सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, भदौ ७ २०८१
‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’

खुङखानीका रनबहादुर र ढोरपाटनका लछुमन थापा जस्तै ६० वर्ष उमेर पुगेका वृद्धहरुले धानेको घुम्ती गोठहरु उनिहरुको बढ्दो उमेरसँगै घट्दै गएका छन्। युवा र बयस्क उमेरका गोठाला भेटिँदैनन्।

म्याग्दी- परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका-५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउँदै गएका छन्। पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको जानकारी दिए। 

'पहिले एक सय भेडाबाख्रासँगै आठ/दश वटा गाईभैँसीको गोठ लिएर बुकी र बेशी गर्दथे। गाईभैँसी बेचेर सकिए। ४०  भेडाबाख्रा छन्,' उनले भने 'छोराछोरीले यो पेशा रोजेनन्। विदेशतिर लागे। बढ्दो बुढ्यौलीसँगै हिँडडुल गर्न गाह्रो हुन थालेकाले म पनि भएका भेडाबाख्रा बेचेर विश्राम लिने योजनामा छु।'

ढोरपाटनका ७४ वर्षीय लक्षुमन थापाले पनि भएका भैँसीहरु छोराछोरीलाई दिएर आउँदो वर्षदेखि बुकी नउक्लने तयारी गरेका छन्।

'छोराछोरी विदेश र सरह पसेपछि हामी बुढाबुढीले घर कुर्नेकी गोठ कुर्ने भएको छ,' उनले भने 'घुम्ति गोठमा गाईभैँसी पाल्ने चलन हाम्रो पुस्तासँगै हराउने भयो।'

१५-२० वर्षअघि बर्खामा गाईभैँसी, भेडाबाख्रा र घोडाले भरिने गर्पाछेडा, दहखर्क, टिकाधुरी लगायत ढोरपाटनका बुकीका खर्कहरु अहिले रित्ता हुदै गएका थापाले बताए। खुङखानीका रनबहादुर र ढोरपाटनका लछुमन थापा जस्तै ६० वर्ष उमेर पुगेका वृद्धहरुले धानेको घुम्ती गोठहरु उनिहरुको बढ्दो उमेरसँगै घट्दै गएका छन्। युवा र बयस्क उमेरका गोठाला भेटिँदैनन्। 

वैदेशिक रोजगारीप्रतिको आकर्षण, स्वदेशमै मेहनत गर्नुपर्छ भन्ने भावना र काम गर्ने वातावरण नहुँदा जिविकोपार्जनसँगै आम्दानीको राम्रो स्रोत घुम्ती पशुपालन पेशा संकटमा परेको ढोरपाटनको छेन्तुङमा बस्दै आएका धवलागिरी गाउँपालिका-७ ताकमका पुर्व प्रधानपञ्च बिष्णुबहादुर थापाले बताए। 

८३ वर्षीय थापाका अनुसार धारापानी, ताकम, मुना, मुदी, लुलाङबाट केही वर्षयता बर्खामा बुकीमा गोठ लैजान छाडेका छन्। गर्मी बढेपछि हिमाली क्षेत्रको जडिवुटीयुक्त चरन क्षेत्रको पोषीलो घाँस खुवाउन बुकीमा पशु चराउन लैजाने चलन छ। बुकीमा चरेका पशुहरु निरोगी, मोटा हुने, दूध धेरै दिने र मासु स्वादिष्ट हुने थापाले बताए। 

असारदेखि भदौसम्म लेकाली क्षेत्रमा रहने पशु गोठहरु चिसोसँगै बेशीतर्फ झार्ने चलन छ। अस्थायी टहरामा महिनौसम्म घरपरिवारसँग सम्पर्कविहीन भएर पशुहरुसँगै बुकीमा बस्न नयाँ पुस्ताले दुःख र झञ्जट मानेका छन्। पाँच वर्ष साउदीमा काम गरेर फर्किएर पुर्ख्यौली गोठाला पेशालाई निरन्तरता दिएका ढोरपाटनका शक्तिबहादुर कायत भने जहाँ गएपनि दुःख नगरी आम्दानी नहुने भएकाले विदेशभन्दा गोठनै राम्रो भएको अनुभव सुनाउँछन्। 

'दुखः त यहाँ भन्दा विदेशमा कति हो कति,' उनले भने 'मलाई खाडीको तुलनामा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ।' २१ भैँसी पालेका शक्तिबहादुरले घ्यू, रागा भैँसी, छुर्पी बेचेर छ जना छोराछोरी पढाउने र घरखर्च चलाउने गरेको बताए। रासस


प्रकाशित : शुक्रबार, भदौ ७ २०८११४:१५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend