सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

नवलपरासी (बर्दघाट सुस्तापूर्व) दूध उत्पादनमा आत्मनिर्भर

बिहीबार , साउन २४ २०८१
नवलपरासी (बर्दघाट सुस्तापूर्व) दूध उत्पादनमा आत्मनिर्भर

जिल्लाको जनसङ्ख्याका आधारमा आवश्यकताभन्दा बढी दूध उत्पादन भइ बिक्रीका लागि जिल्ला बाहिर पठाउन थालिएको छ।

नवलपरासी- नवलपरासी (बर्दघाट सुस्तापूर्व) दूध उत्पादनमा आत्मनिर्भर बनेको छ। जिल्लाको जनसङ्ख्याका आधारमा आवश्यकताभन्दा बढी दूध उत्पादन भइ बिक्रीका लागि जिल्ला बाहिर पठाउन थालिएको छ।  

उत्पादित दूधको तथ्यांकका आधारमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा विगत तीन वर्षदेखि आत्मनिर्भर बनेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र प्रमुख ऋषभ गुरागाईँले बताए।

'विश्व स्वास्थ्य संगठनले विकासउन्मुख राष्ट्रमा एक व्यक्तिलाई एक वर्षमा ९१ लिटर दूध तय गरेको आधारमा जिल्लामा एक जनाका लागि एक सय ४६ लिटर दूध पुग्ने गरी उत्पादन भइरहेको छ', उनले भने, 'आर्थिक वर्ष २०८०/८१ मा नवलपरासी (बर्दघाट सुस्ता पूर्व)मा उत्पादन भएको दूधको आधारमा यहाँको कुल जनसङ्ख्यालाई आधार मान्दा एक जनालाई एक सय ४६ लिटर दूध पुग्ने देखिन्छ।'

गत आवमा जिल्लामा ५५ हजार एक सय ७० मेट्रिक टन दूध उत्पादन भएको थियो। यसमध्ये गाईको दूध ३६ हजार सात सय ९५ मेट्रिक टन उत्पादन भएको थियो। भैँसीको दूध १८ हजार तीन सय ७५ मेट्रिक टन उत्पादन भएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको तथ्यांकमा उल्लेख छ। जिल्लामा खपत भएर बाँकी दूध काठमाडौं, पोखरा र चितवन बिक्रीका लागि पठाउने गरिएको प्रमुख गुरागाईँले जानकारी दिए। दूध उत्पादनमा जिल्ला आत्मनिर्भर भए पनि पछिल्लो तीन वर्षलाई तुलना गर्दा गत आवमा दूध उत्पादनमा कमी आएको छ।

'आव २०७८/७९ मा ६१ हजार छ सय ६४ मेट्रिक टन दूध उत्पादन भएको थियो। आव २०७९/८० मा थप वृद्धि भइ ६२ हजार चार सय ४६ मेट्रिक टन उत्पादन भएको छ', प्रमुख गुरागाईँले भने, 'आव २०८०/८१ मा विगतको तुलनामा उत्पादन घटेर ५५ हजार एक सय ७० मेट्रिक टन दूध उत्पादन भएको छ।'

गत वर्ष पशुमा फैलिएको लम्पी स्किन, आर्थिक मन्दी, पशु आहाराको मूल्यवृद्धि, दूध बिक्रीको अस्थिर बजार र बजारीकरण पूर्वाधारको अभावले दूध उत्पादनमा कमी आएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको अनुमान छ।

आव २०७९/८० को तुलनामा गत आवमा गाईभैँसी फार्म र गाईभैँसीको संख्यासमेत जिल्लामा घटेको छ।

आव २०७९/८० मा गाई फार्म पाँच सय ९८ र भैँसी फार्म ७५ गरी कुल छ सय ७३ वटा फार्म रहेकामा गत आव २०८०/८१ मा गाई फार्म चार सय ७३ र भैँसी फार्म ४७ गरी कुल पाँच सय २० वटा फार्म सञ्चालनमा छन्।

अघिल्लो वर्षको तुलनामा जिल्लामा एक सय ५३ वटा फार्मको सङ्ख्या घटेको छ। रासस


प्रकाशित : बिहीबार , साउन २४ २०८११२:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend