आइतबार, असार ७ गते २०८३    
आइतबार, असार ७ २०८३

एक दशक खाडी मुलुकमा संघर्ष गरेर फर्किएका बाबुराम कृषिबाट गर्दैछन् विदेशको भन्दा दोबर कमाइ

तरकारी बेचेर वार्षिक १५ लाखसम्म आम्दानी, छोरालाई बनाउँदैछन् इञ्जिनियर र कृषि प्राविधिक

शनिबार, भदौ ८ २०८१
एक दशक खाडी मुलुकमा संघर्ष गरेर फर्किएका बाबुराम कृषिबाट गर्दैछन् विदेशको भन्दा दोबर कमाइ
फाइल तस्बिर

कृषक बाबुराम रेग्मीले तरकारीबाटै भएको आम्दानीले जेठो छोरालाई इञ्जिनियर र कान्छोलाई कृषि प्राविधिक पढाएका छन्।

पर्वत- रोजगारीका लागि १० वर्षसम्म खाडी मुलुकमा भौँतारिए पनि गतिलो कमाइ गर्न नसकेपछि स्वदेशमै फर्किएर व्यावसायिक तरकारी खेतीमा होमिएका यहाँका एक कृषकले वार्षिक १५ लाख रूपैयाँसम्म भित्र्याउन सफल भएका छन्।

जलजला गाउँपालिका-६ शालिजाका कृषक बाबुराम रेग्मी मौसमी तथा बमौसमी तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सफल भएका हुन्। एक दशक लामो समय खाडी मुलुकमा बिताए पनि घर खर्च चलाउन हम्मेहम्मे परेपछि गाउँमै फर्किर आफ्नै बाबुले गर्दै आएको कृषि पेसा अँगालेका रेग्मीले अहिले विदेशमा भन्दा दोबर कमाइ गर्न सफल भएको बताए।

एक दशकदेखि व्यावसायिक तरकारी खेतीमा लागेका रेग्मीले १५ रोपनी खेतबारीमा तरकारी खेती गर्दै आएका छन्। उनले मौसमीभन्दा बेमौसमी तरकारीलाई जोड दिएका छन्। मौसमी तरकारी लगाउँदा सोचेअनुरुप कमाइ नहुने र बजारको समेत अभाव हुने भएकाले बेमौसमी तरकारी खेतीमा लागेको रेग्मीले बताए। अहिले उनको बारीमा काउली, बन्दा, आलु, टमाटर, काँक्रा, धनियाँ, सिमीलगायत बेमौसममा उत्पादन हुने तरकारी लहलह भएका छन्।

गाउँमै सडकको राम्रो पहुँच पुगेपछि बारीबाटै गाडीमा लोड गरेर बजार पठाउने गरेको रेग्मीले बताए। उनको बारीमा उत्पादित तरकारी छिमेकी जिल्ला म्याग्दीको बेनी, पर्वतको कुश्मा, बागलुङ र पोखरासम्म पुग्ने गरेको छ।

'यतिबेला काँक्रा बजार लैजाने भएका छन्, दैनिक रुपमा ५० किलो उत्पादन हुने गरेको छ, काउली र बन्दाका बिरुवा भर्खर लगाएको छु, अब एक महिनामा बजार पठाउन तयार हुन्छन्', उनले भने। रेग्मीलाई तरकारी खेतीको काम गर्न श्रीमती र बुबाले पनि सघाउँदै आएका छन्।

बर्खे आलु लगाएर पाँच लाख रूपैयाँ आम्दानी गरेको बताउने बाबुरामले वार्षिक १५ लाख रूपैयाँसम्म आम्दानी गर्न कुनै समस्या नरहेको बताए। तरकारीका अलावा उनले दश मुरी धान उत्पादन हुने खेतमा गोल्डेन जातको किबी पनि लगाएका छन्। किबी खेतीबाट वार्षिकरुपमा दुईदेखि तीन लाख रूपैयाँसम्म आम्दानी गर्ने योजना उनको छ। गाउँपालिकाले अनुदानमा किबीका बिरुवा उपलब्ध गराएको रेग्मीले बताए।

स्वदेशमा केही छैन भन्नेका लागि बाबुरामको प्रगति गतिलो उदाहरण बनेको छ। परिश्रमी र लगनशील बाबुराम युवाका लागि प्रेरणाको स्रोत बनेको स्थानीय स्थानीय बताउँछन्। 'मेरो आम्दानीको स्रोत अरु केही छैन', रेग्मीले भने, 'तरकारी खेतीबाटै दुई छोरालाई प्राविधिक विषयसमेत पढाउन सफल भएको छु।'  

रेग्मीले तरकारीबाटै भएको आम्दानीले जेठो छोरालाई इञ्जिनियर र कान्छोलाई कृषि प्राविधिक पढाएका हुन्। उनले जेठो छोरालाई सिभिल इञ्जिनियरमा स्नातकसम्म पढाएर स्नातकोत्तर पढ्नका लागि हाल बेलायत पठाएका छन् भने कान्छो छोरा रामपुर कृषि क्याम्पसबाट कृषि प्राविधिकमा स्नातक गरेर अहिले नेपालमै रोजगारी गर्न थालेका छन्।

'विदेश छाडेर गाउँ फर्किदा छरछिमेकले गाली गरेका थिए', उनले भने, 'घरखर्च चलाउन र छोराछोरी पढाउन धेरै खर्च चाहिन्छ फेरि विदेश फर्क भन्दै सुझाव दिने गरेको भए पनि अटेर गरेर तरकारी खेतीमा लागिरहेँ।' 

आफूले अँगालेको पेसा रोजेर छोरा गाउँकै नमूना कृषक भएकामा बुबा कलाधर रेग्मी पनि हर्षित बनेका छन्। परिश्रम र मेहिनत गर्न सक्ने हो भने कसैले पनि नेपाल छाडेर पलायन हुन नपर्ने उनको अनुभव रहेको छ। रासस


प्रकाशित : शनिबार, भदौ ८ २०८११३:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend