सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

बाँकेको डुडुवाका महिलालाई बाख्रापालनबाट आत्मनिर्भर बनाइँदै

सोमबार, भदौ ३ २०८१
बाँकेको डुडुवाका महिलालाई बाख्रापालनबाट आत्मनिर्भर बनाइँदै

बाँकेको हिरमिनिया र होलिया क्षेत्र कृषि तरकारी तथा पशुपालनको पकेट क्षेत्रका रुपमा रहेको छ।

राँझा- बाँकेको डुडुवा गाउँपालिकामा विपन्न, दलित तथा सीमान्तकृत महिलालाई आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउन बाख्रा वितरण गरिएको छ।

डुडुवाको वडा नं १ मा पर्ने होलिया र वडा नं ६ मा पर्ने हिरमिनियामा महिला समूहमा आबद्ध ७३ परिवारलाई दुई सय १९ बाख्रा वितरण गरिएको दलित महिला संघ बाँकेकी अध्यक्ष निर्मला सुनारले जानकारी दिइन्।

'विपन्न, दलित तथा सीमान्तकृत समुदायलाई बाख्रापालनको माध्यमबाट आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउने उद्देश्यले बाख्रा वितरण गरिएको हो', उनले भनिन्, 'प्रतिपरिवारलाई तीनका दरले बाख्रा वितरण गरिएको छ।'

गाउँघरमा बाख्रा पाल्नका लागि पर्याप्त घाँस तथा दाना पाइने र चाँडो समयमा आम्दानी गर्न सकिने हुँदा गरिब तथा विपन्न दलित परिवारलाई बाख्रा वितरण गरिएको उनको भनाइ छ।

बाँकेको हिरमिनिया र होलिया क्षेत्र कृषि तरकारी तथा पशुपालनको पकेट क्षेत्रका रुपमा रहेको छ।

निर्वाहमुखी बाख्रापालन गर्दै आएका किसानलाई सीप र बजारीकरणमा सहयोग गर्दै व्यावसायिक बनाउन प्रोत्साहनका लागि बाख्रा वितरण गरिएको सुनारले जानकारी दिइन्। होलिया र हिरमिनियाका गाउँबस्तीमा गठन भएका महिला समूहमा आबद्ध किसानलाई बाख्रापालन परियोजनाअन्तर्गत बाख्रा सहयोग गरिएको अध्यक्ष सुनारले बताइन्।

निःशुल्क रुपमा आफ्नै गाउँघरमा तीन बाख्रा पाएपछि स्थानीय खुशी भएका डुडुवा-६ का वडाध्यक्ष मोहनराम मिश्राले बताए। उनले विपन्न तथा सीमान्तकृत समुदायको आर्थिक उन्नतिमा बाख्रापालन सहयोगी बन्ने अपेक्षा गरे।

दलित तथा सीमान्तकृत समुदाय र महिलाको स्रोत तथा सेवामा पहुँच अभिवृद्धि गर्न समूह गठन गरी महिलाको आवश्यकता र रुचि तथा सीपअनुसार संस्थाले सहयोग गर्दै आएको दलित महिला संघकी परियोजना संयोजक दिलासा गौतमले बताइन्।

उनका अनुसार दलित महिलालाई सामाजिक तथा आर्थिक रुपमा सशक्तीकरण गराउँदै वडा एवं गाउँपालिका स्तरका संरचनामा सहभागी बनाउन जिल्लाको खजुरा, बैजनाथ र डुडुवा गाउँपालिकामा २० देखि २५ सदस्य रहेका ५४ महिला समूह गठन गरेर दलित महिला संघ बाँकेले काम गरिरहेको छ। रासस


प्रकाशित : सोमबार, भदौ ३ २०८११४:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend