शनिबार, असार ६ गते २०८३    
शनिबार, असार ६ २०८३

कुर्था-जयनगर रेल्वेको काम हेर्न आयो भारतीय कम्पनीको टोली

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २० २०७८
कुर्था-जयनगर रेल्वेको काम हेर्न आयो भारतीय कम्पनीको टोली

जनकपुर- भारतीय रेल्वे कम्पनी कर्पाेरेसन (कोङकण) को टोलीले मंगलबार कुर्था-जयनगर रेल्वे सेवा सञ्चालनका लागि निर्माण भएको भौतिक पूर्वाधार कार्यको निरीक्षण गरेको छ।

कोङकणका निर्देशक मनोज सिंह नेतृत्वको टोलीले नेपालको कुर्थादेखि भारतको जयनगरसम्म रेल सेवा सञ्चालनका लागि तयारी पारिएको भौतिक पूर्वाधार र नेपालतर्फ भइरहेको तयारीबारे निरीक्षण गरेको हो।

टोलीलाई जनकपुरधामस्थित रेल्वे स्टेशनमा नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले स्वागत गरे। सो क्रममा महाप्रबन्धक झाले टोलीलाई नेपालमा रेल सेवा सञ्चालनका लागि भइरहेको कानुनीलगायत अन्य तयारीबारे जानकारी गराए।

निरीक्षण पश्चात् सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै निर्देशक सिंहले भारत सरकार नेपालमा छिट्टै रेल सेवा सञ्चालन गर्न चाहेको बताए। उनले नेपालमा रेल सञ्चालनका लागि तयारी भइरहेकाले छिट्टै सेवा सञ्चालन हुने विश्वास व्यक्त गरे। निर्देशक सिंहले भने, ‘अहिले सञ्चालन हुन लागेको रेल सेवा सानो मात्र हो, हामी चाहन्छौँ नेपालमा पनि ठूलो र लामो दूरीको रेल सेवा सञ्चालन होस्, त्यसमा हाम्रो तर्फबाट सहयोग हुन्छ।'

नेपाल रेल्वे कम्पनी लिमिटेडले सञ्चालनका लागि २०७७ असोज २ गते भारतीय रेल्बे कम्पनी कर्पाेरेसनबाट ८४ करोड ६५ लाख रूपैयाँमा दुई सेट रेल खरिद गरेर ल्याए पनि अझै सञ्चालमा आउन सकेको छैन। ती दुई वटै सेट रेल अहिले धनुषाको जनकनन्दनी गाउँपालिकाको इनरुवामा राखिएको छ। रासस


प्रकाशित : मंगलबार, पुस २० २०७८१०:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend