सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

पश्चिम-नवलपरासीमा गड्यौलाबाट व्यावसायिक मल उत्पादन

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, साउन २८ २०८१
पश्चिम-नवलपरासीमा गड्यौलाबाट व्यावसायिक मल उत्पादन

उनीहरुले सुरूमा गड्यौला पालन गर्ने भन्दा धेरैलाई अनौठो लागे पनि काम गर्दै जाँदा हाल अरूले पनि यो व्यवयासमा चासो दिन थालेका छन्।

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा गड्यौलाबाट व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादनमा गर्न थालिएको छ। केही वर्ष अघिसम्म परीक्षणका लागि मल उत्पादन सुरू गरेका किसानले हाल व्यावसायिक रूपमा प्राङ्गारिक मल उत्पादन गर्न थालेका हुन्। 

जिल्लाको सुनवल नगरपालिका-१३ मिनी बडेरा निवासी हरि भण्डारीले व्यावसायिक रूपमा गड्यौला पालन गरेर मल उत्पादन सुरू गरेको बताए। उनले भारतको गोरखपुरबाट गड्यौलाबाट मल उत्पादनसम्बन्धी तालिम सिकेर व्यवसायी रूपमा मल उत्पादन गर्न थालेको बताए।

परीक्षणका रूपमा ११ वर्षअघि गड्यौला पालन सुरू गरे पनि हाल चार जनालाई रोजगारी दिएर व्यावसायिक मल उत्पादन गर्न थालेको उनको भनाइ छ।

उनले ५० लाख रुपैयाँ लागतमा ढाई कठ्ठा जग्गामा अष्ट्रेलियन प्रजातिका गड्यौला पालन गरेका छन्। 'अघिल्ला वर्षसम्म गड्यौलाबाट मल उत्पादनसम्बन्धी त्यति ज्ञान नभएर घाटामा गइयो तर हाल धेरै समस्या छैन। बजारीकरणमा कुनै समस्या नभएमा राम्रो आम्दानी हुने आशा जागेको छ', उनले भने। 

उनकी श्रीमती कल्पना सुवेदीले सुरूमा गड्यौला पालन गर्ने भन्दा धेरैलाई अनौठो लागे पनि काम गर्दै जाँदा हाल अरूले पनि यो व्यवयासमा चासो दिन थालेका बताइन्। 'हाम्रो आम्दानीको स्रोत नै यही हो। सम्पूर्ण श्रम र सम्पत्ति यही व्यवसायमा लगाएका छौँ। विस्तारै राम्रो प्रतिफल दिने आशा जागेको छ', उनले भनिन्। 

यसैबीच आइतबार नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द, पूर्वराज्य मन्त्री घनश्याम यादवलगायत स्थानीयले उनको गड्यौला फार्म निरीक्षण गरेका छन्। यस कार्यले आफूलाई थप उत्साह मिलेको भण्डारी दम्पतीको भनाइ छ। 

बर्दघाट पश्चिम-नवलपरासी कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख डा रवीन्द्रनाथ चौबेले यस जिल्लामा दुई जनाले व्यावसायिक रूपमा गड्यौलाबाट मल उत्पादन गरिरहेका र अन्यले पनि व्यावसाय सञ्चालनका लागि योजना बनाइरहेका बताए। रासस


प्रकाशित : सोमबार, साउन २८ २०८११०:२०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend