सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

ऋषिङको दुबुङमा पहिलोपटक परीक्षणका रुपमा चियाखेती थालिँदै, राम्रो भएमा अन्यत्र विस्तार गर्दै लैजाने योजना

मंगलबार, साउन २२ २०८१
ऋषिङको दुबुङमा पहिलोपटक परीक्षणका रुपमा चियाखेती थालिँदै, राम्रो भएमा अन्यत्र विस्तार गर्दै लैजाने योजना

यहाँ चियाखेतीका लागि इलामबाट चियाका बिरुवा मगाइएको छ। चियाको बिरुवा, मल, खाडल खन्ने र ढुवानीसमेत गरी करिब दुई लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ।

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-३ दुबुङगस्थित दृश्यावलोकन स्तम्भ परिसरमा एक हजार चियाका बिरुवा लगाइने भएको छ। गाउँपालिकाले पहिलोपटक परीक्षणका रुपमा चियाका बिरुवा लगाउन खाडल खन्ने काम सुरु गरेको छ।

तीन दिनदेखि बिरुवा रोप्नका लागि खाडल खन्ने कार्य तीव्ररुपमा भइरहेको गाउँपालिकाले जनाएको छ। समुद्री सतहदेखि एक हजार दुई सय मिटर उचाइमा यस स्थानमा चियाखेती गर्न लागिएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए। 

उक्त स्थानमा चिया बगान बनाएर पर्यटकीयस्थलका रुपमा विकास गर्ने योजना रहेको प्रवक्ता दरैले बताए। उनका अनुसार एक हजार खाडल खन्नुपर्नेमध्ये तीन दिनको अवधिमा ५० प्रतिशत बढी खाडल खन्ने कार्य सम्पन्न भएको छ। उनले भने, 'चियाखेती राम्रो भएमा अन्यत्र स्थानमा पनि विस्तार गर्दै लैजाने योजना रहेको छ।'

उनका अनुसार अहिले परीक्षणका रुपमा लगाउन लागिएको हो। 'इलामबाट चियाका बिरुवा मगाइएको छ। प्रतिबिरुवा दश रूपैयाँ पर्ने भए पनि लामो दुरीबाट ल्याउनुपर्ने भएकाले ढुवानीमा कठिनाइ भएको छ', उनले भने, 'बिरुवा ल्याएको तीन दिनभित्र लगाइसक्नुपर्ने भएकाले त्यसका लागि अग्रिम खाडल खन्ने कार्य भरहेको छ।'

गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठका अनुसार चियाको बिरुवा, मल, खाडल खन्ने र ढुवानीसमेत गरी करिब दुई लाख रूपैयाँ खर्च हुने अनुमान गरिएको छ। 'इलामबाट एक/दुई दिनमा बिरुवा आइपुग्छ होला अनि धमाधम बिरुवा रोप्ने काम सुरु गरिनेछ', उनले भने।

एउटा बिरुवाका लागि झण्डै आठ किलोग्राम मल आवश्यक पर्ने उनले बताए। उनले भने, 'गाउँपालिकाले थालेको यस अभियानमा कतिपय स्थानीय मानिस स्वतस्फुर्त श्रमदानमा खटिएका छन्।' स्थानीयको सक्रियताले गाउँपालिकालाई थप ऊर्जा मिलेको छ।

पर्यटकीयस्थलका रुपमा विकास गर्नका लागि गाउँपालिकाले यस स्थानमा घरबास, पोखरी निर्माण, चिल्ड्रेन पार्क, सिँढी निर्माण लगायतका संरचना निर्माण गरिसकेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए। रासस


प्रकाशित : मंगलबार, साउन २२ २०८११३:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend