सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

दूध बेचेर मासिक एक लाखभन्दा बढी आम्दानी

शनिबार, साउन १९ २०८१
दूध बेचेर मासिक एक लाखभन्दा बढी आम्दानी

बजारको मागसँगै प्रशस्तमात्रामा घाँससँगै पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिएको किसान रवि घर्ती बताउँछन्।

घोराही- दाङको घोराही उपमहानगरपालिका-१३ का रवि घर्तीले व्यावसायिक रुपमा पशुपालन गर्दै आएका छन्।

उनले पशुपालन गर्न थालेको तीन वर्ष भयो। व्यावसायिकरुपमा लागेका घर्तीले साथीहरुसँग मिलेर भैँसीपालन, बंगुरपालन र हाँसपालन गर्दै आएका छन्। मेहनत गर्न सके पशुपालनबाट मनग्य आम्दानी लिन सकिने ‘गोरखा बायो फार्म’का अध्यक्ष रहेका घर्तीले भने, 'भैँसी र बंगुरपालन गरेर राम्रै आम्दानी भइरहेको छ।'

घोराही उपमहानगरपालिका-७ घुस्रामा पाँच बिघा जग्गा किनेर व्यावसायिकरुपमा पशुपालन गर्दै आएका उनले दूध बिक्री गरेर मासिक एक लाख रूपैयाँभन्दा बढी आम्दानी भइरहेको बताए। उनको फार्ममा १८ भैँसी र २५ बंगुर रहेका छन्। 

उत्पादन गरेको दूध घरबाटै बिक्री हुने गरेको घर्तीले बताए। 'दूध बिक्री गर्न समस्या छैन। फार्मबाटै विद्यालय र डेरीमा जाने गरेको छ', उनले भने। दैनिक ४५ देखि ५० लिटरसम्म दूध बिक्री भइरहेको घर्तीले बताए। फार्ममा कम्तीमा ४० भैँसी र जर्सी गाईसमेत थप गर्ने उनको योजना छ।

बजारको मागसँगै प्रशस्तमात्रामा घाँससँगै पानीको व्यवस्था भएकाले दूध उत्पादनलाई प्राथमिकता दिएको घर्ती बताउँछन्। दूध प्रतिलिटर ७० रूपैयाँमा बिक्री हुने गर्दछ। भैँसीपालनसँगै मासुका लागि बाख्रा, बंगुर, हाँस र व्यावसायिक तरकारी खेतीलाई पनि अघि बढाउने तयारी रहेको अर्का सञ्चालक खुसीराम चौधरी बताउँछन्। त्यसका लागि उहाँ थप संरचना निर्माण गर्ने तयारीमा छन्।

व्यावसायिक रुपमा दूध र मासुसँगै तरकारी उत्पादन गर्ने उद्देश्यले फार्ममा अहिलेसम्म करिब एक करोड ५० लाख रूपैयाँसम्म लगानी भइसकेको चौधरीले बताए। फार्ममा तीन जनाले रोजगारी पाएका छन्। पशुपालनका लागि सुपर नेपियर, किमु, इपिल, सुडान, मकैचरी, मकैलगायतका घाँसखेती समेत गरिएको छ। रासस


प्रकाशित : शनिबार, साउन १९ २०८११२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend