सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

मुस्ताङमा लटरम्म स्याउ, भाउ मिलाउन बगैँचा धाउन थाले व्यापारी

मंगलबार, साउन २२ २०८१
मुस्ताङमा लटरम्म स्याउ, भाउ मिलाउन बगैँचा धाउन थाले व्यापारी

व्यापारीहरु स्याउ खरिदका लागि बगैँचा पुग्न थालेका छन्। मौसमले साथ दिँदा यो वर्ष गतवर्षको तुलनामा आम्दानी बढ्ने किसानको अनुमान छ।

म्याग्दी- गत वर्षको तुलनामा यो वर्ष मुस्ताङका स्याउ बगैँचामा लटरम्म स्याउ फलेका छन्।

अनुकूल मौसम, व्यावसायिक रूपमा बगैँचा व्यवस्थापनलगायत कारणले उत्पादन बढेको जोमसोमस्थित कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत निशान मगरले बताए। 'क्षेत्रफल विस्तारका साथै अघिल्लो वर्षका तुलनामा यो वर्ष धेरै दाना लागेकाले उत्पादन बढ्ने अनुमान गरेका हौँ,' उनले भने, 'क्रप कटिङको प्रतिवेदन तयार भएपछि उत्पादनको यकिन विवरण आउँछ।'

जेठमा दानामा दाग लाग्ने रोगलाई कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन, स्थानीय तहका कृषि शाखाका प्राविधिक टोलीले उपचार गरेपछि उत्पादनमा असर नभएको कृषि प्रसार अधिकृत मगरले बताए।

फलेका स्याउका दानाले बगैँचा आकर्षक देखिन्छन्। घरपझोङ गाउँपालिका-३ स्याङका कृषक कर्म गुरुङले गत वर्षको तुलनामा यसपटक स्याउका बोटमा २० देखि २५ प्रतिशत बढी फल लागेको बताए। 'मौसमले पनि साथ दियो, रोग पनि लागेन,' उनले भने, 'गत वर्ष चार करोड रूपैयाँको स्याउ बेचेको हुँ, यो वर्ष ६ करोड रूपैयाँ आम्दानी हुने अनुमान छ।'

स्याउ खरिद गर्न देशका विभिन्न स्थानबाट व्यापारी मुस्ताङ पुगेर बगैँचा अवलोकन र किसानसँग भाउ मिलाउन थालेका छन्।

मुस्ताङमा रेडडेलिसियस, रोयल डेलिसियस, रिचारेड डेलिसियस र गोल्डेन डेलिसियस जातका स्याउ खेती हुने गरेको छ। गत वर्ष चार हजार नौ सय ७५ मेट्रिक्टन स्याउ उत्पादन भएको र ४९ करोड २५ लाख रूपैयाँ बराबरको आम्दानी भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको स्याउ जोन र स्थानीय तहको कृषि शाखाले अनुदानमा स्याउका बिरुवा वितरण, स्याउ राख्ने प्याक सहयोग, सिँचाइ, चिस्यानगृह निर्माण लगायतका काममा कृषकलाई सहयोग गरेका छन्।

म्याग्दी, बागलुङ, पोखरा, चितवन, बुटवल, काठमाडौंलगायत सहरका व्यापारी बगैँचामा नपाक्दै अग्रिम रकम दिएर ठेक्कामा स्याउ खरिद गर्दै आएका छन्। मुस्ताङ आउने पर्यटकले पनि कोसेलीको रुपमा स्याउ किन्ने गरेका छन्। किसानले बिक्री नभएका स्याउ मदिरा र सुकुटीमा उपयोग गर्दै आएका छन्। रासस


प्रकाशित : मंगलबार, साउन २२ २०८११५:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend