सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

झापामा ८ सय २७ हेक्टरमा सिँचाइ सुविधा विस्तार

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १८ २०८१
झापामा ८ सय २७ हेक्टरमा सिँचाइ सुविधा विस्तार

बहुवर्षीय योजनाहरू मेचीनगर-८ मा सञ्चालित निन्दाखोला सिँचाइ योजना, मेचीनगर-७ मा पालिया पूर्व सिँचाइ योजना र गौरीगञ्जमा सञ्चलित तल्लो किस्ने सिँचाइ योजना अन्तिम चरणमा रहेका छन्।

झापा- झापामा ८ सय २७ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ। आर्थिक वर्ष २०८०/८१ मा १ सय ३० हेक्टरमा सुविधा विस्तार तथा ६ सय ९७ हेक्टरमा सिँचाइ सेवा पुनःस्थापना गरिएको हो।

जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयका प्रमुख शैलेश पोखरेलका अनुसार सानाठूला गरी १ सय ३२ आयोजना सम्पन्न भएसँगै सिँचाइ सुविधा विस्तार भएको हो।

गत आवमा कार्यालयको पुँजीगतर्फ विनियोजित रकम ३१ करोड ८९ लाख ४८ हजारमध्ये २९ करोड आठ लाख ३८ हजार चार सय ७४ खर्च भएको छ। चालुतर्फ पनि विनियोजित बजेटको ९२ दशमलव ७ प्रतिशत खर्च भयो। गत वर्ष कोशी प्रदेश सरकार सञ्चालनमा विवाद हुँदा बजेट ढिलागरी प्राप्त भएकाले आयोजना सञ्चालनमा ढिलाइ भएको प्रमुख पोखरेलले बताए।

यसैगरी उक्त कार्यालयले नदी व्यवस्थापनतर्फ  सात हजार एक सय नौ मिटर सम्पन्न गरी एक हजार छ सय ८४ हेक्टर जमिन संरक्षण र ६० हेक्टर जमिन उकास गरेको छ। यी योजना सम्पन्न भएसँगै दुई हजार छ सय चार परिवार लाभान्वित भएका डिभिजन प्रमुख पोखरेलले बताए।

बहुवर्षीय योजनाहरू मेचीनगर-८ मा सञ्चालित निन्दाखोला सिँचाइ योजना, मेचीनगर-७ मा पालिया पूर्व सिँचाइ योजना र गौरीगञ्जमा सञ्चलित तल्लो किस्ने सिँचाइ योजना अन्तिम चरणमा रहेका उक्त कार्यालयले जनाएको छ। यी योजना सम्पन्न भएसँगै दुई हजार एक सय पाँच हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्ने छ। रासस


प्रकाशित : शुक्रबार, साउन १८ २०८११०:०६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend