सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

बागलुङमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रम प्राथमिकतामा

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २८ २०८१
बागलुङमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रम प्राथमिकतामा

केन्द्रले आलुपछि सुन्तलालाई प्राथमिकता दिएर बजेट ल्याएको छ। सुन्तला जातको फलफूल विकास आयोजनाका लागि ९३ लाख बजेट विनियोजन गरेको छ।

बागलुङ- जिल्लास्थित कृषि ज्ञान केन्द्रले चालु आर्थिक वर्षमा आलु र सुन्तला प्रवर्द्धन कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।

गत आवमा उक्त कार्यक्रम सफल भएपछि जिल्लामा आलु उत्पादन बढाउन यस वर्ष पनि आलुखेतीलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको हो।

चालु आवको कुल बजेटको ३५ प्रतिशत आलुको उत्पादन, प्रशोधन, बजार व्यवस्थापनलगायत क्षेत्रमा विनियोजन गरिएको केन्द्रका प्रमुख राजेश्वर सिलवालले जानकारी दिए। उनका अनुसार उक्त कार्यक्रमका लागि एक करोड ४९ लाख बजेट विनियोजन भएको छ।

समुदायस्तरमा प्रशोधनयोग्य खायन आलु प्रवर्द्धन आयोजनाअन्तर्गत सिँचाइ पूर्वाधार सहयोग, यन्त्रिकीकरण, बाली कटानी, प्याकेजिङ तथा बजारीकरण, बीउ उत्पादनमा सहयोग र बीमा शुल्कमा अनुदानलगायत कार्यक्रम ल्याइएको प्रमुख सिलवालले बताए। आलु प्रवर्द्धन कार्यक्रमले उत्पादन र खेतीको क्षेत्रफल वृद्धि हुने अपेक्षा गरिएको उनको भनाइ छ। 

केन्द्रले आलुपछि सुन्तलालाई प्राथमिकता दिएर बजेट ल्याएको छ। सुन्तला जातको फलफूल विकास आयोजनाका लागि ९३ लाख बजेट विनियोजन गरेको छ। सुन्तला किसानलाई तालिम, बाली कटानी, यन्त्रिकीकरण, सिँचाइ व्यवस्थापन, नयाँ बगैँचा विस्तार र पुरानाको सुधार तथा बीमालगायत कार्यक्रम गरिने प्रमुख सिलवालले जानकारी दिए।

'केन्द्रले आलुु र सुन्तलालाई बढी प्राथमिकतमा राखेको छ, गत वर्ष आलुखेती विस्तार भएको थियो', उनले भने, 'जिल्लामा आलु र सुन्तलाको सम्भावना बढी हुनाका साथै आम्दानी पनि बढी हुने भएकाले किसानलाई प्रोत्साहन गर्न कार्यक्रमलाई निरन्तरता दिएका छौँ।'

उनका अनुसार एक वर्षमा २० करोडको सुन्तला निर्यात भएको छभने गत वर्ष दुई हजार सात सय रोपनी क्षेत्रफलमा आलुखेती गरिएको थियो। 

कृषि ज्ञान केन्द्रका अनुसार खाद्यान्न बाली प्रवर्द्धनअन्तर्गत ३७ लाख ४० हजार बजेट विनियोजन गरिएको छ। मसला तथा निर्यातयोग्य बालीतर्फ आठ लाख, स्थानीय बालीतर्फ १४ लाख, जलवायुमैत्री प्रविधि प्रवर्द्धन गर्न १० लाख, पोषण सुरक्षा कार्यक्रमअन्तर्गत चार लाख बजेट विनियोजन गरिएको केन्द्रका प्रमुख सिलवालले जानकारी दिए। रासस 


प्रकाशित : सोमबार, साउन २८ २०८११६:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend