शनिबार, असार १३ गते २०८३    
शनिबार, असार १३ २०८३

५० हजार उठाएर सामूहिक बङ्‍गुरपालन

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, पुस २० २०७८
५० हजार उठाएर सामूहिक बङ्‍गुरपालन

म्याग्दी- कोरोना भाइरसको महामारी फैलिएपछि सहर बजार र विदेशमा रोजगारी गुमाएर फर्किएका जिल्लाको अन्नपूर्ण गाउँपालिका-२ मान्द्रेढुङ्गाका युवाले सामूहिक बङ्‍गुरपालन गरेका छन्।

लेकाली बहुउद्देश्यीय कृषक समूहमा आबद्ध २२ जना युवाहरुले  ५०/५० हजार रूपैयाँ सङ्कलन गरेर मान्द्रेढुङ्गाको उपल्लो गाउँफाँटमा आधुनिक खोर निर्माण गरी बङ्‍गुरपालन गरेका हुन्। एक सयवटा क्षमताको खोरमा हाल ५३ वटा ल्याडरेस र पाख्रिबास जातका बङ्गुर छन्। 

समूहका सदस्य विमल र अनिल फगामीसँग दक्षिण कोरियामा बङ्गुर फार्ममा काम गरेको अनुभव छ। पोखरा-बागलुङ राजमार्गको लुम्लेमा होटेल व्यवसाय गर्दै आउनुभएका देव शेरपुञ्जा समूहको अध्यक्ष हुन्। दुई वर्षअघि कोरोना महामारी फैलिएपछि जन्मथलो फर्किएका युवाहरु मिलेर बङ्‍गुरपालन सुरु गरेको अध्यक्ष शेरपुञ्जाले बताए।

'आलोपालो गरेर बङ्गुरको स्याहारसुसार गर्ने र आम्दानी समान हिसाबले वितरण गर्ने योजना बनाएका छौँ,' उनले भने, 'बङ्‍गुरपालनबाट स्वरोजगार बन्ने र गाउँमै आयआर्जनको अवसर सिर्जना गर्ने उद्देश्य छ।'

पाठापाठी, वयस्क, गर्भवती, सुत्केरी र भाले बङ्गुरलाई छुट्टाछुट्टै राख्न मिल्ने १० वटा कोठा भएको खोर बनाएका छन्। समूहलाई सहकारीमा रुपान्तरण गर्ने प्रक्रियामा लगिएको अर्का छ। खोरसँगै समूहको कार्यालय र दाना भण्डारण गर्ने अर्को भवन बनाइएको समूहका सदस्य रामबहादुर पाइजाले बताए।

गण्डकी प्रदेश सरकारको मुख्यमैत्री जलवायु मैत्री नमूना कृषि गाउँ कार्यक्रमले मान्द्रेढुङ्गामा बङ्‍गुरपालन र ठूलोबगरमा तरकारी खेती गर्न समूहलाई गत वर्ष ४० लाख सहयोग गरेको थियो। यस वर्ष १५ लाख विनियोजन भएको कार्यक्रमकी कृषि प्राविधिक जेनिसा चोखालले बताए।

'प्रदेश सरकारको ८५ र समूहका १५ प्रतिशत लगानीमा बङ्‍गुरपालन गरेका हुन्,' उनले भने, 'तरकारी खेती र बङ्‍गुरपालन गर्न ६० घरधुरी कृषकहरु कार्यक्रममा आबद्ध भएका छन्।' मान्द्रेढुङ्गा र ठूलोबगर पर्यटकीय स्थल भुरुङ्ग-तातोपानी तथा गाउँपालिकाको केन्द्र पोखरेबगर नजिकैका बस्ती हुन्।

बजार नजिकै भएकाले तरकारी तथा बङ्गुर बिक्रीमा सहज भएको समूहका उपाध्यक्ष लोकबहादुर पुर्जाले बताए। विषादी र रासायनिक मलको प्रयोग बिना जैविक प्रविधिको प्रयोग गरेर खेती गरी वातावरण संरक्षण तथा कृषकको आयआर्जन सुधार गर्ने उद्देश्यले प्रदेश सरकारले सबै स्थानीय तहमा सञ्चालन गरेको कार्यक्रम प्रभावकारी बनेको कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरण सिग्देलले बताए।

बेनीको सिङ्गा सुर्केमेला, बास्कुना, मङ्गलाको कोत्रवाङ, सिम, तोराखेत, सातबिसे, पोक, मालिकाको बिम, धवलागिरिको खिबाङ-खाम्ला र रघुगङ्गाको भगवती घट्टटोलमा मुख्यमन्त्री वातावरणमैत्री नमूना कृषि गाउँ कार्यक्रम सञ्चालन भएको छ। रासस


प्रकाशित : मंगलबार, पुस २० २०७८०८:२५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend