सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

कृषिमा रमाउँदै दीपक, वार्षिक १८ लाख आम्दानी

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन ९ २०८१
कृषिमा रमाउँदै दीपक, वार्षिक १८ लाख आम्दानी

भोजपुर टक्सारमा अजिमा कृषि तथा पशुपालन फार्ममा दुई सय बोट केरा लगाएको उनले बताए। यसलाई विस्तार गर्ने उनको लक्ष्य छ।

भोजपुर- कृषि व्यवसाय गरेर भोजपुरका ३४ वर्षीय दीपक श्रेष्ठले लोभलाग्दो आम्दानी गर्दै आएका छन्। दश वर्षअघि कृषि कर्ममा लाग्नुभएका उनले उदाहरणीय उद्यमीको परिचय बनाएका छन्। 

स्वदेशमा नमूनायोग्य काम गर्ने अठोटका साथ १० वर्षअघि कृषिमा लागेका उनले भोजपुर नगरपालिका-१२ टक्सारमा व्यवसाय सञ्चालन गरेर वार्षिक १५ देखि १८ लाख रुपैयाँसम्म आम्दानी लिने गरेको बताए। लगनशील भएर काम गरे पैसा कमाउन विदेश जानु नपर्ने उनी बताउँछन्। 
 
उद्यमी श्रेष्ठले व्यावसायिक रूपमा कुखरा, बङ्गुर, माछापालनसँगै केराखेती पनि गरिरहेका छन्। व्यवसायका लागि हालसम्म एक करोड रुपैयाँको हाराहारीमा लगानी गरेको उनले बताए। कृषिलाई व्यवसायका रूपमा अँगाल्न  गाउँका युवालाई  प्रेरित गर्दै उनले सीप पनि सिकाउँदै आएका छन्। 
 
राज्यले अनुदानका कार्यक्रम सञ्चालन गर्दा वास्तविक किसानसम्म पुग्नुपर्ने उनले बताए। पहुँचका भरमा कतिपय अनुदानका कार्यक्रम सञ्चालन गरिँदा वास्तविक किसान मारमा पर्ने उनको बुझाइ छ। कृषिमा उदाहरणीय काम गरिरहेको भए पनि हालसम्म राज्यबाट कुनै सहयोग नपाएको उनको दु:खेसो छ। 

आफ्नै फार्मबाट उत्पादन भएको मलको सदुपयोग गर्दै व्यावसायिक केराखेती पनि गरिरहेको उनले बताए। भोजपुर टक्सारमा अजिमा कृषि तथा पशुपालन फार्ममा दुई सय बोट केरा लगाएको उनले बताए। यसलाई विस्तार गर्ने उनको लक्ष्य छ। हाल उनले एक स्थानमा बङ्गुरपालन, पाँच स्थानमा व्यावसायिक कुखुरापालन र दुईवटा पोखरीमा माछापालन गरिरहेको बताए। 

उत्पादित मलको सदुपयोग गर्दै व्यावसायिक सुन्तला, कागती र तरकारीखेती गर्ने योजना उनले सुनाए। खेती विस्तारका लागि उनले २० रोपनी जग्गा भाडामा लिएका छन्। व्यवसायी श्रेष्ठले छजनालाई रोजगारी पनि दिएका छन्।

'कृषिकर्म गर्ने दक्ष जनशक्ति पाउन समस्या छ। लगनशील भएर कृषिमा लाग्ने हो भने यही मनग्य कमाउन सकिन्छ, युवापुस्तामा आफ्नो ठाउँमा मेहनत गर्ने बानी हराउँदै गएको छ', उनले भने। रासस


प्रकाशित : बुधबार, साउन ९ २०८११०:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend