सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मध्यवर्ती क्षेत्रका किसानलाई अन्नबाली जोगाउन मुस्किल, दिउँसो बाँदर र राति बँदेलको त्रास

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, साउन २९ २०८१
मध्यवर्ती क्षेत्रका किसानलाई अन्नबाली जोगाउन मुस्किल, दिउँसो बाँदर र राति बँदेलको त्रास

राप्तीसोनारीको वडा नं १ मा लौकी, वर्दापुर, चप्परगौडी, बाघखोर, बाँदरभरिया, ओजखोला, बाँसखोली, कुसुम, रानीगजेरी, वैरिया, सौरी, जरुवा, गाभर र सिक्टा गाउँ वन्यजन्तुबाट अतिप्रभावित छन्।

बाँके- राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रका किसानलाई वन्यजन्तुबाट अन्नबाली जोगाउनै मुस्किल हुने गरेको छ। दिउँसोका समयमा बाँदर र रातिमा बँदेल खेतबारीमा पसेर अन्नबाली नष्ट पार्न थालेपछि यहाँका किसान चिन्तित छन्।

वन्यजन्तु समस्याका कारण मध्यवर्ती क्षेत्रका किसानको जीउधन र खेतीबाली जोखिममा परेको राप्ती सोनारी गाउँपलिका-९ का वडाध्यक्ष सोहनलाल थारूले बताए। 

बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँबस्तीमा बँदेल र बाँदर आतंक बढेको छ। रोग, कीराको प्रकोपबाट जसोतसो बचेको बाली वन्यजन्तुले सखाप पार्ने गरेकाले समस्या समाधानका लागि प्रदेश र संघीय सरकारले उचित विकल्पको खोजी गर्नुपर्ने उनको भनाइ छ। 

निकुञ्ज क्षेत्रमा अवस्थित राप्तीसोनारीको वडा नं ९ का गाउँबस्ती वन्यजन्तुबाट अतिप्रभावित छन्। वडा नं ९ को महादेवा, बुचापुर उडयन, पश्चिमपूर्वा, हात्तीसारखैरी, खैरी गुरुवागाउँ, कौवाकाँडा, ढकेरीलगायत टोल वन्यजन्तुबाट अतिप्रभावित रहेको वडाध्यक्ष थारूले बताए। 

राप्ती सोनारी गाउँपालिका-८ बालापुरका स्थानीयवासी महावीर खत्रीले वन्यजन्तुका कारण खेतीबाली राम्ररी स्याहार्न नपाएको गुनासो गरे। उनले वन्यजन्तु समस्या समाधान गर्न निकुञ्ज क्षेत्रमा तारबार लगाइदिन माग गरे। निर्वाचनका बेला नेताले आश्वासन दिए पनि जनताको पक्षमा काम नभएको उनको गुनासो छ। 

राप्तीसोनारीको वडा नं १ मा लौकी, वर्दापुर, चप्परगौडी, बाघखोर, बाँदरभरिया, ओजखोला, बाँसखोली, कुसुम, रानीगजेरी, वैरिया, सौरी, जरुवा, गाभर र सिक्टा गाउँ वन्यजन्तुबाट अतिप्रभावित छन्। वन्यजन्तु समस्या प्रमुख समस्याका रूपमा रहेको वडाध्यक्ष यमबहादुर खड्काले बताए। 

राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बैजनाथ गाउँपालिका-१, कोहलपुर नगरपालिकाको वडा नं १२ र १३ का गाउँबस्ती रहेका छन्। मध्यवर्ती क्षेत्रका जनप्रतिनिधिले वन्यजन्तु समस्या समाधानका लागि प्रतिनिधिसभा, प्राकृतिक स्रोत साधन तथा कृषि समितिमा संयुक्त रूपमा माग गरे पनि सुनुवाइ हुन नसकेको राप्ती सोनारी-८ का वडाध्यक्ष शालिकराम डाँगीले बताए। 

सांसद सूर्य ढकालले निकुञ्जबाट निस्कने जनावरले प्रत्येक वर्ष धनजनको क्षति गर्ने गरेको जनाउँदै त्यसको दीर्घकालीन समाधानलाई आफूले प्राथमिकतामा राखेको बताए। उनले वन्यजन्तुबाट अतिप्रभावित निकुञ्ज वरिपरि वा मध्यवर्ती क्षेत्रमा बसोबास गरेका घरपरिवालाई एक घर २५ लाख रुपैयाँको जीवन बीमा व्यवस्था गर्ने र एक गोठ पाँच लाख रुपैयाँ पशु बीमाको व्यवस्था गर्ने नीति बनाउन आफूले पहल गरिरहेको जानकारी दिए।   

निकुञ्जले वन्यजन्तुबाट पीडित मध्यवर्ती क्षेत्रका चार सय ५७ किसानलाई गत आर्थिक वर्ष २०८०/८१ मा एक वर्षको अवधिमा क्षतिपूर्ति वितरण गरेको छ। त्यसमध्ये अन्नबाली क्षतिका दुई सय ७२ घटनामा १० लाख ६९ हजार तीन सय क्षतिपूर्ति वितरण गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार शाहले बताए। रासस


प्रकाशित : मंगलबार, साउन २९ २०८११०:३१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend