शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

संसारभर हुँदैन जीडीपीसँग सेयर बजार पुँजीकरणको सम्बन्ध

नेपालमा किन चलाइन्छ अनावश्यक अफवाह?

बिहीबार , साउन ३१ २०८१
संसारभर हुँदैन जीडीपीसँग सेयर बजार पुँजीकरणको सम्बन्ध

काठमाडौं- सेयर बजारमा उच्च अंकको वृद्धिसँगै लगानीकर्ताको सम्पत्तिमा पनि धमाधम नयाँ रेकर्ड कायम भइरहेका छन्। कारोबार रकममा लगातार कीर्तिमान बनाउँदै उचाइतर्फ लागिरहेको सेयर बजार एकदिनको सामान्य करेक्सनपछि पुनः उचाइतर्फ लागेको छ। 

लगातारको वृद्धिबीच मंगलबार ८.१८ अंकले घटेको बजार बुधबार पुनः उचाइतर्फ लागेको हो। बुधबार ३४.२९ अंकले बढेर बजार २९५७.७५ बिन्दुमा पुगेको छ। 

बुधबार १ सय ५६ कम्पनीको सेयर मूल्य बढेको बजारमा २३ अर्ब ४३ करोड ५ लाख रुपैयाँको कारोबार भयो। ७९ कम्पनीको सेयर मूल्य घट्यो भने ८ कम्पनीको मूल्यमा परिवर्तन भएन। बजार पुँजीकरण ४६ खर्ब ९७ अर्ब ५२ करोड रूपैयाँ पुगेको छ। 

यसअघि सबैभन्दा बढी २०७८ भदौ २ गते ४४ खर्ब ६८ अर्ब ५० करोड ५२ लाख रूपैयाँ बजार पुँजीकरण पुगेको थियो। उक्त पुँजीकरण २०७८ भदौ २ गते सेयर बजारमा अहिलेसम्मकै उच्च बिन्दु ३१९९ पुगेपछि भएको थियो।

त्यसयता घट्दै गएको बजार गतवर्ष कात्तिक २७ गतेसम्म आइपुग्दा सम्पत्ति घटेर २८ खर्ब १३ अर्ब १९ करोड २७ लाख रूपैयाँ कायम भएको थियो। जुन पछिल्लो चार वर्षयताकै न्यून सम्पत्ति हो।

त्यसपछि केही बढ्दै र घट्दै गरेको बजारमा गतवर्ष साउन २८ गते ३१ खर्ब १६ अर्ब १ करोड १९ लाख रूपैयाँ पुँजीकरण पुगेको थियो। कात्तिकमा पुग्दा घटेर २८ खर्ब १३ अर्ब पुगेपछि केही सुधार सुरु भएको थियो।  

जीडीपी र सेयर बजारको पुँजीकरण तुलना गर्न मिल्दैन

नेपालको कुल ग्राहस्थ्य उत्पादन (जीडीपी) ५७ खर्ब रहेको छ। अहिले बजार पुँजीकरण ४६ खर्ब ९७ अर्ब पुगेको छ। धेरैले अब नेपालको सेयर बजार धेरै बढ्ने ठाउँ छैन भनेर प्रचार गरेका छन् तर सेयर बजारबाट हुने बजार पुँजीकरण र जीडीपी तुलना गर्न नमिल्ने देखिन्छ।

भारतीय बम्बे स्टकको बजार पुँजीकरण ५.५ ट्रिलियन पुगेको छ। भारत नेशनल स्टक एक्सचेन्जको ७.७५ ट्रिलियन डलर रहेको छ। तर भारतीय जीडीपी ३.५५ ट्रिलियन छ। दुई स्टक कम्पनीको बजार पुँजीकरण १२.८० ट्रिलियन डलर हुन्छ। उक्त जीडीपी बजार पुँजीकरण भन्दा थोरै हो।

त्यस्तै अमेरिकाको जीडीपी २७.३६ ट्रिलियन डलर रहेको छ। तर न्यूओर्क एक्सचेन्जको मात्रै बजार पुँजीकरण २५.५६ ट्रिलियन रहेको छ।

जापानी निक्कीमा बजार पुँजीकरण ६.२४ ट्रिलियन डलर रहेको छ। तर जापानको जीडीपी ४.२१ ट्रिलियन डलरमात्रै रहेको छ।

जर्मन स्टक एक्सचेन्जको भने बजार पुँजीकरण २.१८ ट्रिलियन डलर रहेको छ भने जीडीपी भने ४.०८ ट्रिलियन डलर रहेको छ।

जर्मन, बेलायत लगायत देशमा अहिले सेयर बजार घटेकोले बजार पुँजीकरण तल आएको छ। नेपालमा पनि २८ खर्बसम्म झरेको थियो।

बजारमा खेलबाड गर्नेहरूको अनावश्यक तर्क

बजार पुँजीकरण र कुल गार्हस्थ उत्पादनबीचको अनुपातलाई अर्थतन्त्रको एक सूचकका रूपमा लिइने भए पनि सेयर बजारको पुँजीकरण जीडीपीभन्दा बढी भयो भने बर्बादी हुन्छ भन्ने तर्कहरू सही होइनन्। 

सेयर विश्लेषकहरूले पनि बजार पुँजीकरण र जीडीपीको कुनै साइनो नहुने तर्क गरेका छन्। विश्वभरका सेयर बजार र ती देशको जीडीपीको अध्ययन गर्दा पनि त्यस्तो देखिन्छ।

जीडीपी र बजार पुँजीकरणको अनुपातको विषय केही दीर्घकालीन लगानीकर्ताहरूले आफूले कति र कसरी लगानी गर्ने भन्ने सोचका लागिमात्र प्रयोग गर्ने गरेका हुन्। तर त्यसको हिसाबकिताब सेयर बजारको उतारचढावसँग प्रभावित पार्ने हुँदैन। कतिपय सेयर बजारका खेलाडीहरूले बजार प्रभावित पार्न त्यसखाले तर्कहरू भने गर्ने गरेका छन्।

अर्थतन्त्र कता जाँदै छ र सेयर बजार कहाँसम्म जान सक्छ भन्ने अनुमानका लागिबाहेक उक्त तुलना कामलाग्दो नहुने विश्लेषकहरू बताउँछन्। नेपालजस्तो देशमा त्यस्तो अनुपातको वास्तविक आधारहरू नै देखिँदैनन्। न त सेयर बजार बढ्दा ती आधार तुलनायोग्य हुन्छन् न त घट्दा नै। 

प्रायत: सेयर बजारमा उछाल आउँदा अर्थतन्त्रका अन्य अवयवहरूले पनि साथ दिइरहेको हुन्छ भन्ने मान्यता राखिन्छ। अन्य आर्थिक सूचकहरूकै आधारमा पुँजी बजारको सूचक चल्ने अर्थशास्त्रीय परिघटना भने नेपाली सेयर बजारसँग त ठ्याक्क नमिल्न पनि सक्छ। यस्तोमा जीडीपी र बजार पुँजीकरणको तुलना त्यति ग्राह्य देखिँदैन। 


प्रकाशित : बिहीबार , साउन ३१ २०८१०५:२९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend