शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

संकटोन्मुख सिन्धु विकास बैंक : खराब कर्जा १० प्रतिशतमाथि, न्यूनतम पुँजीकोष ३४ प्रतिशतले घट्यो

बुधबार, भदौ ५ २०८१
संकटोन्मुख सिन्धु विकास बैंक : खराब कर्जा १० प्रतिशतमाथि, न्यूनतम पुँजीकोष ३४ प्रतिशतले घट्यो

काठमाडौं- सिन्धु विकास बैंकको संकट बढ्दो क्रममा छ। सिन्धुपाल्चोक, चितवन, काभ्रे, मकवानपुरलगायतका जिल्लामा रहेर व्यावसायिक बैंकिङ कारोबार गरिरेहको यो बैंक उच्च खराब कर्जाले थलिएको छ। बढ्दो खराब कर्जाले बैंकको अधिकांश वित्तीय सूचकहरू खस्किँदै गएका छन्। 

खराब कर्जा बढेकाले बैंकको खुद ब्याज आम्दानी घटेको छ भने खराब कर्जा नोक्सानी व्यवस्था बढ्को छ। बढ्दो प्रोभिजनिङको असर बैंकको पुँजीकोषमा परेको छ। बैंकको न्यूनतम पुँजीकोष करिब ३४.२ प्रतिशतले घटेको छ।

क्षेत्रीयस्तरका विकास बैंक र वित्त कम्पनीहरूलाई राष्ट्र बैंकले 'क्यापिटल एड्युकेसी फ्रेमवर्क, २००७' ले सुपरिवेक्षण गर्दै आएको छ। 

सिन्धु विकास बैंक क्षेत्रीयस्तरको विकास बैंक भएकाले उक्त फ्रेमवर्कअनुसार यस बैंकले प्राथमिक पुँजीकोष (टायरवान) ६ प्रतिशत र न्यूनतम पुँजीकोष (टायर टु) १० प्रतिशत कायम गर्नुपर्ने हुन्छ। तर गत आर्थिक वर्षको अन्त्यसम्ममा सिन्धु विकास बैंकले टायरवान क्यापिटल ५.१७ प्रतिशत र टायरटु क्यापिटल ६.५८ प्रतिशतमात्रै कायम गरेको छ। 

सिन्धु विकास बैंकको पुँजीकोष उच्च दरमा घटेको पाएपछि राष्ट्र बैंकले गत असार ११ गतेबाट शीघ्र सुधारात्मक कारबाही थालिसकेको  छ। यसका साथै राष्ट्र बैंकले कर्जा दुरुपयोग गरेको आरोपमा बैंकका पूर्वअध्यक्षलाई ५ लाख रुपैयाँ जरिवाना तिराएको थियो। 

बैंकका तत्कालीन अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले २ करोड ५ लाख रुपैयाँबराबरको चेक खरिद गरेर सेयर फुकुवा गरी कर्जा दुरुपयोगको मतियार बनेको भन्दै राष्ट्र बैंकले ५ लाख रुपैयाँ जरिवाना गराएको हो। 

राष्ट्र बैंकको एकीकृत निर्देशनविपरीत चेकलाई धितो कायम गरी सेयर धितो फुकुवा गर्ने निर्णय सञ्चालक समितिबाट गराएको भन्दै राष्ट्र बैंकले श्रेष्ठमाथि सबैभन्दा माथिल्लोस्तरको नियामकीय कारबाही गर्दै अध्यक्षबाट हटाएको थियो। 

व्यक्तिगत जमानीमा ऋण प्रवाह गरी कर्जाको साधारण ब्याज मिनाह गरी साँवामात्रै असुलउपर गर्ने निर्णय सञ्चालक समितिबाट गराएको भन्दै तत्कालीन अध्यक्ष श्रेष्ठविरुद्ध राष्ट्र बैंकले कारबाही गरेको हो। 

सञ्चालक समितिका अध्यक्ष श्रेष्ठले बैंकको लगानीकर्ता, निक्षेपकर्ता र सर्वसाधारणको हितविपरीत काम गरेको भन्दै राष्ट्र बैंकले उनलाई नियामकीय कारबाही गरेको हो।

सिन्धु विकास बैंकको असार १३ गते बसेको सञ्चालक समितिले उनलाई अध्यक्ष पदबाट हटाउने निर्णय गरेको थियो। श्रेष्ठलाई अध्यक्ष पदबाट हटाएर कर्मचारी सञ्चयकोषका प्रतिनिधि दामोदरप्रसाद सुवेदीलाई अध्यक्ष बनाइएको छ। 

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको ५ करोड ९० लाख रुपैयाँ खुद नाफा रहेको छ। अघिल्लो वर्षको यसै अवधिमा बैंक २९ करोड ३७ लाख रुपैयाँ नाफामा रहेको थियो। गत आर्थिक वर्षको तुलनामा बैंकको इम्पियरमेन्ट चार्ज घटेकाले बैंकको खुद नाफामा सामान्य वृद्धि देखिएको हो। 

यस अवधिमा बैंकको सञ्चित नोक्सानी ४ करोड ३२ लाख रुपैयाँ रहेको छ। ५५ करोड ७५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको गत आर्थिक वर्ष वितरणयोग्य नाफा ३७ करोड ३६ लाख रुपैयाँले ऋणात्मक भएको छ।। 

गत आर्थिक वर्ष बैंकको खराब कर्जा १०.१३ प्रतिशत रहेको छ। अघिल्लो वर्षको तुलनामा बैंकको खराब कर्जा सामान्यरुपमा घटेको छ। अघिल्लो वर्षको यसै अवधिमा बैंकको खराब कर्जा १०.५२ प्रतिशत रहेको थियो। गत आर्थिक वर्षसम्ममा यसको बैंकको खराब कर्जा १७ करोड ५१ लाख रुपैयाँ रुपैयाँ कायम भएको छ। 

सिन्धु विकास बैंकका अध्यक्षले दिए चेक धितो राखेर ऋण सिन्धु विकास बैंकका अध्यक्षले दिए चेक धितो राखेर ऋण

पुँजीकोष ३३ प्रतिशतले घटेपछि सिन्धु विकास बैंकमाथि राष्ट्र बैंकले थाल्यो शीघ्र सुधारात्मक कारबाही, नारायणीमाथिको कारबाही निरन्तर पुँजीकोष ३३ प्रतिशतले घटेपछि सिन्धु विकास बैंकमाथि राष्ट्र बैंकले थाल्यो शीघ्र सुधारात्मक कारबाही, नारायणीमाथिको कारबाही निरन्तर


प्रकाशित : बुधबार, भदौ ५ २०८१११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend