सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

गुल्मीमा घट्दै धान उत्पादनको क्षेत्रफल

बिहीबार , साउन १० २०८१
गुल्मीमा घट्दै धान उत्पादनको क्षेत्रफल
फाइल तस्बिर

मकैपछि दोस्रो प्रमुख बालीको रुपमा रहेको यस जिल्लामा गतवर्ष करिब २३ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।

गुल्मी- यहाँका किसानलाई यतिबेला रोपाइँको चटारो छ। असार महिनाको अन्तिम सातामा पानीका मुहान फुटेपछि साउन महिनाको सुरुवातसँगै किसान धमाधम रोपाइँमा लागेका हुन्।

जिल्लाका अधिकांश किसान मकै भित्राएपछि मात्र धान रोप्ने गर्दछन्। साउनको दोस्रो सातासम्म जिल्लामा ८६ प्रतिशत खेतमा धान रोपाइँ सकिएको छ। जिल्लामा सात हजार नौ सय ८८ हेक्टर क्षेत्रफलमध्ये ६ हजार सात सय ८९ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए।

गत वर्षको तुलनामा यसपटक रोपाइँ गरेको क्षेत्रफल बढे पनि धान उत्पादन हुने क्षेत्रफल भने घट्दै गएको छ। रोपाइँको क्षेत्रफल घट्नुको मुख्य कारण काम गर्ने जनशक्ति अभाव, बढ्दो बसाइँसराइ, गोरुको अभाव, समयमा जोत्नका लागि ट्र्याक्टर नपाउने, खोलाको कटान, महँगो ज्यालालगायत समस्या रहेको उनले बताए।

गत वर्ष यस अवधिसम्ममा ७० प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ गरिएको थियो। समयमा पानी परेका कारण किसानले यस पटक छोटो अवधिमा धेरै खेतमा धान रोप्ने अवसर पाएका प्रमुख भण्डारी बताउँछन्। जिल्लाको कुल धान उत्पादन हुने क्षेत्रफलमध्ये यसवर्ष ९० प्रतिशत खेतमा मात्र रोपाइँ हुनसक्ने उनको भनाइ छ।

गत वर्षको तुलनामा जिल्लामा यसवर्ष समयमा वर्षा सुरु भएसँगै किसान रोपाइँमा व्यस्त भएका हुन्। यसपटक धान रोप्न आकाशे पानीको भर पर्नुपरेन। समयमै पानी परेपछि सिँचाइको समस्या नभएको प्रमुख भण्डारीले बताए।

जिल्लामा बडिगाढ फाँट, चौरासी फाँट, छल्दी, निस्ती, पनाहा, सुदि, खैरेनी, खज्र्याङ, शान्तिपुर, मजुवा लगायतका फाँट धान उत्पादनका पकेट क्षेत्र हुन्।

गुल्मीमा करिब पाँच सय हेक्टर क्षेत्रफलमा मात्र चैते धान रोपिन्छ भने अन्य सबैमा बर्खे धान लगाउने गरिन्छ।

मकैपछि दोस्रो प्रमुख बालीको रुपमा रहेको यस जिल्लामा गतवर्ष करिब २३ हजार मेट्रिकटन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ। रासस


प्रकाशित : बिहीबार , साउन १० २०८११६:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend