शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

कृषिमा अस्वभाविक प्रवृत्ति, उत्पादनमा ‘नन-परफर्मिङ’ जग्गा बढ्दै

सोमबार, साउन १४ २०८१
कृषिमा अस्वभाविक प्रवृत्ति, उत्पादनमा ‘नन-परफर्मिङ’ जग्गा बढ्दै

कृषिबाट बाहिर निस्किनेको संख्या जनसंख्या वृद्धिदरभन्दा उच्च हुँदा पनि खेतीयोग्य जग्गा किन घटिरहेको छ?

काठमाडौं- जीवन निर्वाहका लागि धेरै नेपालीको भरोसा रहेको कृषि क्षेत्रमा अनौठो ट्रेन्ड देखिएको छ। पछिल्लो समय सरकारले गरेको सर्वेक्षणबाट नेपाली कृषि क्षेत्र अस्वभाविक दिशामा अघि बढेको पाइएको छ। 

राष्ट्रिय तथ्यांक कार्यालयको पछिल्लो कृषि सर्वेक्षण र जीवनस्तर सर्वेक्षणबाट कृषिमा आधारभूत रुपमा अस्वभाविक लाग्ने केही प्रवृत्ति देखिएका छन्। उत्पादन र उत्पादकत्व वृद्धिका हुनपर्नेजस्तो नभएर उल्टो परिणाम आएको छ। 

कृषियोग्य जमिनको खण्डीकरण एकातिर तीव्र बनेको छ भने अर्कोतिर कृषिमा निर्भर नेपालीको संख्या घटेको छ। जब कि कृषिमा निर्भर संख्या जति घट्छ अर्कोतिर प्रति घरपरिवार कृषियोग्य जग्गाको होल्डिङ बढ्नुपर्ने हो तर तथ्यांकमा भने जग्गाको होल्डिङ पनि घटेको छ, निर्भर संख्या पनि घटेको छ। 

सामान्यतया गाउँबाट सहरमा बसाइसराइ तीव्र हुँदा गाउँमा खेतीयोग्ग जग्गाको स्वामित्व बसाइ सर्नेबाट गाउँमै बस्नेमा सर्छ अर्थात् जो मान्छे कृषिमै रहन्छ उसमा जग्गा थपिँदै जान्छ। अन्तत: कृषियोग्ग जग्गाको केन्द्रीकरण बढ्छ र जसबाट उत्पादन प्रतिस्पर्धी हुन जान्छ।

एकसाथ धेरै मान्छे कृषिबाट बाहिर आएपछि एकसाथ जग्गा खाली हुन्छ त्यस्तोमा कृषिको एकीकृत उत्पादन बढ्न जान्छ। सामूहिक वा संगठित उत्पादन बढ्न जान्छ। तर नेपालमा यस्तो भएको छैन। 

चौथो जीवनस्तर सर्वेक्षण अनुसार नेपालमा कुल घरपरिवारमा ६०.३ प्रतिशत कृषिमा निर्भर रहेका छन्। अर्थात् हरेक तीनजनामा दुई जना अहिले पनि कृषिमै निर्भर रहेका छन्। कृषिमै गुजारा चलाउने नेपालीको संख्या दुई तिहाइ रहेको छ। तर यो संख्या घट्दो रहेको छ। सन् २०१० मा यस्तो हिस्सा ७३ प्रतिशत थियो भने त्यसअघि २००३ मा ७७ प्रतिशत घरपरिवार कृषिमा निर्भर थिए। 

राष्ट्रिय उत्पादनमा २४ प्रतिशत योगदान दिने कृषिमा अहिले पनि ६० प्रतिशत नेपाली निर्भर भएका छन्। तर प्रवृत्तिमा हेर्दा घट्दोक्रममा रहेको छ। पछिल्लो १२ वर्षमा १० प्रतिशत बिन्दुले नेपालीहरू कृषिबाट बाहिर आएका छन्।

यसहिसाबले प्रति घरपरवार खेतीयोग्य जग्गा बढ्नुपर्ने हो। तर यथार्थमा उल्टो भएको छ खेती किसानीमा निर्भर नेपालीसँग औसतमा ०.४ हेक्टरमात्र जग्गा रहेको छ। १२ वर्षअघि यस्तो जग्गा ०.७ हेक्टर थियो। 

कृषिबाट बाहिर निस्किनेको संख्या जनसंख्या वृद्धिदरभन्दा उच्च हुँदा पनि खेतीयोग्य जग्गा किन घटिरहेको छ? 

यसको उत्तर हो खेतीबाट बाहिर निस्किनेहरूले जग्गाको स्वामित्व नै हस्तान्तरण गरेनन्। अर्थात् उत्पादनको मुख्य साधन भूमि नै उपयोगविहीन हुँदै गएको देखिन्छ। कुनै पनि देशको अर्थतन्त्रका लागि यो प्रत्युत्पादक तथ्यांक हो। 

देशमा यस्तो ननपरफर्मर भूमि ३ लाख हेक्टर रहेको छ। कृषि गणना २०७८ को तथ्यांकअनुसार पछिल्लो गणनाको तुलनामा ३ लाख ७ हजार २९ हेक्टर खेतीयोग्ग जमिन घटेको हो। प्राकृतिक विपदबाहेक पनि जमिनको बाँझोपन बढ्दै गएको छ। 


प्रकाशित : सोमबार, साउन १४ २०८११०:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend