेसारलाई ‘रोङ बेसार’ नाम दिइएको छ। बेसार बजारमा ल्याइएको छ। निर्माण भएको बेसार गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।

बेसारको उत्पादनसँगै बजारीकरणमा जुटेको गाउँपालिकाका अध्यक्ष मनीकुमार स्याङ्बोले बताए। गएको वर्षबाट नै किसानलाई बीउ वितरण गरिएको उनको भनाइ छ। गाउँपालिकाले सहकारीलाई बेसार वितरण गरेको थियो। बेसार एक किलो ग्रामबाट २० किलो ग्रामसम्म उत्पादन भएको छ। बँदेल, बाँदर लगायतका जंगली जनावरले बारीमा लगाइएको अन्न तथा नगदेबालीमा असर पु¥याउन थालेपछि किसानले बेसार लगाउन थालेका हुन्।
 
हाल दुई सय ९५ किलो धुलो बेसार तयार भएको बताइएको छ। सहकारीमा चार सय ५५ सदस्य रहेका छन्। यस वर्ष एक हजार नौ सय ९५ किलो बेसार गाउँपालिकाका वडा नं ३, ४ र ५ मा वितरण गरेर खेती गरिएको छ। यसको बजार खोज्न समस्या नभएको बताइएको छ।

झापाको विर्तामोड नजिकै भएकाले पनि यहाँ उत्पादित बेसारलाई बजारीकरणमा खास समस्या नरहेको बताइएको छ। बेसार दैनिक उपभोग्य वस्तु भएकाले रोङमा आएर पनि उपभोक्ताले बेसार लैजाने गरेको किसानको भनाइ छ। तयारी बेसार पाँच सयदेखि एक हजार रूपैयाँ प्रतिकिलो पर्ने गरेको छ। रासस


प्रकाशित : शनिबार, भदौ ८ २०८११४:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend