सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

काभ्रेमा एक वर्षमा ३ सय २६ सिँचाइ आयोजना निर्माण

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, भदौ २ २०८१
काभ्रेमा एक वर्षमा ३ सय २६ सिँचाइ आयोजना निर्माण
फाइल तस्बिर

संघीय सरकारको सशर्त अनुदानतर्फ २९ योजनामा बजेट विनियोजन भएकामा दुईवटा एकीकृत ऊर्जा कार्यक्रमअन्तर्गतका सिँचाइ आयोजनाबाहेक २७ योजनाको काम भएको उक्त कार्यालयले जनाएको छ।

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकमा ३ सय २६  सिँचाइ आयोजना निर्माण भएका छन्। बागमती प्रदेश सरकार तथा संघीय सरकारको सशर्त अनुदानमा एक वर्षमा ती आयोजना पूरा भएका जिल्ला जलस्रोत तथा सिँचाइ विकास कार्यालयले जनाएको छ। 

आर्थिक वर्ष २०८०/८१ मा प्रदेश सरकारको बजेटमा दुई सय ९७ योजनाका लागि बजेट विनियोजन गरिएकामा दुई सय ८८ वटा योजना सम्पन्न भएका उक्त कार्यालयका सूचना अधिकारी कुश बुढाथोकीले जानकारी दिए। प्रदेश सरकारअन्र्तगतका योजनामध्ये चार योजना कार्यान्वयनमा जान सकेका थिएनन् भने पाँच योजना गत असारमा सम्झौता भई काम सुरु भएको छ।

त्यसैगरी संघीय सरकारको सशर्त अनुदानतर्फ २९ योजनामा बजेट विनियोजन भएकामा दुईवटा एकीकृत ऊर्जा कार्यक्रमअन्तर्गतका सिँचाइ आयोजनाबाहेक २७ योजनाको काम भएको उक्त कार्यालयले जनाएको छ।

अघिल्ला आर्थिक वर्ष र गत आर्थिक वर्षमा कार्यालयले कार्यान्वयन गरेका १७ बहुवर्षीय सिँचाइ आयोजनामध्ये दुई वर्षअघि सुरु गरिएका तीन आयोजनाको काम सम्पन्न भएको इन्जिनियर बुढाथोकीले बताए।

बहुवर्षीय सिँचाइ योजनामध्ये चाखोला-चिते-सिङ्गे-चैनपुर सिँचाइ आयोजना मण्डनदेउपुर-३ र ४, आँसीखोला-आँपखोला सिँचाइ योजना मण्डनदेउपुर-४ र लप्सीबोट डिही-ओडारे-घिमिरेगाउँ बञ्जरे-रुप्सेटार मोड सिँचाइ आयोजनाको निर्माण सम्पन्न भएको हो।

जिल्लामा सञ्चालित बहुवर्षीय सिँचाई योजनामध्ये तेमाल गाउँपालिका-८ स्थित सिँचाइ योजना, पाँचखाल नगरस्थित शङ्करेबाँध-ब्रम्हायणी सिँचाइ योजना निर्माण भइरहेको छ।

त्यसैगरी पाँचखालकै चाखोला-जोरपिप्ले लिफ्ट सिँचाइ योजना, बनेपाको हिले-जलजले पर्यटकीय ताल, तेमालमा सुनकोशी-चोपाटार-मुक्पाटार सिँचाइ योजना र थिलवार पारी थिल्वार रोशी लिफ्ट सिँचाइ योजना, पनौतीमा बस्नेतटार लिफ्ट सिँचाइ योजना, रोशी गाउँपालिकामा शिखरटार सिँचाइ योजना, रोशी खोलाबाट काल्धारसम्मको लिफ्ट सिँचाइ आयोजनाको काम जारी रहेको उक्त कार्यालयले जनाएको छ।

महाभारत गाउँपालिकामा चारवटा बाहुनविर्ता-मुलिखोला लिफ्ट सिँचाइ योजना, कोखाजोर खोला आपटार गोकुले सिँचाइ योजना, चाउखोला धाप लिफ्ट सिँचाइ योजना, चाउखोला सोक्तेल सिँचाइ योजना र पोखराखोला-बेसारे खानीटार-छाङटार सिँचाइ आयोजना निर्माणाधीन अवस्थामा छन्।

यसैबीच खानिखोला गाउँपालिका-५ गैरीखोला तालढुङ्गामा एक घर एक धारा कार्यक्रमअन्तर्गत एक सय ४५ घरमा धारा जडान गरी खानेपानी वितरण गरिएको छ।

गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवाः) सिन्धुली तथा स्थानीय जनश्रमदान गरी एक करोड छ लाख लागतमा निर्माण सम्पन्न भएको उक्त खानेपानी आयोजनाको २०८० साल साउन १ गते सम्झौता गरिएको र समयमै निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङले बताए। उनले उक्त खानेपानी आयोजनाको शनिबार उद्घाटन गरेका थिए। रासस


प्रकाशित : आइतबार, भदौ २ २०८११०:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend