सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो

बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , साउन १७ २०८१
इलाममा ३४ करोड ८७ लाखमा बने ५९ कुलो

योजनाबाट इलामका एक हजार २९ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ।

फिक्कल- इलाममा आर्थिक वर्ष २०८०/८१ मा ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ रुपैयाँ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन्।  

माङसेबुङ गाउँपालिका-१ गजुरमुखीका किसान आसमान योङहाङलाई यस वर्ष धानखेती गर्न कुनै समस्या भएन। वर्षौँदेखि अकासे खेतीमा निर्भर उहाँ यस वर्षदेखि सिँचाइ सुविधा पाएर दंग छन्।  

गजुरमुखीमा साना सिँचाइ कार्यक्रमअन्तर्गत व्यवस्थित सिँचाइ कुलो निर्माणपछि योङहाङसहित सयौँ किसान यतिबेला खुसी भएका हुन्। उनको टोलमा ३९ लाख २१ हजार रुपैयाँ लागतमा फुङखोलाबाट घुमाउरो पाक्रुम्बा कुलो निर्माण भएको हो। 

माईजोगमाई गाउँपालिका-२ लप्सीबोटेका किसान कुमार राई पनि खुसी छन्। राईगाउँ-लाप्चागाउँ-निगालेगाउँमा ५० लाख ५५ हजार आठ सय ८३ लागतमा ५८ घरपरिवारका किसान प्रत्यक्ष लाभान्वित हुनेगरी बजुरखोलामा कुलो निर्माण भएको छ। 

योङहाङ र राई प्रतिनिधि उदाहरण मात्र हुन्। इलामका विभिन्न पालिकामा सञ्चालितका साना सिँचाइ कार्यक्रमबाट हजारौँ किसान लाभान्वित भएका छन्। इलाममा आर्थिक वर्ष २०८०/८१ मा ३४ करोड ८७ लाख १६ हजार नौ सय ३४ रुपैयाँ लागतमा ५९ वटा पक्की कुलो निर्माण भएका छन्। 

सूर्योदय नगरपालिकामा चार करोड १९ लाख २६ हजार छ सय ३४ को लागतमा १०, इलाम नगरपालिकामा छ करोड ८६ लाख ५१ हजार ६४ को लागतमा नौ, माङसेबुङ गाउँपालिकामा तीन करोड ४२ लाख ९४ हजार छ सय ६४ को लागतमा आठ, माई नगरपालिकामा चार करोड पाँच लाख ९८ हजार चार सय ७५ को लागतमा सातवटा सिँचाइ योजना सम्पन्न भएको साना सिँचाइ कार्यक्रम प्रमुख केशव लामाले जानकारी दिए।

योजनाबाट इलामका एक हजार २९ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा विस्तार भएको छ। सिँचाइ सुविधा विस्तारसँगै जिल्लाका दुई हजार एक सय ४२ परिवार लाभान्वित भएका छन्। योजना सञ्चालनका लागि स्वीस सरकारको ३० प्रतिशत, संघीय सरकार, प्रदेश सरकार र सम्बन्धित पालिकाले २०/२० प्रतिशत र स्थानीय उपभोक्ताहरुको १० प्रतिशत लागत साझेदारी गरेको थियो। रासस


प्रकाशित : बिहीबार , साउन १७ २०८११०:१४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend