शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बहुराष्ट्रिय कम्पनीको ट्रेडमार्क हत्याउने कम्पनीमा डोल्माको लगानी

बिहीबार , साउन ३ २०८१
बहुराष्ट्रिय कम्पनीको ट्रेडमार्क हत्याउने कम्पनीमा डोल्माको लगानी

विभिन्न स्रोतबाट कोष जुटाएर त्यसलाई लाभदायक व्यवसायमा लगानी गर्ने डोल्मा जस्ता कोषले लगानी गर्दा सामान्य कम्पनीहरूलाई विभिन्न अडिटको क्लेरेन्स खोज्छन्। उद्योग विभागले दिएको प्रमाणपत्रकै आधारमा लगानीको निर्णयमा पुगेको मान्न नसकिने सरोकारवालाहरूको भनाइ छ।

काठमाडौं-  लगानी कोष व्यवस्थापन कम्पनी 'डोल्मा इम्प्याक्ट फण्ड'ले ट्रेडमार्क चोरीमा मुछिएको उद्योगमा लगानी गरेको छ। 

डोल्माले नेपालको मसला तथा स्न्याक्स उत्पादक कम्पनी 'स्पाइसेज एण्ड फुड प्रडक्ट प्रालि'मा ७० लाख अमेरिकी डलर लगानी गरेको हो। इक्वीटी पार्टनरका रुपमा डोल्माले उक्त कम्पनीमा लगानी गरेको हो। 

तर डोल्माले लगानी गरेको यो कम्पनी ट्रेडमार्क चोरी जस्तो गम्भीर प्रकरणमा मुछिएको कम्पनी हो। विश्व चर्चित ब्रान्डलाई नै हत्याएर यो कम्पनीले आफ्नो बनाएको छ। घरेलु प्रशासन तथा प्रक्रियामा अल्झाएर यो कम्पनीले बहुराष्ट्रिय ब्रान्ड नै चोरिदिएको छ। 

बहुराष्ट्रिय कम्पनी पेप्सिकोको ब्रान्ड ‘कुरकुरे’लाई चोरेर आफ्नोमात्र बनाएर उद्योग विभागलाई प्रभावमा पारेर यो उद्योगले आफ्नै बनाइसकेको छ। उद्योग विभागमा पेप्सिकोले मुद्दा दिएपनि विभागबाट पराजित भइसकेको छ। आयात प्रतिबन्ध खोल्न पाउनुपर्ने पेप्सिको इन्डियाको माग भने अदालतले पूरा गरिदिएन। अहिले पनि ट्रेडमार्कको विवाद विचाराधीन अवस्थामै रहेको छ। 

यद्यपि विभागले भने नेपाली कम्पनीलाई कुरकुरेको ट्रेडमार्क दिएको छ। तर यो विवादित नै रहेको छ। पेप्सिको इन्डियाको ब्रान्ड हो कुरकुरे। विश्व बजारमा कतै पनि कुरकुरेलाई नेपाली कम्पनीको ब्रान्ड भनेर चिनिदैन तर यही कम्पनीको ब्रान्डलाई विश्व बजारमा बजारीकरण गर्ने लगायतका उद्देश्यले डोल्माले यसमा लगानी गरेको हो। 

उद्योगका सञ्चालक मोतीलाल दुगड एमालेनिकट व्यवसायी हुन्। तत्कालीन नेकपाको सरकार हुँदा उद्योगराज्यमन्त्री तथा प्रधानमन्त्री केपी ओलीका सल्लाहकार पनि भएका थिए। राजनीतिक शक्ति तथा अन्य प्रलोभन देखाएर विभागबाट निर्णय गराएपनि चर्चित ब्रान्ड हत्याएको प्रष्ट देखिने उद्योगमा डोल्माले गरेको लगानी अस्वभाविक भएको कोष व्यवस्थापकहरू बताउँछन्। 

विभिन्न स्रोतबाट कोष जुटाएर त्यसलाई लाभदायक व्यवसायमा लगानी गर्ने डोल्मा जस्ता कोषले लगानी गर्दा सामान्य कम्पनीहरूलाई विभिन्न अडिटको क्लेरेन्स खोज्छन्। उद्योग विभागले दिएको प्रमाणपत्रकै आधारमा लगानीको निर्णयमा पुगेको मान्न नसकिने सरोकारवालाहरूको भनाइ छ। 

युरोपियन लगानी कोष तथा संस्थाबाट लगानी ल्याएर नेपालका विभिन्न कम्पनी तथा स्टार्टपमा लगानी गर्दै आएको डोल्माले पछिल्लो समय आफैले लगानी गरेका दुईवटा कम्पनी बन्द भइसकेका छन्। 

कुनै पनि कम्पनीमा लगानी गर्नुभन्दा पहिला व्यावसायिक र दक्ष कोष व्यवस्थापकको गहिरो अनुसन्धान हुन्छ। प्रतिफल दिन सक्ने सम्भावना बलियो भएमा व्यवस्थापकीय सुझाव र मनिटरिङसहित लगानी गर्छन्। योसँगै सामाजिक अडिटसम्म गर्ने गरिन्छ।

‘कतिपय अवस्थामा बोर्डमा विवादित व्यक्ति भएपनि लगानी स्वीकृत हुँदैन तर यहाँ त खुलमखुल्ला बहुराष्ट्रिय ब्रान्ड हत्याउने कम्पनीमा लगानी भएको छ’ एक कोष व्यवस्थापक भन्छन्। 

यस्ता कोष व्यवस्थापकले सम्भावनाभन्दा पनि पहुँचको भरमा लगानी गरेपछि भने आफ्नोमात्र होइन अरुको पनि लगानी जोखिममा पर्छ। कोष व्यवस्थापकले लगानी गरेपछि अरूले पनि त्यही विश्वासमा लगानी गर्न सक्ने सम्भावना धेरै हुन्छ।


प्रकाशित : बिहीबार , साउन ३ २०८११८:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend