सोमबार, असार ८ गते २०८३    
सोमबार, असार ८ २०८३

व्यावसायिक बंगुरपालन र फलफूलखेतीबाट आकर्षक आम्दानी गर्दै सुगम, वार्षिक ६० लाखसम्म कारोबार गर्ने लक्ष्य

बिहीबार , साउन ३ २०८१
व्यावसायिक बंगुरपालन र फलफूलखेतीबाट आकर्षक आम्दानी गर्दै सुगम, वार्षिक ६० लाखसम्म कारोबार गर्ने लक्ष्य

बंगुरपालन, फलफूल तथा तरकारीखेतीमा आफूले जानेको सीप अन्य किसानलाई सिकाउँदै आएको व्यवसायी सुगम राई बताउँछन्।

भोजपुर- यहाँका केही युवाले व्यावसायिकरुपमा पशुपालन गरेर लोभलाग्दो आम्दानी गर्दै आएका छन्। पौवादुङमा गाउँपालिका-६ ठुलोदुम्मा छिदुवाका २७ वर्षीय युवा सुगम राई ती युवामध्येका एक छन्।

उनी व्यावसायिक बंगुरपालन र फलफूलखेतीमा जुटेका छन्। उद्यमी राईले सेन्मायुङ कृषि तथा पशुपालन फार्म दर्ता गरेर व्यावसायिक बंगुरपालन, कागती, एभोकाडो, आँप, अनार, लिचीलगायत खेती गर्दै आएका छन्।

बंगुर फार्मबाट उत्पादन हुने मलको सदुपयोग गर्ने लक्ष्यले बंगुरपालनसँगै फलफूलखेती गरिरहेको उनले बताए। व्यवसायी राईको फार्ममा अहिले ४१ वटा बंगुर छन्। भविष्यमा बंगुरपालन तथा फलफूलखेतीबाट वार्षिक ५० देखि ६० लाखसम्म कारोबार गर्ने लक्ष्यका साथ थप विस्तारमा जुटेको उनले बताए।

विदेशमा सात वर्ष बिताएका राईले त्यहाँ सिकेको सीपलाई सदुपयोग गर्दै व्यावसायिक कृषिमा जुटेको बताए। 'वार्षिक १२ देखि १५ लाखसम्म कारोबार हुन्छ। त्यसबाट खर्च कटाउँदा वार्षिक आठदेखि १० लाखसम्म आम्दानी हुन्छ', उनले भने। स्वदेशमा व्यावसायिक रूपमा काम गर्नसके अर्काको देशमा गएर पसिना बगाउनु नपर्ने उनी बताउँछन्।

आफ्नो फार्ममा उत्पादन भएका बंगुर खरिद गर्न ठेकेदार घरमा आउने उनले बताए। फार्ममा स्थानीय जातसँगै उन्नत जातका हेमसार, धराने कालो बंगुरलगायत पालन गरिरहेको उनले बताए। फार्ममा एक सय २० केजीदेखि एक सय ५० केजीसम्मको बंगुर छन्। 'बंगुर बिक्रीको कुनै समस्या छैन', उनले भने, 'धरान, विराटनगरबाट ठेकेदार नै आउँछन्। मागलाई धान्न धौ धौ छ। यो व्यवसायलाई अझ विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको छु।'

कृषि कर्ममा मेहनत गरेर लाग्न सके जीवन गुजारा गर्न समस्या नरहेको व्यवसायी राईले बताए। उनलाई व्यवसायमा घरपरिवारले सहयोग गर्दै आएका छन्। व्यावसायिक कृषि कर्ममा लाग्ने किसानलाई राज्यले पनि आवश्यक सहयोग गर्नुपर्ने उनको धारणा छ। बंगुरपालन, फलफूल तथा तरकारीखेतीमा आफूले जानेको सीप अन्य किसानलाई सिकाउँदै आएको व्यवसायी राई बताउँछन्। रासस


प्रकाशित : बिहीबार , साउन ३ २०८१११:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend