सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

तरकारी खेतीबाट नाम र दाम दुवै कमाउँदै तित्याङका पदम

शनिबार, साउन १२ २०८१
तरकारी खेतीबाट नाम र दाम दुवै कमाउँदै तित्याङका पदम

खत्री एग्रो फार्ममा पदमले हालसम्म १२ लाख रूपैयाँ लगानी गरिसकेका छन्। हाल उनले ब्रोइलर कुखुरा र भेडापालन पनि गरेका छन्।

बागलुङ- कुनै समय निर्माण क्षेत्रमा ज्याला मजदुरी गर्ने बागलुङ नगरपालिका-९ तित्याङका पदम खत्री यतिबेला तरकारीखेतीमा रमाएका छन्। तरकारी खेतीबाटै स्वरोजगार बनेका उनी जिल्लामा उत्कृष्ट किसानका रुपमा सम्मान समेत पाइसकेका छन्।

कृषि ज्ञान केन्द्र बागलुङले खत्रीलाई गत धान दिवसमा उत्कृष्ट किसानका रुपमा नगदसहित सम्मान गरेको थियो। घर निर्माणलगायतका काममा मजदुरी गर्ने उनी १५ वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय छन्।

विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारीखेती सुरु गरेका खत्री यतिबेला जिल्लाकै  सफल किसानका रुपमा परिचित छन्। उनले अहिले १८ रोपनी जग्गामा तरकारीखेती गरिरहेका छन्। उनीसँग फर्ममा आठ वटा साना र ठूला प्लाष्टिक टनेल छन्।

अधिकांश दौतरीहरु पैसा कमाउन विदेश पलायन भए पनि खत्री भने तरकारीखेतीमै सक्रिय छन्। तरकारीखेतीबाट नाम र दाम दुवै हुन थालेपछि विदेश जाने योजना कहिल्यै नबनेको उनले सुनाए।

'तरकारीखेतीबाटै वार्षिक १० देखि १२ लाख रूपैयाँसम्म आम्दानी भइरहेको छ', उनले भने, 'तरकारीखेतीबाटै नाम र दाम हुन थालेपछि विदेश जानुपर्ने बाध्यता कहिल्यै आएन।' उनले तरकारीखेतीबाटै परिवारको खर्च, बालबच्चाको पालनपोषण भइरहेको बताए। उनले हालसम्म एक दर्जनभन्दा बढी संस्थाबाट प्रोत्साहनस्वरुप पुरस्कार प्राप्त गरिसकेका छन्।

'एक रोपनी जग्गाबाट सुरु भएको तरकारीखेती अहिले १८ रोपनीमा पुगेको छ। अहिले दाममात्रै होइन नामसमेत कमाउन थालेको छु, पहिला वडामा मात्रै कृषक भनेर चिन्थे भने अहिले जिल्लाभर कृषकको परिचय फेरिएको छ', उनले भने, 'पाँच रोपनी आफ्नै र अन्य जग्गा भाडामा लिएर तरकारी उत्पादन गर्दै आएको छु।' ‍

अहिले खत्रीको टनेलमा टमाटर, सिमी, काक्रो, काउली, बन्दालगायतका तरकारी उत्पादन भइरहेका छन्। खत्रीले बेमौसमी तरकारी तथा खुला जग्गामा मौसमी तरकारीखेती गरिरहेका छन्।

आठ वटा प्लाष्टिक टनेलमध्ये दुई वटा हाइटेक टनेल र अन्य परम्परागत टनेल रहेको बताउँदै खत्रीले नगरपालिकाको तरकारीखेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत आधुनिक टर्नेल निर्माण भइरहको जानकारी दिए। 

खत्री एग्रो फार्ममा हालसम्म १२ लाख रूपैयाँ लगानी गरिसकेका छन्। उनले कृषि ज्ञान केन्द्रबाट प्लाष्टिक टनेल निर्माण र बीउ बिजनमा सहयोग प्राप्त भइरहेको जानकारी दिए। हाल उनले तरकारीखेतीसँगै ब्रोइलर कुखुरा र भेडापालन पनि गरेका छन्। उनले एक जनालाई प्रत्यक्ष रोजगारीसमेत दिएका छन्। रासस


प्रकाशित : शनिबार, साउन १२ २०८११२:१५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend