सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

चितवनको माडीमा 'माछा जोन’ कार्यक्रम लागु

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ६ २०८१
चितवनको माडीमा 'माछा जोन’ कार्यक्रम लागु

चितवनमा वार्षिक पाँच हजार मेट्रिक टन माछा उत्पादन हुने गर्छ। जिल्लाभर एक हजारभन्दा बढी हेक्टर क्षेत्रमा माछापालन गरिएको पशु सेवा कार्यालयका मत्स्य विकास अधिकृत भीमदत्त भट्टले जानकारी दिए।

चितवन- माडी नगरपालिकामा 'माछा जोन’ कार्यक्रम लागु भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइमार्फत माडीमा चालु आर्थिक वर्षदेखि माछा जोन कार्यक्रम लागु भएको हो।

परियोजना प्रमुख तथा वरिष्ठ कृषि अधिकृत महेश रेग्मीका अनुसार माछाको क्षेत्र विस्तार र उत्पादनलाई उद्योगसँग जोडेर किसानलाई व्यवसायीकिकरण गर्ने उद्देश्यले माडीमा जोन स्थापना गरिएको छ।

यस वर्ष कार्यालयले मत्स्य पर्यटन प्रवर्द्धन, माछाको उन्नत प्रविधि प्रवर्द्धन, एकीकृत माछापालन, नश्ल सुधार, ह्याचरी सुदृढीकरण, पोखरी निर्माण तथा सिँचाइलगायत क्षेत्रमा परियोजनाले काम गर्ने छ।

माडीका सबै वडामा माछापालन हुने गरेको छ। यहाँ पाँच सय हेक्टर क्षेत्रफलमा माछापोखरी निर्माण गरिएको छ। माडीमा आठ सय हेक्टरमा माछापालन क्षेत्र विस्तार गर्ने योजना रहेको परियोजनाका कृषि अधिकृत इन्द्रशर्मा ढुङ्गानाले जानकारी दिए।

कार्यक्रम सञ्चालन गर्न माडीमा सम्पर्क कार्यालय स्थापना गरिएको छ। जोन कार्यालय सञ्चालनका लागि कोपिला सिवाकोटीको संयोजकत्वमा नौ सदस्सीय मत्स्य जोन सञ्चालक समन्वय समिति गठन गरिएको छ।

यस वर्ष कार्यक्रम सञ्चालनका लागि परियोजनाले किसानलाई सूचीकृतका लागि आह्वान गरेको छ। परियोजनाले माछाको सामुदायिक फिड मिल तथा भण्डारणगृह निर्माण, माछाको ह्याचरी सुदृढीकरण तथा सञ्चालन माछापोखरी सिँचाइ तथा मर्मतसम्भार, मत्स्य पोखरी क्षेत्र विस्तारलगायत कार्यक्रममा प्रस्ताव आह्वान गरेको छ। परियोजनाका कार्यक्रममा ५० देखि ८५ प्रतिशतसम्म अनुदान प्रदान गरिने अधिकृत ढुङ्गानाले जानकारी दिए।

चितवनमा वार्षिक पाँच हजार मेट्रिक टन माछा उत्पादन हुने गर्छ। जिल्लाभर एक हजारभन्दा बढी हेक्टर क्षेत्रमा माछापालन गरिएको पशु सेवा कार्यालयका मत्स्य विकास अधिकृत भीमदत्त भट्टले जानकारी दिए। जिल्लामा प्रतिहेक्टर दुई दशमलव पाँच क्विन्टल माछा उत्पादन हुँदै आएको छ। परियोजनामार्फत चितवनमा सागसब्जी, धान, केरा, मौरी जोन कार्यक्रम सञ्चालनमा छन्। रासस


प्रकाशित : बिहीबार , भदौ ६ २०८११०:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend