सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

व्यावसायिक पशुपालनबाट वार्षिक सात लाख आम्दानी

बिहीबार , साउन ३ २०८१
व्यावसायिक पशुपालनबाट वार्षिक सात लाख आम्दानी

घरनजिकैको सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत तेजबहादुर फुर्सदमा फार्ममा रहेका बाख्रा, बंगुर र माछा हेरचान गर्छन्।

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिका-८ बेलडाँडीका तेजबहादुर चौधरीले व्यावसायिक पशुपालनबाट वार्षिक सात लाख रूपैयाँ आम्दानी गर्दै आएका छन्। उनले चारवर्षदेखि बाख्रा, बंगुर फार्मसँगै माछापालन गर्दै आएका हुन्।

घर नजिकैको सिद्धनाथ माध्यमिक विद्यालयमा लेखापाल पदमा कार्यरत चौधरी फुर्सदमा फार्ममा रहेका बाख्रा, बंगुर र माछा हेरचान गर्छन्। बिहान-बेलुका फार्ममा रहेका पशुको हेरचाह गर्ने, दानापानीको व्यवस्था मिलाउने तथा ती पशु बेच्नेलगायत काममा व्यस्त हुने गरेको चौधरीले बताए। उनका अनुसार अहिले फार्ममा ३० वटा उन्नत जातका बाख्रा, २० वटा बंगुर, दुईवटा पोखरीमा विभिन्न जातका माछा छन्।

पोखरीको डिलमा लहरै बंगुरका खोर निर्माण गरिएका छन्। चौधरी विद्यालयमा रहेका बेला उनकी श्रीमतीले फार्ममा पालेका बंगुर, बाख्रा र माछालाई चारो खुवाउने गर्छिन्। चौधरीले बैंकबाट पाँच लाख रूपैयाँ ऋण निकालेर चार वर्ष अघिदेखि फार्म सञ्चालन गर्दै आएको बताए। सबै खर्च कटाएर वार्षिक सात लाख रूपैयाँसम्म आम्दानी हुँदै आएको उनले जानकारी दिए। बंगुरको माउभन्दा पाठा बढी बिक्री हुने गरेको उनले सुनाए।

'वर्षमा १० वटाजति खसी बिक्री हुन्छन्', चौधरीले भने, 'माछा सात क्विन्टल, बंगुरका पाठा ६० वटा जति बिक्री हुने गरेका छन्।' फार्ममा छिट्टै हुर्कने डयुरो जातका बंगुर पालेको उनले बताए। 'बंगुरका पाठापाठीको माग निकै बढी छ', उनले भने, 'माग अनुसार पुर्‍याउनै सकिरहेका छैनौँ, टाढाटाढाका व्यापारी घरमै पुगेर नगदमा किनेर लैजाने गर्दछन्।'

बंगुरका एक वर्षका पाठापाठी चार हजार पाँच सय रूपैयाँसम्ममा बिक्री हुने चौधरीले जानकारी दिए। 'पोखरीमा उत्पादन भएका माछा केही गाउँमै खपत हुने गरेका छन्। कहिलेकाही कलुवापुर, झलारीलगायत बजारमा पुर्‍याउनु पर्दछ', उनले भने, 'खसीबोकाको माग दसैँतिहारलगायत चाडपर्वमा बढी हुने गर्दछ। व्यापारीले घरबाटै खरिद गरी लैजान्छन्।'

कोरोना महामारीका बेला फार्ममा पालिएका बंगुर, खसीबोका बिक्री नभएपछि निकै सस्तोमा बिक्री गर्नुपरेको गुनासो सुनाउँदै चौधरीले अहिले विस्तारै व्यवसाय तङ्ग्रिँदै जान थालेकाले आम्दानी बढ्न थालेको बताए।

फार्मको कमाइबाट खेत जोत्ने पावरटिलर, सिँचाइका लागि स्यालो ट्युवेल जडान गरेको जनाउँदै उहाँले तीन कोठे पक्की घर पनि बनाएको बताए। 'विद्यालयबाट पाउने तलब बापतको पैसा घर खर्चमा लागि पुग्दैन', चौधरीले भने, 'फार्म सञ्चालन गरेसँगै जीविकोपार्जन गर्न सहज भएको छ।'

आगामी दिनमा फार्मलाई थप व्यवस्थित बनाइ केही कामदारसमेत राख्ने योजना बनाएको उनले सुनाए। रासस


प्रकाशित : बिहीबार , साउन ३ २०८११३:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend