सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

ग्रिनिङ र सिट्रस रोगले सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन २७ २०८१
ग्रिनिङ र सिट्रस रोगले सुन्तलाका बोट मर्न थालेपछि किसान चिन्तित

आर्थिक वर्ष २०८०/८१ मा तनहुँमा ११ हजार ५ सय १८ मेट्रिकटन सुन्तला उत्पादन हुँदा ३० करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको थियो।

तनहुँ- ग्रिनिङ र सिट्रसरोगका कारण सुन्तलाका बिरुवा मर्न थालेपछि किसान चिन्तित भएका छन्। उक्त रोग लागेर सुन्तलाको बोट मर्नुका साथै उत्पादनमा ह्रास आउने भएपछि किसान निराश बनेका हुन्। 

कृषि ज्ञान केन्द्रका अनुसार यो रोग लागेपछि सुन्तलाको फेद कुहिने, बिरुवाको टुप्पोबाट मर्दै जाने, पात पहेँलो  हुने र उत्पादनमा ह्रास आउनेलगायत समस्या देखापर्छ।

व्यास नगरपालिका, म्याग्दे, भीमाद, आँबुखैरेनी, ऋषिङ, शुक्लागण्डकी र बन्दीपुर गाउँपालिका सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेका बाली संरक्षण अधिकृत एवं सूचना अधिकारी किरण परियारले जानकारी दिए।

उनका अनुसार सिट्रस सिल्लाका वयस्क र बच्चा दुवै अवस्थाका कीराले ग्रिनिङ रोग लागेका बिरुवाको पातबाट रस चुस्दछन्। उनले भने, 'रोगी बोटबाट रस चुसेसँगै ग्रिनिङ रोग लगाउने ब्याक्टेरिया पनि कीराभित्र प्रवेश गर्दछ।' रोगी बोटबाट ती कीराको माध्यमबाट क्रमशः बगैँचाभित्रका अन्य निरोगी बोटमा पनि रोग सार्ने काम गर्दछन्। 

आर्थिक वर्ष २०८०/८१ मा जिल्लामा एक हजार छ सय ४५ हेक्टर क्षेत्रफलमा सुन्तलाखेती गरिएको छ। अहिले नौ सय ६० हेक्टर क्षेत्रफलबाट उत्पादन भइरहेको छ। प्रतिहेक्टर बाह्र मेट्रिक टन सुन्तला उत्पादन क्षमता रहेको सो केन्द्रले जनाएको  छ। आर्थिक वर्ष २०८०/८१ मा ११ हजार पाँच सय १८ मेट्रिक टन सुन्तला उत्पादन हुँदा ३० करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री भएको थियो। 

कार्यालयबाट सुन्तलाखेतीका लागि क्षेत्र विस्तार कार्यक्रमअन्तर्गत अनुदान दिन थालेपछि बर्सेनि जिल्लामा सुन्तलाखेती विस्तार हुँदै गएको केन्द्र प्रमुख गोपाल शर्मा लामिछानेले बताए।

हाल आठवटा ब्लकमा सुन्तलाखेती हुँदै आएको छ। ब्लक बन्नका लागि न्यूनतम ७० हेक्टर क्षेत्रफल हुनुपर्ने प्रावधान छ। उनले भने, 'ब्लकमा सुन्तलाखेती गर्न चाहने किसानले व्यक्ति, समूह र सहकारीमार्फत कलष्टर बनेर आउनुपर्ने व्यवस्था रहेको छ।' रासस


प्रकाशित : आइतबार, साउन २७ २०८११०:४१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend