सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

१६ वर्ष विदेश बसेका दिलचन स्वदेशमै ड्रागनफ्रुट खेतीमा रमाउँदै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ११ २०८१
१६ वर्ष विदेश बसेका दिलचन स्वदेशमै ड्रागनफ्रुट खेतीमा रमाउँदै

धेरै लगानी गरेर विदेश जाने र स्वदेशमा केही छैन भन्नेका लागि मेहनत गर्न सके ड्रागन खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने बुढा उदाहरण बनेका छन्।

दाङ- रुकुम पूर्वका दिलचन बुढाले १६ वर्ष विदेशमा काम गरे। विदेशबाट फर्केपछि हाल उनी घोराही उपमहानगरपालिका-१८ अकबरेमा ड्रागनफ्रुट खेती गर्दै आएका छन्। बुढासहित ६ जना ड्रागनफ्रुट खेतीमा संलग्न छन्। 

५६ वर्षीय बुढा सोह्र वर्ष वैदेशिक रोजगारका क्रममा कतारमा बसे। ड्रागनफ्रुट खेतीबाट आफ्नै देशमा मनग्य आम्दानी गर्न पाउँदा उनी खुशी छन्। ड्रागनफ्रुट खेतीबाट सोचेभन्दा बढी आम्दानी गर्न सफल भएको बुढाको भनाइ छ। बजारीकरणको समस्या नहुँदा खेतीतर्फ आकर्षण बढ्दै गएको उनले बताए। 

'ड्रागनफ्रुट रातो प्रतिकिलो चार सय तथा सेतो चार सय ५० का दरले घरबाटै बिक्री हुने गरेको छ', उनले भने, ‘दैनिकजसो जिल्लाका धेरै ठाउँबाट माग आइरहन्छ, माग आए काठमाडौंसमेत पठाउने गरेको छु।'

परम्परागत कृषि कर्मबाट उपलब्धी हासिल नभएपछि ड्रागनफ्रुट खेती रोजेको बुढाले बताए। करिब ८० लाख खर्च गरेर ६ जनाको समूहले ‘दङ्गाली ड्रागनफ्रुट फर्म’ दर्ता गरेर विगत छ वर्षदेखि दुई विघा जमिनमा व्यवसायिक रुपमा खेती गर्दै आएको छ। 

'वार्षिक २० लाखदेखि २५ लाखसम्म कारोवार हुन्छ', बुढाले भने, ‘दुई बिघामा  करिब एक हजार तीन सयभन्दा बढी विरुवा रहेका छन्, प्रति विरुवा ३० देखि ४० किलोसम्म उत्पादन हुँन्छ। वार्षिक वचत १५ लाख रुपैयाँसम्म हुने गरेको छ।’ 

ड्रागनफ्रुट खेतीबाट पर्याप्त आम्दानी हुन थालेपछि पछिल्लो समय जिल्लामा धेरै किसान त्यसतर्फ आकर्षित भएका छन्। तीन/चार वर्षअघिसम्म प्रतिकिलो आठ सय ५० मा बिक्री हुने गरेको ड्रागनफ्रुटको वर्षेनि मूल्य घट्दै गएको बुढा बताउँछन्। उनी भन्छन् 'चार वर्षअघिको जस्तै ड्रागनफ्रुट बिक्री हुन्थ्यो भने कमाउन विदेश जानुपर्ने थिएन। विगतको तुलनामा दोब्बरले मुल्यमा कमी आएको छ।'  

धेरै लगानी गरेर विदेश जाने र स्वदेशमा केही छैन भन्नेका लागि मेहनत गर्न सके ड्रागन खेतीबाट राम्रो आम्दानी लिन सकिन्छ भन्ने बुढा उदाहरण बनेका छन्।

अन्य तरकारी, पशुपालनलगायतका कृषि व्यवसायमा मेहनत अनुसारको लगानी हुन नसकेको गुनासो आउने गरेको छ। ड्रागनफ्रुट खेतीमा त्यो समस्या नरहेका अर्का व्यवसायी लालप्रकाश बुढा बताउँछन्। उनी पनि लामो समय वैदेशिक रोजगारमा रहेका थिए। सधैँ विदेशमा बस्नुभन्दा स्वदेशमा केही गर्ने सोचका साथ सामूहिकरुपमा साथिहरुसँग यो व्यवसाय गरेको उनले बताए। 

बुढाले भने, 'दुःख नगरेर कृषिमा आम्दानी हुँदैन। आफैँ खटिएर काम गर्ने हो भने राम्रो आम्दानी लिन सकिन्छ।'

फर्ममा उत्पादन पनि राम्रो भएको र बिक्रीका लागि घोराही बजारपनि नजिकै रहेकाले आफूलाई बिक्रीका लागि समस्या नभएको उनले बताए।

अहिले जिल्लाका विभिन्न ठाउँमा धेरै उत्पान हुन थालेको छ। एकै पटक रोपेपछि लामो समयम्म आम्दानी लिन सकिने र अन्य खेतीको तुलनामा मेहनत पनि कम लाग्ने भएपछि पछिल्लो समय जिल्लामा धेरै किसान ड्रागनफ्रुटको खेतीमा व्यवसायिक रुपमा लागेका छन्।

सिँचाइका लागि धेरै पानी आवश्यक नपर्ने र पहाडी भिरालो ठाउँमा पनि राम्रो आम्दानी लिन सकिने भएका कारण धेरै किसान पछिल्लो समय ड्रागनखेतीमा लागेका छन्। दुई बिघा जग्गाको भाडा वार्षिक ६० हजार रुपैयाँ तीर्ने गरेको उनले बताए। रासस


प्रकाशित : शुक्रबार, साउन ११ २०८११५:०४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend