शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बढ्न सकेन उद्योगी व्यवसायीमा उत्साह, घट्यो लगानी प्रतिबद्धता

सोमबार, असार ३१ २०८१
बढ्न सकेन उद्योगी व्यवसायीमा उत्साह, घट्यो लगानी प्रतिबद्धता

लगानी प्रतिबद्धताको सबैभन्दा ठूलो हिस्सा ऊर्जामा देखिँदै आएको छ। पछिल्लो समय जलविद्युत तथा सौर्य ऊर्जामा आधारित उद्योग दर्ता गर्ने क्रम बढिरहेको छ।

काठमाडौं- उद्योगी व्यवसायीहरूमा लगानीको उत्साहमा अझै सुधार देखिएको छैन। गएको आर्थिक वर्षमा पनि नयाँ उद्योग दर्ता र लगानी प्रतिबद्धतामा निराशाकै निरन्तरता देखिएको छ। 

उद्योग विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा अघिल्लो वर्षको तुलनामा न्यून लगानी प्रतिबद्धता भएको छ। प्रतिबद्धताको आधा पनि लगानी नहुने नियति भोगिरहेको मुलुकमा पछिल्ला केही वर्षदेखि प्रतिबद्धतामै ह्रास आइरहेको छ। 

विभागका अनुसार गत वर्ष २ खर्ब एक अर्बको लगानी प्रतिबद्धता आएको छ। कुल ४३१ वटा उद्योगले २ खर्ब एक अर्बको लगानी प्रतिबद्धता आएको हो। यो आर्थिक वर्ष २०७९/८० को तुलनामा न्यून हो। सो वर्ष २ खर्ब १४ अर्बको प्रतिबद्धता बएको थियो। 

गएको वर्ष उद्योग दर्ताको संख्या भने बढेको छ। अघिल्लो वर्ष ३३० वटा नयाँ उद्योग दर्ता भएकोमा गत वर्ष भने ४३१ वटा उद्योग दर्ता भएका छन्। लगानी प्रतिबद्धतामै कमी आउनुको मुख्य कारण मझौला तथा ठूला उद्योग दर्ता घट्नु मुख्य कारण देखिएको छ।

ठूलो लगानीको जोखिम लिने वातावरण नभएको भन्दै उद्योगी व्यवसायीले योजना स्थगन गर्दै आएका छन्। भएकै उद्योग व्यवसाय राम्रोसँग नचलीरहेको समयमा नयाँ उद्योग व्यवसायको योजना उद्योगी व्यवसायीले सारिरहेका छन्। पछिल्लो मन्दीको प्रभावबाट माथि नउठेको गत वर्षको तुलनामा यो वर्ष व्यवसायीको आत्मविश्वास झन खस्किएको यो तथ्यांकले देखाएको छ।

लगानी प्रतिबद्धताको सबैभन्दा ठूलो हिस्सा ऊर्जामा देखिँदै आएको छ। पछिल्लो समय जलविद्युत तथा सौर्य ऊर्जामा आधारित उद्योग दर्ता गर्ने क्रम बढिरहेको छ। गएको पर्ष पनि २२ ऊर्जा परियोजनामा ८९ अर्ब १७ करोडको लगानी प्रतिबद्धता आएको छ। 

ऊर्जासँगै सूचना प्रविधिमा आधारित उद्योग दर्तामा पनि सन्तोषजनक प्रगति भएको छ। पछिल्लो समय सबैतिर चर्चा भएको यो क्षेत्रमा गत वर्ष २२ वटा उद्योग दर्ता भएका छन्। १ अर्ब २० करोड लगानी गर्नेगरी यी उद्योग दर्ता भएका छन्। विदेशी र स्वदेशी कम्पनीले नेपालमा लगानीको अनुमति लिएका हुन्।

पर्यटनमा भने अधिकांश साना होटल तथा रेष्टुरेन्ट रहेका छन्। १३५ वटा होटल रेष्टुरेन्ट दर्ता भएका छन्। सानो लगानीका रेष्टुरेन्टमा चिनियाँ तथा स्वदेशी लगानीका दर्ता भएका छन्। १३५ कम्पनीमा ३१ अर्ब लगानी प्रतिबद्धतता आएको छ। 

गएको वर्ष साना तथा मझौला उत्पादनमूलक उद्योग दर्तामा भने सुधार देखिएको छ। १०६  वटा उद्योगमा ३६ अर्ब ८१ करोड लगानी प्रतिबद्धतता यो क्षेत्रमा भएको छ। 

त्यस्तै सेवा क्षेत्रमा ३७ अर्बको लगानी प्रतिबद्धता आएको छ भने निर्माण क्षेत्रमा ३ अर्बको आएको छ। त्यस्तै खनिजमा बधारित उद्योगमा ३ अर्बको लगानी प्रतिबद्धता आएको छ। 


प्रकाशित : सोमबार, असार ३१ २०८१०६:३३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend