सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

सहरी क्षेत्रमा कोदो संरक्षण अभियान

सोमबार, भदौ ३ २०८१
सहरी क्षेत्रमा कोदो संरक्षण अभियान

चितवनमा कोदोको उत्पादकत्व प्रतिहेक्टर एक दशमलव दुई मेट्रिकटन छ। गत वर्ष जिल्लामा एक हजार ४६५ हेक्टरमा कोदोखेती गरिएको थियो।

भरतपुर- चितवनको भरतपुरमा सहकारीमार्फत रैथाने बाली कोदो संरक्षण गर्न थालिएको छ। भरतपुर महानगरपालिका-९ स्थित त्रिपुरेश्वर कृषि सहकारी संस्थाले हराउँदै गएको कोदो उत्पादन गर्न सदस्यहरुमार्फत अभियान सञ्चालन गरेको हो।

सहकारी संस्थामार्फत आइतबार भरतपुर-८ स्थित ज्योति टोलमा सामूहिक रुपमा कोदो रोपिएको छ। सुरुवातमा बाँझो रहेको आठ कट्ठाको प्लटमा कोदो रोपिएको संस्थाका अध्यक्ष बेदप्रसाद सापकोटाले जानकारी दिए। उनका अनुसार किसानलाई रैथाने बाली कोदोप्रति आकर्षित गर्नका लागि पहिलोपटक सामूहिक रुपमा कोदो रोपिएको हो।

'सहरी क्षेत्रमा कोदो रोप्ने प्रचलन हट्दै गएको छ, मानिसहरुले घडेरी किन्दै छाड्ने र बाँझो राख्ने क्रम उच्च छ', सापकोटाले भने, 'खाली जमिनलाई उत्पादनसँग जोड्नका लागि यो अभियान चलाएका हौँ।'

सापकोटाका अनुसार वडा नं ८ र ९ मा रहेका करिब १० बिघा जमिनमा कोदो रोपिएको छ। यस वर्ष मात्रै सहकारी संस्थामार्फत बीउ लगेर सात बिघा क्षेत्रफलमा कोदो रोपिएको छ।

सहकारी संस्थाले गत वर्ष काभ्रेबाट एक किलो रैथाने कोदोको बीउ ल्याएर रोपेको थियो। त्यसबाट ४१ किलो बीउ उत्पादन भएको थियो। त्यस बीउमध्ये संस्थाका सदस्यलाई यस वर्ष २२ किलो बीउ वितरण गरिएको सापकोटाले बताए।

वडा नं ९ का अध्यक्ष यामलाल कँडेलले रैथाने बाली संरक्षणमा वडा कार्यालय लागिपरेको बताए। महानगरपालिकाले नै रैथाने बाली संरक्षणका लागि पहल गरिरहेको भन्दै आगामी दिनमा कोदो संरक्षणका लागि वडा तहबाट पनि काम गरिने उनले बताए। लामो समयपछि कोदो रोप्न पाउँदा स्थानीयसमेत हर्षित भएका छन्।

भरतपुर-८ का चन्द्रमणि कँडेलले पछिल्लो समय कोदो रोप्ने प्रचलन हट्दै जानु चिन्ताको विषय भएको बताए। विगतमा पहाडमा रहँदा २२ मुरीसम्म कोदो उत्पादन गरेका उनले चितवन झरेपछि कोदो रोप्न छाडेका थिए। यस वर्ष भने उनले दुई कट्ठा जमिनमा कोदो रोपेको बताए।

चितवनमा कोदोको उत्पादन राम्रो हुने गरेको छ। यहाँ अन्य बालीभन्दा कम लगानी र मेहनतमा कोलोखेती गर्न सकिने भएकाले किसानका लागिसमेत यो लाभदायिक हुने कृषि विकास कार्यालयका कृषि अधिकृत उमनाथ अर्यालले बताए।

चितवनमा कोदोको उत्पादकत्व प्रतिहेक्टर एक दशमलव दुई मेट्रिकटन छ। गत वर्ष जिल्लामा एक हजार चार सय ६५ हेक्टरमा कोदोखेती गरिएको कृषि अधिकृत अर्यालले जानकारी दिए। रासस


प्रकाशित : सोमबार, भदौ ३ २०८११४:३४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend